कम्युनिस्ट आन्दोलनको सात दशक
नेकपाको पुनर्गठन नेतृत्वको सत्ता स्वार्थ पूरा गर्न, सत्ता स्वार्थ रक्षा गर्न र व्यक्तिगत आकांक्षा पूरा गर्न मात्र किमार्थ भएको होइन।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको सात दशक अर्थात् ७० वर्ष पार गरेसँगै नयाँ यात्रामा अघि बढेको छ। यो २२ अप्रिल १९४९ या १५ सेप्टेम्बर १९४९ मध्ये कुन दिन स्थापना भएको थियो ? यसका संस्थापकहरू : पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ गरी पाँचजना हो वा मोतीदेवीबाहेक अरू चारजना मात्रै हो अथवा अरू पनि थिए ? यसखाले प्रश्न र विवाद विगतमा चल्दै आए। तर, २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुनर्गठन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको एउटा विशेष मोड र कोसेढुंगा बन्न पुगेको छ।
यसबाट सात दशक लामो इतिहासको शिक्षा, विश्लेषण र संश्लेषण गरेर विभाजनको ५८ वर्ष लामो तथा झापा विद्रोह र केन्द्रीय न्युक्लियस गठनको ४७ वर्षदेखि जारी निषेधात्मक कित्ताकाट र अलग धार सञ्चालनकोे मौजुदा स्थिति तोडियो। २०७४ असोज १७ गते राष्ट्रिय सभागृहबाट आरम्भ गरिएको चुनावी तालमेल र पार्टी एकता गर्ने उद्घोष व्यवहारत : साकार भयो। आम न्यायपे्रमी जनसमुदाय र सामाजिक परिवर्तन एवम् अग्रगतिका हिमायतीका निम्ति यो विशेष खुसी र गौरवपूर्ण कदम थियो। यसै एकताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुलुकको पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित भएको छ।
२०७६ वैशाख ९ गते नेकपाले ७० औं स्थापना दिवस मनाएको छ। यस अवधिमा चीन, भियतनाम, लाओस आदि देशमा जस्तो क्रान्ति नै गर्न सफल नभए पनि नेकपाका विभिन्न समूहको कार्यगत एकता र नेपाली कांग्रेससितको सहकार्यबाट मुलुकमा ठूलाठूला परिवर्तन सम्भव भएका छन्। एकीकृत पार्टीले २२ अप्रिललाई स्थापना दिवस र पाँचजनालाई संस्थापक स्वीकार गरेको छ। संघीय गणतन्त्र नेपालको एक संवाहक र सुँडेनी भएर यसले नेपाली समाजलाई विशिष्ट योगदान गरेको छ। तैपनि सामाजिक न्याय, समृद्धि र सुखको प्रत्याभूति गरेर जनताको भरोसायोग्य शक्ति र दिगो नेतृत्वकर्ताका रूपमा स्थापित हुन बाँकी छ।
विगतमा विभाजनको अन्त्यहीन शृंखलाबाट गुज्रिएको नेकपाको एकता भए पनि एकता धरातलमा उभ्याउने कार्य पूरा भएको छैन। एक वर्षको कसरतपश्चात् एकतालाई जिल्ला तहसम्म पुर्याइएको छ। अब यसलाई सांगठनिक र वैचारिक रूपमा स्पष्ट भएर अघि बढाउन सक्नुपर्छ। विभाजनमा शक्ति देख्ने मनोदशा र गुटबन्दीमा रमाउने मनोरोगबाट मुक्त गर्नैपर्छ।
