रत्नराज्यका प्रधानाध्यापकमाथि हातपात

रत्नराज्यका प्रधानाध्यापकमाथि हातपात

काठमाडौं : प्रधानाध्यापक नियुक्तिको विषयमा मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा दुई पक्षबीच विवाद भएको छ। असन्तुष्ट समूहले निमित्त प्रधानाध्यापक जीवनप्रकाश रेग्मीलाई सोमबार कार्यकक्षमै हातपात गरेका छन्।

विद्यार्थी पढाइरहेको समयमा विद्यालयकै शिक्षक कृपासुर खड्काको नेतृत्वमा गएको अपरिचित समूहले आफूमाथि हातपात गरेको रेग्मीको आरोप छ।

तत्कालीन प्रधानाध्यापक डा. गीता खरेलले अवकाश पाएपछि रेग्मीलाई वैशाख ५ गतेदेखि निमित्तको जिम्मेवारी दिइएको थियो। खरेलकै प्रस्तावमा रेग्मीलाई विद्यालय व्यवस्थापन समितिले जिम्मेवारी दिएको थियो। तर आफूभन्दा कनिष्ठलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको भन्दै खड्काले असन्तुष्टि जनाउँदै आएका थिए।

असन्तुष्टिकै क्रममा सोमबार रेग्मीलाई हातपात गरिएको हो। ‘विद्यालयसँग सम्बन्ध नै नभएका २०–२५ जनाको समूह अकस्मात् मेरो कक्षमा पसेर लछारपछार गरे। उनीहरूले तत्कालै म बसेको कुर्सी तान्ने तथा कागजपत्र फ्याँक्न थाले’ रेग्मीले भने, ‘त्यहाँ आएकामध्ये मैले चिनेको भनेका मेरै सहकर्मी कृपाशुर खड्का मात्र थिए। उनैले नेतृत्व गरेर उक्त समूहले ममाथि आक्रमण गर्‍यो।’

हातपात गर्ने समूहमा काभ्रेको पाँचखालका मेयर महेश खरेल पनि आएको रेग्मीले बताए। खरेल बानेश्वरकै बासिन्दा हुन्। तर अहिले उनी उक्त विद्यालयका अभिभावक छैनन्। उनी विद्यालय सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित कुनै पनि समितिमा आबद्ध पनि नरहेको रेग्मीले बताए।

हातपात हुन लागेपछि स्कुल प्रशासनले प्रहरीलाई खबर गरेको थियो। प्रहरी आएपछि विवाद साम्य भएको रेग्मीको भनाइ छ।

खड्का रेग्मीभन्दा वरिष्ठ पनि हुन्। तर विगतमा विद्यालय सुधारसँग सम्बन्धित हरेक क्रियाकलापमा रचनात्मक भूमिका निर्वाह गर्दै आएका र प्रधानाध्यापकको अनुपस्थितिमा जिम्मेवारी पनि सम्हालेका कारण रेग्मीलाई निमित्त दिइएको हो।

यसबारे खड्कासँग सम्पर्क प्रयास गर्दा सम्भव भएन। धेरै पटकको प्रयासपछि उनको मोबाइल फोनमा सम्पर्क भए पनि आवाज सुनिएन। त्यसपछि फोन अफ भयो।

विगतमा दुई पक्षबीचको टकरावका कारण विद्यालयको नयाँ भवन निर्माण पनि प्रभावित बनेको थियो। काठमाडौंमा विद्यार्थी आकर्षण भएको सामुदायिक विद्यालयमध्ये पर्छ, रत्नराज्य। यहाँ करिब २ हजार ४ सय विद्यार्थी पढ्छन्। ६५ जना शिक्षक कार्यरत छन्। स्थानीय पनि प्रधानाध्यापक नियुक्तिमा दुई खेमामा बाँडिएका छन्। प्रधानाध्यापकमा खड्कालाई नियुक्त गर्नुपर्ने भन्ने एकथरी र विगतमा पनि राम्रो काम गरेका कारण रेग्मीलाई नै नेतृत्व दिनुपर्छ भन्ने अर्कोथरी समूहका कारण विवाद आएको हो। रेग्मी नेकपासँग नजिक छन् भने खड्का कांग्रेस।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.