विप्लव समूहका विद्यार्थी नेता नेकपामा प्रवेश
बेनी : प्रहरीको खोजी सूचिमा रहेका नेत्र विक्रम चन्द् (विप्लव) समूह निकट विद्यार्थी संगठनका म्याग्दीका एक नेता सत्ताधारी नेकपामा प्रवेश गरेका छन् ।
बेनी नगरपालिका- २ भकुण्डेका विप्लव निकट अखिल क्रान्तिकारीको पूर्व गण्डक व्युरो इञ्चार्ज प्रकाश विश्वकर्माले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
विप्लव समूहबाट यसअघि नै अलग्गिएको बताउँदै उनले सो समूहको कुनै पनि गतिविधिमा संलग्न नहुने र सत्ताधारी नेकपामा आवद्ध हुने विज्ञप्तीमार्फत जनाएका छन्।
प्रहरीको खोजीको सूचिमा रहेका विश्वकर्मा सहायक प्रजिअ महेश सुवेदी, प्रहरी निरीक्षक ध्रुवकुमार शर्मा, नेकपाका अध्यक्ष गोविन्द पौडेल, टेकबहादुर विश्वकर्मा, नगर संयन्त्र सदस्य नारायण जिसी, युवा नेता दिनेश केसी र पत्रकारको रोहबरमा सार्वजनिक भएका थिए।
विश्वकर्मालाई एनसेलको टावरमा आगजनीलगायत विप्लव समूहको गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले खोजीको सूचिमा राखेको थियो। सरकारले गतिविधि गर्न प्रतिबन्ध लगाएपछि म्याग्दीमा विप्लव समूहका नेता तथा कार्यकर्ता राजिनामा दिने र सत्ताधारी नेकपामा प्रवेश गर्न थालेका छन्।
स्थानीय प्रशासन र सुरक्षा निकायको निगरानीका कारण पेशा व्यवसाय गर्न असहज भएको भन्दै यसअघि विप्लव समूहका जिल्ला सदस्य प्रेम श्रीस, शिक्षक संगठनका कार्यबाहक जिल्ला अध्यक्ष थमबहादुर पुन र सदस्य सन्तोष गिरीले पदबाट राजिनामा दिएका थिए।
चैत १० गते पक्राउ परेका मालिका ३ डाँडागाउँका पुन अहिलेसम्म प्रहरी हिरासतमै छन्। विप्लव समूह निकट जिल्ला जनसरकार संयोजक जगत पुन र युवा संगठनका जिल्ला सदस्य रमेश पुन पनि प्रहरी हिरासतमा छन्।