आतंकको झिल्को नफैलियोस्
श्रीलंकाली सरकार र नागरिकका निम्ति आतंकवादी हमला, हत्या र हिंसाको शृंखला १० वर्षअघिसम्म अनौठो थिएन। एक दशकयता श्रीलंकाली जनताले शान्तिसँग सास फेर्दै थिए। आतंकवाद बिर्संदै गएका थिए। राजनीतिक खिचातानी रहे पनि शान्ति कायमै थियो। तर श्रीलंकाली नागरिकमाथि आइतबार अपत्यारिलो बज्रपात आइलाग्यो। शृंखलाबद्ध विस्फोटले श्रीलंकाली जनतामा छुट्टै प्रकारको डर र त्रासले डेरा जमाएको छ।
चर्च र पश्चिमा रहेका होटेललक्ष्यित विस्फोटलाई त्यहाँ धार्मिक सहिष्णुता भड्काउने प्रयास ठानिएको छ। तीसभन्दा बढी विदेशीसहित करिब तीन सयजनाको ज्यान गइसकेको उक्त घटनामा अन्य क्षतिको आकलन गरिएको छैन। घटना कसले र किन गरायो ? अहिले विश्वकै ध्यान श्रीलंकामा केन्द्रित छ।
राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले प्रधानमन्त्री रणिल विक्रमासिंघेलाई ६ महिनाअघि अपदस्थ गरी पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री घोषणा गरे। अचानक सिर्जित उक्त घटनाले श्रीलंकामा संवैधानिक संकट आयो। त्यसको दुई महिनापछि श्रीलंकाको सर्वोच्च अदालतले विक्रमासिंघेको पक्षमा फैसला गर्यो। पुनः राजनीति ट्र्याकमा आयो। तर राष्ट्रपति र प्रधानमन्त्रीबीचमा हार्दिकता रहेन। यही पृष्ठभूमिमा दुखद घटना भएको छ। यस्तो संकटलाई विपरीत ध्रुव झैं रहेका राष्ट्र र सरकार प्रमुखले उपयोग÷प्रयोग गरेमा श्रीलंकाली नागरिकका लागि अर्को दुर्भाग्य हुनेछ। आतंककारी घटनाको पूर्वसूचना पाएको निकायबाट प्रधानमन्त्री र मन्त्रिपरिषद् बेखबर हुनुलाई विक्रमासिंघेले असन्तुष्टि व्यक्त गर्दै संशय देखाएका छन्।
त्यो सत्य ठहर भएमा श्रीलंका नयाँ द्वन्द्वको चक्रव्यूहमा फस्ने देखिन्छ। श्रीलंकाको राष्ट्रपतिमा केही अधिकार रहेकै कारण त्यहाँको शासन पद्धति राष्ट्रपति र प्रधानमन्त्रीमिश्रित मोडल झैं छ। यस्तो अवस्थामा संकटको सामना गर्न सिंगो श्रीलंका एक हुनुपर्छ। सार्कको संस्थापक सदस्य र बिम्स्टेकको अध्यक्ष राष्ट्र श्रीलंका अशान्त हुँदा यस क्षेत्र प्रभावित हुनेछ। यसको झिल्को अन्यत्र प्रवेश नहोस् भन्नेतर्फ पनि सचेतना अपनाउन आवश्यक छ।
नेपालका राष्ट्रपति र प्रधानमन्त्रीद्वयले घटनाको निन्दा गर्दै मानवताविरुद्धको हर्कत भन्दै घोर भत्र्सना गरेका छन्। प्रधानमन्त्री केपी ओलीले श्रीलंकाली समकक्षी विक्रमासिंघेलाई टेलिफोनमार्फत समवेदनासमेत प्रकट गरे, आतंकवादविरुद्ध साथ रहेको भन्दै ढाडस दिए। नेपालमा शान्ति–प्रक्रियाबाट सशस्त्र द्वन्द्वको अन्त्य भएसँगै ठीक उल्टो लय अर्थात् सैन्य दमनबाट श्रीलंकामा शान्तिको पुनः बहाली भएको थियो। झन्डै दस वर्षअघि श्रीलंकामा तमिल टाइगर्स (एलटीटीई) को हिंसात्मक विद्रोहलाई सैन्य दमनबाटै अन्त्य गरिएको थियो। अनि मुलुक आर्थिक गतिविधिमा अग्रसर हुँदै लोकतन्त्र बलियो हुँदै थियो। तर, यही अवस्थामा शृंखलाबद्ध विस्फोटका घटना हुँदा राजधानी मात्र होइन, सिंगो मुलुक त्रसित छ। घटनामा संलग्न भएको आशंकामा ३० बढी श्रीलंकालीलाई पक्राउ गरिएको छ। तर घटनाको जिम्मेवारी कुनै निकायले नलिनु आश्चर्यजनक छ। विस्फोटपछि राजधानीमा कफ्र्यु र सामाजिक सञ्जालमा रोक लगाई संलग्न पत्ता लगाउने प्रयासमा सरकार छ।
सैन्य दमनलाई मानवताविरुद्धको अपराध भनिए छिमेकको साथले पश्चिमाको आवाज मधुरो बनेको थियो। तिनै पश्चिमालाई लक्ष्यित गरी आतंकको नयाँ शृंखला आरम्भ हुनुलाई संयोग मात्र होइन, धमिलो पानीमा माछा मार्ने प्रयास भए झैं देखिन्छ। राष्ट्र र सरकार प्रमुखको मनमुटाव, पश्चिमाप्रति लक्ष्यित विस्फोट पक्कै सामान्य तानाबुना होइन। मानव सभ्यता र समाजविरुद्ध देखिएको घटना इसाई समुदायको पर्व इस्टरको अवसरमा चर्च पुगेकामाथि लक्ष्यित छ।
यसलाई कतिले पुरातनवादी तथा कट्टरपन्थीहरूको संलग्नता अनुमान गरेका छन्। समाज त्रसित छ। घटना नदोहोरियोस्। नेपाली र श्रीलंकाली जनता द्वन्द्वको भुक्तभोगी हुन्। अहिलेको आतंकवाद निस्तेजमा नेपाली जनताको पनि साथ रहनेछ। आतंकको भिल्कोमा सबै मिलेर पानी हालौं। यस्ता आततायी घटना विश्वले कहिल्यै सामना गर्नु नपरोस्।