ऋषभ पन्तको विस्फोटक ब्याटिङले दिल्लीको सानदार जित
काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल)मा सोमबार राति भएको खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले सानदार जित निकालेको छ । राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
जयपुर मैदानमा भएको खेलमा दिल्लीले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । १९२ रनको लक्ष्य दिल्लीले १९.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितका लागि ऋषभ पन्तले फिस्फोटक ब्याटिङ गरे । जम्मा ३६ बलको सामना गरेका उनले ६ चौका र ४ छक्कासहित ७८ रन बनाई अविजित रहे । त्यसबाहेक शिखर धावनले ५४ र पृथ्वी शाले ४२ रनको योगदान गरे । कप्तान श्रेयस अयर भने ४ रन बनाएर आउट भए ।
पहिले ब्याटिङमा उत्रिएको राजस्थानले दिल्लीविरुद्ध विस्फोटक ब्याटिङ गर्यो । ओपनर सन्जु सामसनलाई शून्य रनमै गुमाएको राजस्थानका लागि अजिंका राहने र कप्तान स्टेभेन स्मीथले ७१ बलमा १३० रनको साझेदारी गरे । रहाने १०५ रन बनाई नटआउट हुँदा स्मीथ ५० रन बनाएर पेभिलियन फर्किए । रहानेले आईपीएलमा ब्यक्तिगत दोस्रो शतक बनाएका हुन्।
उच्च स्कोरतर्फ बढिरहेको राजस्थानको १६औं ओभरमा बेट स्ट्रोकको विकेट गुमेपछि रन बन्ने गति सुस्त बन्यो जसका कारण अपेक्षित स्कोर बनाउन सकेन ।
दिल्लीका लागि कागिसो रबाडाले २ विकेट लिए भने इशान्त शर्मा, अक्सर पटेल, क्रिस मोरिसले १–१ विकेट लिए । यस खेलमा दिल्लीले सन्दीप लामिछानेको सट्टा अलराउण्डर क्रिस मारिसलाई उतारेको थियो । मोरिस यस खेलमा सबैभन्दा महंगा बलर बने ४ ओभरमा उनले ४१ रन दिए ।
जितपछि ११ खेल खेल्दा १४ अंक बनाएको दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । १० खेलबाट समान अंक बनाएको चेन्नई रन रेटमा पछि परी दोस्रो स्थानमा छ ।