नेपाली कम्युनिस्ट आन्दोलनको विभाजनमा आन्तरिक–बाह्य, देशी–विदेशी, सैद्धान्तिक–व्यावहारिक, व्यक्तिगत–समूहगत प्रवृत्ति र कारण जिम्मेवार छन्। तिनले कहिल्यै पनि कम्युनिस्ट आन्दोलनको हित गरेको पाइँदैन। विभाजनका केही प्रवृत्तिगत बान्कीहरू पनि छन् :
राजतन्त्रको चलखेल : नेपाली कम्युनिस्टलाई विभाजित गर्न राजतन्त्रको चलखेल लामो समय चलिरह्यो। रायमाझी पन्थको सिर्जना र सञ्चालन, थुप्रै व्यक्तिलाई मन्त्री÷राजदूत र अनेकौं प्रलोभन र नियुक्ति, अनेक विवाद खडा गर्नुका साथै दमन, धरपकड र हत्या गर्दासमेत कम्युनिस्ट आन्दोलन समाप्त भएन।
बरु, राजतन्त्र पूर्णरूपमा पराजय भयो। कतिसम्म भने २०५९ असोज १८ को कदमपछि आज पार्टी केन्द्रीय सदस्यको रूपमा बैठकमा सहभागी व्यक्ति नै राजाद्वारा गठित सरकारमा व्यक्तिगत तवरमा मन्त्री हुन पुगेका दृष्टान्तसमेत छन्। झापा विद्रोहकै एक ‘नायक’ राजा ज्ञानेन्द्रको माघ १९ पछिको सरकारमा मन्त्री हुन पुगे। नेपाली कम्युनिस्ट आन्दोलनकै निर्णायक नेतृत्व र हैसियतमा २४० वर्ष लामो राजतन्त्र अन्त्य भयो। सँगसँगै राजापरस्त प्रवृत्ति र तिनका संवाहकहरू पनि सकिए। यो महत्वपूर्ण शिक्षा हो।
बाह्य प्रभाव, देशभक्तिपूर्ण अडान र राष्ट्रियताको पहरेदारी : भारतमा स्थापना भएको, भारतकै विभिन्न स्थानमा निर्वासन, सम्मेलन÷महाधिवेशन गरेकाले दुई देशका पार्टी स्तरमा सुमधुर सम्बन्ध कायम हुनु स्वाभाविकै हो।भारतीय कम्युनिस्ट आन्दोलनसमेत विभाजित भएकाले दुवैतर्फका विचार मिल्ने समूहबीच अनुभव आदानप्रदान र परस्परमा प्रभाव पर्नु अन्यथा होइन। नक्सलाइट आन्दोलनको झापा विद्रोह, सीपीएमको माक्र्सवादी, पिपुल्सवार÷एमसीसी (माओवादी) को माओवादी जनयुद्ध आदिमा भाइचारा प्रभाव पर्नु र सहयोग आदानप्रदान हुनु स्वाभाविकै हो। ‘ओ याङ्की गो होम, डर्टी याङ्की गो होम, हाम्रो रातो झन्डा पेरूमा फरफराइरहेको छ’ भन्ने गीतलाई नेपालमा गुन्जायमान पारिनु अन्तर्राष्ट्रियतावाद मात्रै थिएन। तथापि, भारत होस् वा चीन, रूस होस् वा पेरू, जुनसुकै देशको आन्दोलनबाट प्रभावित हुँदा नेपालीहरू आफ्नो राष्ट्रियताको पहरेदारीमा केन्द्रित हुँदै आएका छन्। यो नै नेपाली कम्युनिस्ट आन्दोलनको मूल पक्ष रहिआएको छ। राष्ट्रियताको रक्षाबाहेक कुनै स्वार्थ कम्युनिस्ट आन्दोलनको हुने गरेको छैन। अब पनि हुने छैन।
