हराउँदै हुड्के नाच
जुम्ला : कर्णालीमा विवाह, व्रतबन्ध तथा विभिन्न सभा समारोहमा बजाइने पञ्चैबाजासँगै हुड्के नाच पनि हराउँदै गएको छ। पछिल्लो समय यस्ता कार्यक्रममा पञ्चैबाजासँगै हुड्के नाचको माग हुन छाडेपछि लोप हुने अवस्थामा पुगेको हो।
बजारमा सजिलै उपलब्ध हुने आधुनिक गीत संगीत र बाजाको प्रभावसँगै परम्परागत रूपमा बजाइने मौलिक लोकबाजा हराउन थालेका हुन्। केही वर्षपहिले वैवाहिक समारोहमा अनिवार्यजस्तै बनेको हुड्के नाच र पञ्चैबाजाको माग घट्दै गएको स्थानीयको बुझाइ छ।
कर्णालीको मौलिकता झल्काउने हुड्के र पञ्चैबाचा बजाउने सीप पछिल्लो पुस्तामा हस्तान्तरण नहुनु र नयाँ पुस्ताले समेत बेवास्ता गरेपछि यसको संरक्षण गर्नुपर्ने अवस्था आएको हो। पञ्चैबाजामा पर्ने नरसिंगा, दमाहा, सनहीलगायतका बाजाको प्रयोगले हुड्के नाच्ने गरिन्छ। यतिबेला गाउँघरमा यस्ता बाजा नै पाउन कठिन छ।
गाउँघरका बूढापाका र पर्यटक हुड्के नाच र पञ्चैबाजाप्रति खुबै आकर्षित छन्। तर यसको प्रवद्र्धन हुन सकेको छैन। हुड्के नाच, ढाल नाच, मागल, चुट्किलाजस्ता जातीय तथा क्षेत्रीय पहिचान बोकेका कर्णालीका मौलिक कला संस्कृतिको संरक्षण नहुँदा अस्तित्व घट्दै गएको छ।
यस्ता चलनचल्तीमा आएका कलासंस्कृति जगेर्ना गर्न स्थानीय सरकारले लगानी गर्न सके संस्कृति पर्यटनमा प्रवद्र्धन हुने स्थानीय युवा जयप्रसाद गौतमको भनाइ छ। जिल्लाको तातोपानी गाउँपालिकाले गाउँसभामार्फत कार्यविधि नै बनाएर पञ्चैबाजा संरक्षणका लागि पाँच लाख रकमसमेत विनियोजन गरेको छ।
अध्यक्ष नवराज न्यौपानेले भने, ‘यसले परम्परागत संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा जोड पुग्नेछ र संस्कृतिको उत्थान हुनेछ।’ उनका अनुसार पञ्चैबाजा संरक्षण र प्रवद्र्धनका लागि दमाई जाति बसोबास गर्ने वडामा सञ्चालक समितिसमेत गठन हुनेछ। हुड्के तथा पञ्चैबाजाको टोलीलाई आवश्यक पर्ने पहिरन र वार्षिक रकम उलब्ध गराउनेसमेत कार्यविधिमा उल्लेख छ।
हुड्के नाच कर्णालीमा मात्रै नाचिन्छ। जन्म, विवाहजस्ता शुभकार्यमा हुड्के नाचिन्छ। परम्परा, संस्कृतिसँगै कर्णालीको हुड्के नाच आम्दानीको एउटा स्रोत पनि हो। हुड्के जान्नेले निमन्त्रणा आउँदा सीधै ज्याला निर्धारण गर्छन्। कम्तीमा एक दिनमा खाना खाएर एक हजारदेखि पाँच हजारसम्म लिने गर्छन्। तिला–३ का हस्त दमाईका अनुसार कुनै विशेष अवसरमा १०÷१५ हजार पनि आम्दानी हुने गरेको छ। यो उनको पुख्र्यौली सीपमा आधारित पेसा हो।
हुड्के नाच्न कम्तीमा सात जना चाहिन्छ। जसमा गाउन सिपालु दुई जना उठेर नाच्ने, गीत गाउने गर्नुपर्छ भने एक जना मादल बजाउने, कम्तीमा पनि चार जना भाका छोप्ने गरेर सात जना हुनैपर्छ। गाउन तथा नाच्ने एक जना मात्रै कमी भएमा हुड्के नाच प्रभावित हुन्छ।
हुड्के नाच्दा सेतो कपडाले बनेको आँगा, शिरमा फेटा, कम्मरमा पेटी, चस्मा, खुट्टामा चाम लगाइन्छ। हातमा बाख्राको छालाले बनाइएको हुड्को समातेर नाचिन्छ। गाउँदा हुड्को कानमा लगाएर ताल मिलाएर गाउने गरिन्छ। हुड्के नाचका लागि जुम्लाका तातोपानी, रारा, सिंजाको जाच र गोरा निकै प्रख्यात ठाउँहरू हुन् भने कर्णालीका कालीकोट र मुगुमा पनि हुड्के नाचिन्छ।