गौरिकाको दोहोरो कीर्तिमान
नेपालगन्ज : त्रिभुवन आर्मी क्लबकी गौरीका सिंहले ८औं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको महिला एक सय मिटर बटरफ्लाई र दुई सय मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
मंगलबार भएको एक सय मिटर बटरफ्लाइमा एक मिनेट ०७.९७ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। यो विधामा यसअघि पनि उनकै नाममा एक मिनेट ०८.६३ सेकेन्डको कीर्तिमान थियो। सो स्पर्धामा आर्मीकै दुआना लामाले रजत र एपीएफकी श्रीबी महर्जनले कास्य जितिन्।
त्यसैगरी दुई सय मिटर फ्रिस्टाइलमा पनि उनले दुई मिनेट ०९.१९ सेकेण्डको कीर्तिमान बनाइन्। आर्मीकै दुआना लामाले रजत जित्दा एपीएफकी टिसा शाक्यले कास्य जितिन्।
गौरीकाले दुई सय मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण जितिन्। निर्धारित दूरी दुई मिनेट ४१.२५ सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण जितेकी हुन्। नेपाल पुलिस क्लबकी अनुष्का पोखरेलले रजत र एपीएफकी दीया स्थापितले काँस्य जिते।
यसैगरी महिला चार गुणा एक सय मिटर रिलेमा पनि गौरिका सम्मिलित आर्मीले स्वर्ण जित्यो। पुलिसले रजत र एपीएफले काँस्यमा चित्त बुझाए। त्यसैगरी महिला ५० मिटर ब्रेष्टस्ट्रोकमा आर्मीकी दुआना लामाले स्वर्ण, आर्मीकै उपास्ती महर्जनले रजत र एपीएफकी टिसा शाक्यले कास्य जिते।
यसैगरी पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा एपीएफका शुभम् श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले निर्धारित दूरी ३१.९० सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएका हुन्। यसअघि ३२.०१ सेकेन्डको कीर्तिमान उनकै नाममा थियो। यस विधामा पुलिसका दिपंकर अवाले दोस्रो र एपीएफका बेधाग्य राज जोशी तेस्रो भए।
यसैगरी पुरुष एक सय मिटर बटरफ्लाइमा पुलिसका सैयद हमजा साहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले हिट चरणमा निर्धारित दूरी एक मिनेट ०.२५ सेकेन्डमा पूरा गरेका थिए। फाइनल चरणमा भने उनी रजत पदकमा सिमित भए। आर्मीका अनुभव सुब्बाले स्वर्ण जिते। एनआरएनएका नाथुन दोर्जे शेर्पाले कास्य जिते।
पुरुष दुई सय मिटर ब्याकस्ट्रोकमा एनआरएनएका नाथुन दोर्जे शेर्पाले स्वर्ण, एपीएफका तेन्जिङ नाम्डोल र रायन गुरुङले रजत तथा एपीएफकै नासिर हुनेनले काँस्य जिते। पुरुष चार गुणा एक सय मिटर रिलेमा पुलिसले स्वर्ण, एपीएफले रजत र आर्मीले कास्य जिते।