जनतन्त्र, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि संघर्ष : स्थापनाकालदेखि नै नेपाली कम्युनिस्टहरू जनतन्त्र र जनजीविकाका हिमायती रहिआएका छन्। यहाँ नेपाली कांग्रेस वा अरू कसैले लोकतन्त्र ल्याइदिएको र कम्युनिस्टहरू स्थापित लोकतन्त्रका उपभोक्ता हुनुपरेको अवस्था होइन। २००७ सालमा सहयोगी, २०४६ सालमा सहयात्री÷हाराहारी र २०६२÷६३ मा निर्णायक हैसियतमा विभाजन हुँदाहुँदै पनि नेपाली कम्युनिस्टले लोकतान्त्रिक आन्दोलनको अग्रिम मोर्चामा उभिएर लडेको यथार्थ हो।
संविधानसभाबाट संविधान जारी गर्न होस् अथवा संघीय गणतन्त्र नेपाल स्थापना र संस्थागत गर्न नै किन नहोस्, कम्युनिस्ट आन्दोलनको अहम् र सर्वोपरि नेतृत्वदायी भूमिका रहेको छ। यसखाले एजेन्डा, मुद्दा र अडानमा नेपाली कम्युनिस्टहरू सही सावित हुनु अर्को उल्लेख्य पक्ष हो। यद्यपि, विभाजन र विचलनले बेलाबखत कम्युनिस्ट आन्दोलनलाई निकै क्षति पुर्याएको स्पष्टै छ।
संघर्षको रूप हिंसा भर्सेस प्रतिस्पर्धाको अवलम्बन : प्रारम्भदेखि नै नेपाली राजनीति र कम्युनिस्ट आन्दोलनमा रूसी आन्दोलनको प्रभाव–सहरी जनविद्रोह, चिनियाँ लालसेनाको प्रभाव–छापामार युद्ध र भारतीय स्वतन्त्रता संग्रामको प्रभाव–गान्धीको अहिंसा र शान्तिपूर्ण आन्दोलनले आआफ्नै ढंगले मार्गनिर्देश गर्ने एवं प्रभाव पार्ने गरेका छन्। गौतमबुद्ध जन्मस्थल एवं बुद्ध शिक्षाको प्रभावसमेत जबर्जस्त रूपमा यसमा पर्नु अन्यथा होइन।
पूर्ववर्ती माओवादी र एमालेका अलग–अलग धारलाई ‘तेल’ र ‘पानी’ जस्तो होइन, ‘चिनी वा नुन’ र पानी’ अथवा ‘कालिगण्डकी’ र ‘सेती’ नदी मिलेर नारायणी वा एउटै जस्तो अन्तर्घुलित पार्ने चुनौती र खाँचो टड्कारो छ।
फलस्वरूप, नरसंहार, रक्तपात र आमसंहारको तहमा नेपाली कम्युनिस्ट आन्दोलन धेरै बदनाम हुन पाएन। झापा विद्रोह र माओवादी जनयुद्धको शान्तिपूर्ण रूपान्तरण र अवतरण तथा प्रतिस्पर्धात्मक अभ्यासको अवलम्बन यिनै वस्तुगत यथार्थको निर्देशनमा हासिल सफलता रहे। अर्थात्, संघर्षको रूप : हिंसात्मक वा शान्तिपूर्ण र प्रतिस्पर्धात्मक भन्ने निर्णय वस्तुगत परिस्थितिको यथार्थ विश्लेषणमा आधारित भएर गर्नु नै मुख्य जोड रह्यो। यसैक्रममा कैयन् भड्काव र विचलनसमेत नभएका होइनन्।
‘सेना नभएको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन’ ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ जस्ता उक्तिहरूले हिंसापे्ररित हुन, सार्वजनिक स्थलमा एम्बुस थाप्न, हजारौं निर्दोष नागरिकको ज्यान लिन र बर्बरता अपनाउनसमेत नसुर्याएका होइनन्। अन्तत : जनयुद्धको शान्ति प्रक्रियामार्फत अवतरण नेपालको मौलिक परिघटनाका रूपमा सम्भव भयो। त्यसबाट हासिल परिणामको एउटा बेग्लै अध्याय रहेको छ। अहिले पनि कम्युनिस्टको नाममा हिंसाको भुमरीमा झोकिदिने प्रयास र प्रवृत्ति नरहेका होइनन्। यो विनाशकारी प्रवत्ति नै हो।
