पढाउनै नपढाइ ३ वर्षदेखि तलब !
बाजुरा : बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका- ३ मा रहेको चैत्यपीपल सूर्योदय निमाविमा कार्यरत शिक्षिकाले नपढाएर तलब खाएको खुलाशा भएको छ।नेपाली विषय राहत निमावि दरबन्दीमा कार्यरत शिक्षिका शुशिला रौलेलाई ३ वर्षदेखि तत्कालिन गाविस,बुढिगंगा नगरपालिका र विद्यालयको संरक्षणमा तलब खुवाइरहेको स्थानीयले बताए।
शिक्षिका रौले विगत तीन वर्षदेखि धनगढी बस्दै आएकी छन्। उनले केही समय खेताला शिक्षक राखेकी थिइन्। २०७४ माघदेखि चैत्रसम्म एकजना खेताला राखिन्। त्यसपछि २०७५ मा असारमा आएर उपस्थित नभएको हाजीर गरेर तलब बुझिइन्। त्यो बीचमा कुनै दिन विद्यालयमा उपस्थित भइनन्। २०७५ साउनदेखि असोजसम्म एकजना स्थानीयलाई १० हजार दिने गरी खेताला राखेर उनी फेरी धनगढी गइन्। असोजमा आएर उनलाई विद्यालयले तलब खुवाएको बताइएको छ ।
असोज पछि खेताला पनि राखिन्न्, आफू पनि विद्यालयमा उपस्थित भइनन्। तर नगरपालिकाले पुसमा चार महिनाको तलब खातामा जम्मा गरिदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर थापाले बताए।
नगरपालिकाले पुससम्म तलब निकासा गरेको भएपनि उनको विद्यालय हाजिरी रजिष्टरमा २०७५ असार १५ सम्म मात्र हाजिर रहेको छ। त्यो भन्दा यता हाजीरविना नै तलब खुवाएको छ।
विद्यालय व्यवस्थापन समितिले उनलाई शिक्षक पदबाट पुस महिनाको १० गते हटाउने निर्णय गरेको थियो। तर नगरपालिकाले भने बचावट गर्दै आएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनबहादुर थापाले बताए। पटक पटक नगरपालिकामा हटाएको स्वीकृत गरेर नयाँ विज्ञापनका लागि अनुमति मागेको भएपनि नगरपालिका बेखबर रहेको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार नगरपालिकाले वास्ता नगरेपछि जिल्ला प्रशासन कार्यलय बाजुरा उजुरी गरेको छ। जिल्ला प्रशासन कार्यालयमा नगरपालिका प्रमुख, उपप्रमुख र कार्यकारीले वेवास्ता गरेको काम नगर्ने शिक्षकलाई संरक्षण गरेको भन्दै उजुरी गरेको विद्यालयले जनाएको छ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गोपाल दत्त जोशीले जिल्ला प्रशासनले वास्तविक बुझ्नका लागि पत्रचार गरेको छ।उनले आफूहरुले विद्यालयलाई पठाएको र विद्यालयले हालसम्म जानकारी नगराएको बताए। बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए।