मनिताको पुनरागमन
बुटवल : लामो समयपछि पुनः खेलमा फर्किएकी तेक्वान्दो खेलाडी मनिता शाही आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलको आफ्नो तौलसमूहको सेमिफाइनलमा प्रवेश गरेकी छिन्। नेपाल पुलिस क्लबबाट आठौं राष्ट्रिय खेलकुदमा सहभागी भएकी उनी महिला ७३ केजी माथिको तौलसमूहमा स्वर्ण पदक नजिक पुगेकी हुन्।
उनले उपाधिका लागि मंगलबार हुने फाइनल खेलमा अर्काे विभागीय टोली एपीएफकी सुष्मा गुरुङसँग प्रतिस्पर्धा गर्नेछिन्। यसअघि राष्ट्रिय टोलीबाट धेरै खेल खेलिसकेकी मनिता पछिल्लो चार वर्षयता खेलबाट टाढा रहेकी थिइन्। एक वर्षीया छोरीसहित प्रतियोगिता खेल्न भैरहवा पुगेकी मनिताले आफू अब फेरि तेक्वान्दोमा फर्किएको बताइन्।
‘पछिल्लो केही वर्ष पारिवारिक कारणले खेललाई निरन्तरता दिन सकिरहेकी थिइनँ’, मनिताले भनिन्, ‘अहिले खेलमा फर्किएकी छु। अब फेरि तेक्वान्दोलाई निरन्तरता दिनेछु।’ मनिताको तौलसमूहमा गण्डकी प्रदेशकी मीरा गुरुङ र प्रदेश १ की पजु राईले कांस्य जितेका छन्।
प्रतियोगिताअन्तर्गत सोमबार भएको प्रतिस्पर्धामार्फत पुरुषको ८७ केजी माथिको तौलसमूहमा त्रिभुवन आर्मी क्लबका रामहरि महत र नेपाल पुलिस क्लबका अनुज पुजारीले फाइनलमा स्थान सुरक्षित गरेका छन्। यस्तै पुरुषको ५८ केजीमुनिको तौलसमूहमा प्रदेश नम्बर ५ का गोबिन्दबहादुर आले र एपीएफका चन्द्र रानामगरले अन्तिम दुईमा स्थान सुरक्षित गरे।
महिलाको ४९ केजीमुनिको तौलसमूहमा एपीएफका अस्मिता खड्का र सेनाकी युनिशा राई, पुरुषको ५४ केजी मुनिको तौलसमूहमा गणेश चौधरी र नेपाल पुलिसका मनोज मल्ल तथा महिलाको ४६ केजीमुनिको तौलसमूहमा सुदूरपश्चिमकी गीता कठेत र नेपाल पुलिसकी रेजिना कार्की फाइनलमा प्रवेश गरेका छन्।