विभाजनको विद्यमान स्वरूप : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापश्चात् नेपाली कम्युनिस्ट आन्दोलन आमरूपमा एकताबद्ध भएको छ। यसले राष्ट्रिय राजनीतिको पहिलो शक्ति, करिब दुईतिहाइ बहुमत जनमतको समर्थन र मतदाताको बहुमत हिस्सालाई प्रतिनिधित्व गर्न सम्भव भएको छ। तैपनि, नेमकिपा, नेकपा (मसाल), नेकपा (माले), नेकपा (कट्टेल समूह), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (किराँती समूह) र नेकपा (विप्लव समूह) गरी आधा दर्जन समूह अझै अलगअलग अस्तित्वमै छन्।
नेकपा (मसाल) सम्बद्ध राष्ट्रिय जनमोर्चाको ६० हजार हाराहारी तथा नेकपा (क्रान्तिकारी माओवादी) सम्मिलित मोर्चाले प्राप्त गरेको १३ हजार जम्मा मतले यी समूहको जनाधार भने स्पष्टै गर्छ। नेकपा (विप्लव) ले चुनाव बहिष्कारको आह्वान गरेर आमरूपमा गैरवामपन्थी उम्मेदवारहरूलाई सहयोग पुर्याएको तथ्य २०७४ सालका तीनवटै तहको निर्वाचनमा स्पष्ट रूपमा देखा परेको थियो। यस्ता शक्तिहरूले कम्युनिस्ट पार्टी र आन्दोलनका नाममा पार्न सक्ने भ्रम, उपयोग÷दुरुपयोग हुन सक्ने अवस्था र निम्त्याउने गलत परिणामको आकलन र विश्लेषण गरी आमजनतालाई स्पष्ट पार्नुपर्नेछ।
युवा आकांक्षाको सम्बोधन : पुष्पकमल दाहाल ‘प्रचण्ड’ युवा लिगको महासचिव र अध्यक्ष हुँदै पार्टीको केन्द्रीय नेतृत्वमा स्थापित हुनुभएको थियो। केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्य हुँदै प्ररायु संघ नेपालको संस्थापक अध्यक्षका रूपमा युवा आन्दोलनको समेत नेतृत्व गर्नुभएको विदितै छ। नवगठित पार्टीका अध्यक्षद्वय स्वयं युवा आन्दोलनको नेतृत्वमा रहिसकेको विगत अनुभवले आज युवालाई विशेष सम्बोधन, परिचालन, आश्वस्त र विश्वस्त बनाउनुपर्ने जरुरत छ। ५० लाख युवा बिदेसिनुपरेको आजको परिवेशमा यथास्थितिमा कदापि ‘जनवाद’ र ‘समाजवाद’ स्थापनार्थ उन्मुख हुन सम्भव छैन।
बेरोजगारको यस दुश्चक्र र आप्रवासनको यस समस्यालाई सम्बोधन गर्न हरेक नेपालीले जीविका र सुखी जीवनयापनका लागि मातृभूमि छाड्नुनपर्ने अवस्था सिर्जना गर्नैपर्छ। युवाहरूको भविष्य यहीं सुनिश्चित गर्नुपर्छ। अहिलेको ‘आइटी’ पुस्ता आफूहरूजस्तै १४ वर्ष जेल वा २० वर्ष भूमिगत बस्ने धैर्य देखाएर क्रियाशील होस् भन्ने नेतृत्व तहको अपेक्षा स्वाभाविक हुन सक्दैन। एक ‘क्लिक’ मा ‘लाइक’, ‘कमेन्ट’ र ‘अनफ्रेन्ड’ गर्न अभ्यस्त रहेको यस नयाँ पुस्ताको मनोदशा सम्बोधन गर्न नसक्ने हो भने कम्युनिस्ट आन्दोलनलाई भावी पुस्ताको भाग्य र भविष्यनिर्माता आन्दोलन र मार्गद्रष्टा बनाउन सम्भव हुने छैन।
