आर्मी फाइनलमा
नेपालगन्ज: आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ।
नवनिर्मित नेपालगन्ज रंगशालामा मंगलबार घरेलु टिम प्रदेश ५ लाई ट्राइबेकरमा ३-१ को अन्तरले पराजित गरी आर्मी फाइनलमा पुगेको हो।
निर्धारित खेल अवधिको पहिलो हाफ निकै आक्रमक खेलेर आर्मीले २-० को अन्तरमा अग्रता लिएको थियो। प्रदेश ५ का ५ नं. जर्सीका खेलाडी दीपेन्द्र सिंह ठकुरीले आत्मघाती गोल गरेका छन्। दोस्रो गोल भने आर्मीका १६ नंं. जर्सीका दीपकुमार लामाले ३१ मिनेटमा गरेका थिए।
दोस्रो हाफमा भने प्रदेश ५ जवाफी आक्रमणमा उत्रेको थियो। दुई पटक पाएको पेल्नाटीको अवसरलाई जर्सी नं. १० का खेलाडी विनोद केसीले गोलमा परिणत गरी आर्मीलाई बराबरीमा रोकेका थिए। दोस्रो हाफमा आर्मीले ३ वटा कर्नरको अवसर पाएको थियो। तीन वटा सशक्त प्रहार प्रदेश ५ का गोलकिपरले रोकेका थिए।
ट्राइब्रेकरमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे। जितेन्द्र कार्की र दीपक गुरुङले गोल गर्न सकेनन्।
प्रदेश ५ का कृष्ण रानाभाटले मात्र गोल गरे। दीपेनसिंह ठकुरी, चेतन चौधरी र विवेक पुनले गोल गर्नबाट चुके। मंगलवार अपरान्ह ४ बजे नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।