मेलम्चीको करोडौं मूल्यका सिमेन्ट सड्ने अवस्थामा

मेलम्चीको करोडौं मूल्यका सिमेन्ट सड्ने अवस्थामा

काठमाडौं :  मेलम्ची खानेपानी आयोजनाको करोडौं रुपैयाँ मूल्य बराबरका विभिन्न निर्माण सामग्री काम नलाग्ने अवस्थामा पुगेका छन् ।

आयोजनाको इटालियन ठेकेदार सीएमसीले भुक्तानी नपाएका कारण गरिरहेको काम छाडेपछि ठूलो परिमाणमा  सिमेन्ट र त्यति नै परिमाणका विस्फोटक पदार्थहरु सड्ने क्रममा पुगेको हो ।
सुरुङ खनिसके पनि कंक्रिट लाइनिङ गर्ने, फिनिसिङ गर्ने काम जारी रहेकोमा गत मंसिर २ गतेदेखि ठेकेदार सीएमसीले काम छाडेको हो । आयोजना स्रोतका अनुसार चारवटा सुरुङ प्रवेश मार्ग (अडिट) मा प्रत्येकमा न्यूनतम दुई हजार मेट्रिक टनका सिमेन्ट र विस्फोटक पदार्थ अलपत्र अवस्थामा छन् ।

सरकारले सीएमसीलाई नै फर्काउने वा नयाँ ठेकेदार नियुक्त गरी काम चालू गराउने विषयमा महिनौंदेखि निर्णय गर्न सकेको छैन । करोडौं रुपैयाँका निर्माण सामग्री नष्ट हुने क्रममा पुगिसक्दा पनि खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समितिलगायत सरकारी निकायले आयोजनास्थलमा पाइला टेकेका छैनन् । 

‘सरकारी कर्मचारीलाई यति धेरै सामग्री सड्ने अवस्थामा पुग्न लागिसक्दा पनि कुनै वास्ता छैन,’ साइटमा रहेका एक इन्जिनियरले आइतबार अन्नपूर्णसित भने, ‘यी बहुमूल्य सामग्रीलाई सड्न नदिन अन्य कुनै चलिरहेको जलविद्युत् आयोजना वा विकास निर्माणमा सापटी दिन सकिन्छ, तर कसैलाई मतलब छैन ।’

काठमाडौंको सुन्दरीजलदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्मको साढे २६ किलोमिटर लामो सुरुङबाट पानी ल्याउन गत माघ २७ गते औपचारिक मिति तय भएको थियो । प्रधानमन्त्री, खानेपानी मन्त्री, सचिव र आयोजना प्रमुखहरुले हरेक दिनजसो ‘मेलम्चीको पानी काठमाडौं आउने’ बताइरहँदा ठेकेदारले भने भुक्तानी पाएन ।

ठेकेदार सीएमसीले दावी गरेको रकमलाई ठेकेदार, सरकारी प्रतिनिधि सम्मिलित विवाद निरुपण बोर्ड (डीआरबी) ले ३६ करोड रुपैयाँ २१ दिनभित्र भुक्तानी दिन सरकारलाई निर्देश गरेको थियो । उक्त रकम निकासका लागि तत्कालीन खानेपानी सचिव गजेन्द्र ठाकुरले कमीसन मागेको र ठेकेदारले नदिएपछि उनले भुक्तानी नै नदिएर ठेकेदारलाई काम छाड्न बाध्य पारेको तथ्य सार्वजनिक भइसकेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषित मेलम्ची विगत पाँच महिनादेखि अलपत्र छ । सीएमसीलाई पुनः काममा लगाउन खानेपानी मन्त्री बिना मगरले प्रयास गरे पनि हालका सचिव दीपेन्द्रनाथ शर्मा सहमत छैनन् ।

आयोजनास्थलमा सड्न लागेका सिमेन्ट र विस्फोटक पदार्थबारे प्रतिक्रिया दिन मन्त्रालय र आयोजनाका जिम्मेवार पदाधिकारीहरु तयार भएनन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.