योग्यता, क्षमता, न्याय र स्वाभिमान : सही नीति, विधि, विश्वास र अभ्यासको जगमा सञ्चालन गर्न नसक्ने हो भने सोभियत कम्युनिस्ट आन्दोलन, सोभियत सत्ता र सोभियत संघ अमेरिकी षड्यन्त्रका कारणले मात्रै पतन भएको होइन। माक्र्सवादी सिद्धान्तको प्रथम प्रयोगभूमि सोभियत संघमा कम्युनिस्ट आन्दोलन आफ्नै कारणले समाप्त भएको दृष्टान्त विशेष रूपमा स्मरण गर्नुपर्छ। कम्युनिस्ट पार्टीको नेतृत्वले नै कम्युनिस्ट आन्दोलन विघटन गरेको थियो। सामाजिक न्यायको प्रत्याभूति यसको जीवन्तताको पूर्वसर्त हो। साथसाथै, पार्टीभित्र अवसरको वितरण र जिम्मेवारी प्रदान गर्दासमेत इतिहास, योग्यता र स्वाभिमानको सबभन्दा बढी हेक्का राख्न ध्यान पुर्याउनुपर्छ। विभेद, अन्याय, शोषण र अत्याचारविरुद्ध संघर्ष गर्न कम्युनिस्ट पार्टीमा संलग्न तप्का स्वयंले पार्टीभित्र अत्याचार, पक्षपात, विभेदपूर्ण व्यवहार र कमरेडली हार्दिकताविपरीत रबैया भोग्नुपर्यो भने यो सबभन्दा ठूलो विडम्बना हुनेछ।
वैचारिक स्पष्टता र सांगठनिक चुस्ततामा उचित संयोजन र गम्भीरता प्रदर्शन नगर्ने हो भने सांगठनिक भड्काउमा पर्दै कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्व चार हजार सदस्यीय हुन पुगेको त हाम्रो आफ्नै अनुभव छ। अहिले त्यसको १० प्रतिशत हाराहारी गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनेको छ। यो राष्ट्रिय परिषद्का लागि उचित संख्या हो। एक वर्षसम्म यसको बैठक नै बसाउन जरुरत ठानिएको छैन। मूल नेतृत्व ‘दुईमुखे रुद्राक्ष’ जस्तो बनाउनुपर्ने बाध्यता जनवादी केन्द्रीयताको मर्मअनुरूप नभएर अहिलेको एकता प्रक्रियामा देखा परेको अपवाद अभ्यास मात्रै हो। भविष्यमा ‘आठौं÷दसौं’ महाधिवेशन गरेर नेतृत्व, केन्द्रीय कमिटी र मातहत कमिटीहरूलाई ‘युनिभर्सल स्ट्यान्डर्ड’ अनुरूप बनाउनैपर्छ। कमजोर धागोले बाँधेर वा भावनात्मक आदर्शको त्यान्द्रोको बलमा मात्रै पार्टी एकता जीवन्त र दिगो बन्न सक्दैन। यतिबेला पूर्ववर्ती माओवादी र एमालेका अलग–अलग धारलाई ‘तेल’ र ‘पानी’ जस्तो होइन, ‘चिनी वा नुन’ र पानी’ अथवा ‘कालिगण्डकी’ र ‘सेती’ नदी मिलेर नारायणी वा एउटै जस्तो अन्तर्घुलित पार्ने चुनौती र खाँचो सबभन्दा टड्कारो रहेको छ।
