गहना सफा गरिदिने बाहनामा सुन चोर्ने दुई भारतीय प्रहरीको फन्दामा
स्याङ्जा : सफा गरिदिने निहुँमा सुन चोरी गर्ने दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। भारत झारखण्ड प्रदेश गोठ्ठा जिल्ला मागहमा थाना ४ घर बताउने ३८वर्षीय तेवारी शाह र ३३ वर्षीय असर्फी शाहलाई पक्राउ गरिएको हो।
उनीहरुले चापाकोट नगरपालिका- ५ आमडाँडा निवासी इन्द्रकुमारी मानन्धरको सुनको सिक्री सफा गरिदिन्छु भन्दै २ तोलाको सुनको सिक्रीबाट केही मात्रा सुन चोरी गरेको प्रहरीले जनाएको छ। प्रहरीले ठगी गरेको सुनको मात्रासहित प्रहरीले पक्राउ गरेको हो।
उनीहरु विरुद्ध ठगी मुद्धा दर्तागरी ३ दिनको म्याद थपगरी अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए। सुन सफा गर्ने बहानामा सुन ठगी गरेको भन्दै प्रहरीमा खबर हुनासाथ प्रहरीको टोलीले खोजतलास गर्दा उनीहरु पक्राउ परेका हुन्।