किताब साटेर मनाइयो पोखरामा पुस्तक दिवस
तस्बिर : ध्रुव केसी
लामिछानेले पनि गोला थुते। नाम निस्कियो पत्रकारै अमृत सुवेदीको। सुवेदीलाई लामिछानेले आफूलाई औधी मन परेको उपन्यास घामका पाइला उपहार दिए। अमृतले शिव संकल्पलाई छुटेका अनुहार उपहार थमाए। संकल्पले पत्रकार विकास रोकामगरलाई रमेश विकलको उपन्यास ‘सागर उर्लन्छ सगरमाथा छुन’ दिए।
विश्व पुस्तक दिवसको दिन २३ अप्रिलका अवसरमा मंगलबार र्यान्डम रिडर्स सोसाइटीले किताब उपहार साटासाट कार्यक्रम आयोजना गरेको थियो। यो मौकामा ४० जनाले किताब साटासाट गरे। न आसन ग्रहण, न भाषण। औपचारिकताका अनेक ढर्रा नगरी किताब साटासाट मात्रै गरेर दिवस मनाइयो। सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै किताब वा कलासाहित्यका विषयमाथि लेखक वा विज्ञसँग अन्तरसंवाद चलाउँदै आएको छ। त्यसका अलावा पुस्तक दिवस र पुस्तकालय दिवस पनि सोसाइटीका नियमित कार्यक्रम हुन्।
फोटोग्राफर ध्रुव केसीले पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवालीलाई अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारीको उपन्यास मलाया एक्सप्रेस उपहार दिए। ज्ञवालीले गुरुङ साहित्य प्रतिष्ठानकी गौरी तमुलाई अल्झिएको प्रेम पुस्तक दिए।
उपन्यासकार तीर्थ गुरुङले सरोज केसीलाई ग्राबियल ग्रासिया मार्खेजको किताब दिए। तीर्थले विकास रोकामगरबाट भुइयाँ पाइसकेका थिए। केसीले अरु पाठकलाई नै उपहार दिन भनेर जुनेली उपन्यास ल्याएका थिए। तर गोलाप्रथामा निस्केको नम्बर अनुसार उनले उपहार दिनुपर्ने व्यक्ति अरु कोही नभएर जुनेलीकै लेखक ब्रजेशको नाम पर्यो। ब्रजेशले फ्याट्ट भने, 'कतै यो सुनियोजित त होइन रु अनि हिमालयन रिडर्स कर्नरमा हाँसोको फोहोरा छुट्यो। सहभागीहरुको हाँसो रोकिएकै थिएन, ब्रजेशले गोला झिके, उनकै साथमा काठमाडौंबाट सँगै आएका दिनेश कार्कीको नाम भएको नम्बर निस्कियो, फेरि हाँसो उर्लियो। ब्रजेशले पोखरेली लेखक तीर्थ गुरुङको उपन्यास पाठशाला दिनेशलाई दिए। दिनेशले चाहिँ ब्रजेशको अर्को किताब साइड हिरो ध्रुव कार्कीलाई सुम्पिए। ध्रुवले त्रिवेणीलाई हृदयचन्द्रसिंह प्रधानको स्वास्नी मान्छे दिए, सहभागीबाट प्रतिक्रिया आइहाल्यो—बहुत् राम्रो किताब।
किताब साटासाट गर्दा धेरैजसोले दार्जिलिङे लेखक छुदेन काविमोको ताजा उपन्यास फातसुङ उपहार दिए। र्यान्डमका पूर्वअध्यक्ष उपेन्द्र पौडेलले बद्रीविनोद प्रतीकलाई, विष्णु सुवेदीले खिम लामिछानेलाई, पत्रकार सन्तोष सुवेदीले रामचन्द्र अधिकारीलाई र गौरी तमुले गनेस पौडेललाई फातसुङ उपन्यास उपहार दिए। आफूसहित धेरैजसोले फातसुङ उपहार दिएपछि पौडेल बोले, 'आज फातसुङ हिट भयो।'
किताब उपहार साटासाटमा आउन नपाए पनि लेखक मीरा ढकालले अर्का लेखक गनेस पौडेलमार्फत उपहार पठाएकी थिइन्। पोखरा महानगरपालिकाका कर्मचारी लक्षमण तिमिल्सिनाले समेत रवीन्द्र अधिकारीको किताब समृद्ध नेपाल पठाएका थिए। उनका प्रतिनिधिले लेखक निर्मला न्यौपानेबाट नाटक हेमलेट उपहार पाए। कवि सुदर्शन पौडेलले पत्रकार सन्तोष सुवेदीलाई पनि हेमलेट जो दिएका थिए।
फोटोग्राफरद्वय ध्रुव केसी र खिम लामिछानेको नाम पोहोरको कार्यक्रममा एकअर्कालाई किताब दिने पालोमा परेका थिए। यसपालि पनि त्यही संयोग दोहोरियो। हेरौं न कार्यक्रम कस्तो हुँदो रहेछ भनेर आएका राजनीतिकर्मी गोविन्द केसी सौगात पोखरेलसँग सोध्दै थिए—म पनि एउटा किताब उपहार दिन्छु कुन दिऊँ रु सौगातले पारितजातको ‘अनिदो पहाडसँगै’ सुझाए। गोलाप्रथामा संयोग कस्तो पर्यो भने केसीले उपहार दिनुपर्ने व्यक्ति उनै सौगात निस्किए। गोविन्द र सौगात मुसुक्क मुस्कुराए। मोती भुजेलले चाहिँ उपहार दिन ल्याएका किताब थिए भोजराज न्यौपानेको कविता संग्रह छुटेको जुत्ता र रमेश सायनको संस्मरण छुटेका अनुहार। उस्तै उस्तै नामका किताब देखेरै सहभागी एकछिन हाँसे। किताब दिनेलिने क्रम सकिएपछि सोसाइटीका परिकल्पनाकार तथा लेखक गनेस पौडेलले भने, 'अब रोजेका साथीले रोजेका किताब दिऊँ है।' त्यसपछि पनि केहीबेर किताब साटासाट चलिरह्यो।