यो एकता अर्को विभाजन वा मोहनविक्रम सिंह र नारायणकाजी श्रेष्ठका समूहहरूबीच विगतमा एकता गरेर नेकपा (एकता केन्द्र मसाल) बनाई सञ्चालन गरेजस्तो गर्दागर्दै फेरि विभाजन भएजस्तो हुनु हुँदैन। कम्तीमा नेकपा (माले) र (माक्र्सवादी) बीचको विगत एकीकरणबाट नेकपा (एमाले) भई आफ्नो प्रभाव र भूमिका प्रदर्शन गरेभन्दा उन्नत र पारस्परिक विश्वासको जगमा आधारित हुनैपर्छ। त्यसनिम्ति साँचो अर्थमा ‘एकीकरण’ को अभ्यास, परिचालन तथा विचार र संगठनको आधार स्पष्ट र सुदृढ बनाउनैपर्छ। भागबन्डाको सिलसिला रोकेर योग्यता, क्षमता, भूमिका र परिणामका आधारमा जिम्मेवारी प्रदान गर्न ध्यान दिने हो भने यो असम्भव छैन।
निष्कर्ष : अहिलेसम्मको नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास वर्ग संघर्षभन्दा कम र फुट विभाजनको इतिहास बढी बनेको छ। यो विडम्बनाको अन्त्य गर्दै मौलिक प्रयोग र अभ्यास गर्नुपरे पनि राष्ट्रिय हितको भावधारामा उभिएर तमामखाले अपरिपक्वता हटाउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य हासिल गर्न एकताबद्ध हुनु अनिवार्य नै छ। करिब सात दशकको अनुभवमा नेपालको कम्युनिस्ट आन्दोलनले त्याग, तपस्या, बलिदान र परिवर्तनका लागि संघर्षका सम्पूर्ण गाथा र कीर्तिमान कायम गरेको छ। पहिलो र दोस्रो पुस्ताको नेतृत्वले आन्दोलनको स्थापना, विकास, विस्तार र सफल नेतृत्वसमेत गरेर राणातन्त्रबाट मुलुकलाई गणतन्त्रसम्म अग्रसर गराएको अवस्था छ।
यस अवधिसम्म आइपुग्दा हामीकहाँ जनवादको पदावलीसमेत बहुरूपी हुन पुगेको छ : जनताको जनवाद, जनताको बहुदलीय जनवाद, नौलो जनवाद, परिमार्जित नौलो जनवाद, वातावरणीय जनवाद, राष्ट्रिय जनवाद, राष्ट्रिय प्रजातन्त्र, बोधिसत्व माओवाद आदि अनेक नाममा ‘जनवाद’ पदावलीको प्रयोग हुने गरेको पाइन्छ। नेकपा (एमाले) को २०६५ मा सम्पन्न आठौं महाधिवेशन (बुटवल) र एनेकपा (माओवादी) को २०६९ सालमा हेटौंडामा सम्पन्न आठौं महाधिवेशनले जनवादी क्रान्तिको कार्यभार आमरूपमा पूरा भएको र आन्दोलनलाई समाजवादउन्मुख गरेर नेतृत्व गर्नुपर्ने निष्कर्ष निकालेको सन्दर्भ यहाँनेर विदितै छ।
तर, पार्टी एकता गर्दा जनताको बहुदलीय जनवादबाट बहुदलीय शब्द झिकेर जनताको जनवाद न्यूनतम कार्यक्रम हुने जुन भनिएको छ, त्यसको पूर्ण दस्ताबेजसमेत उपलब्ध छैन। नेकपाको पुनर्गठन नेतृत्वको सत्ता स्वार्थ पूरा गर्न, सत्ता स्वार्थ रक्षा गर्न र व्यक्तिगत आकांक्षा पूरा गर्न मात्र किमार्थ भएको होइन। यस एकताले मुलुकको राष्ट्रियता बलियो बनाउन, जनअधिकार संस्थागत र विस्तार गर्न, विकास र समृद्धि हासिल गर्न तथा जनताको जीवनस्तर माथि उठाउन र राष्ट्रको छवि र अन्तर्राष्ट्रिय मर्यादा उँचो बनाउन सक्नैपर्छ। सुदृढ एकताको बलमा यो काम फत्ते गर्न सम्भव छ। र, एकताबद्ध भएर अघि बढ्नुको विकल्प छँदै छैन।