आप्रवासी कामदारप्रति जापान उदार छ
जापानले नेपालसहित ९ देशबाट १४ विभिन्न पेशामा आप्रवासी कामदार लिने भएको छ। जापानले विशिष्ट सीप भएका कामदार लिने सम्बन्धमा नेपाल सरकारसँग सम्झौता पनि गरिसकेको छ। उक्त सम्झौतासँगै नेपाली कामदारलाई जापान जाने बाटो खुलेको छ। कामदार लैजाने थप प्रक्रिया निर्धारण गर्न दुवै देशले थप गृहकार्य गरिरहेका छन्। कोमिमियाले अध्यक्षता गर्ने फाउण्डेसनले विदेशी विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ।
जापानले आप्रवासी कामदार लिने भएपछि उनले नेपाल सरकारसँग मिलेर जापान जान इच्छुक भाषा र सीप परीक्षा उत्तीर्ण नेपालीहरुको रोष्टर तयार गरी जापानमा रोजगारदातासँग सम्पर्क गराइदिने कामका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग छलफल गरेका छन्। जापानमा नेपालीले कसरी बढी रोजगारीका अवसर प्राप्त गर्न सक्छन् भन्ने सम्बन्धमा अन्नपूर्ण पोष्टले गरेको कुराकानीः
जापानले नेपालबाट पनि कामदार लिने भएको छ। नेपालीहरुले कहिलेबाट रोजगारीमा जान पाउलान् ?
जापानले आप्रवासी कामदारका लागि नेपालसहित ९ मुलुकबाट १४ क्षेत्रमा कामदार लिने भएको छ। यससँगै नेपाल र जापान सरकारबीच सहयोग सम्बन्धि सम्झौता (मेमोर्याण्डम अफ कोअपरेसन) पनि भैसकेको छ। जापान सरकारले भाषा सम्बन्धि परीक्षा लिनका लागि जापान फाउण्डेसन र सीप परिक्षणका लागि सम्बन्धित क्षेत्रमा संगठन संस्थाहरुलाई आग्रह गरेको छ। जापानमा अन द जब ट्रेनिङ्गमा (रोजगारसहितको तालिम कार्यक्रम) मा रहेका फिलिपिन्सका कामदारहरुका लागि भाषा र सीपको परीक्षा नै शुरु भएको छ। होटल रेष्टुरेन्टमा काम गर्नेका लागि जापानका विभिन्न प्रान्तहरुमा अप्रिल १४ मा एक चरणको परीक्षा भएको छ भने अप्रिल २५ मा अर्को हुँदैछ।
सम्बन्धित देशको लागि परीक्षा लिदाँ जापानमा रहेका सम्बन्धित देशका नागरिकका लागि जापानभित्रै र सम्बन्धित देशमा परीक्षा हुन्छ। जापान सरकारको प्राथमिकता पहिले रोजगारसहितको तालिम कार्यक्रम अन्तर्गत जापानमा रहेकाहरुलाई नै टाइप १ प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने हो। यो प्रवेशाज्ञाको अवधि ५ वर्षको हुन्छ। भियतनाममा पनि प्रशिक्षार्थी कामदार पठाउनेले नै आप्रवासी कामदार पठाउने सहमति भएको छ। नेपालमा सीप परिक्षणका लागि भने अहिलेसम्म कसैले चासो देखाएका छैनन्। परीक्षा भएपछि उनीहरुले क्रमशः रोजगारदातासँग सम्पर्क गरी रोजगारदाताले उपलब्ध गराएको करारपत्रका आधारमा प्रवेशाज्ञा प्राप्त गर्छन्।
भाषा र सीप परिक्षण कसले गर्ने हो ?
भाषा परीक्षाका लागि जापान फाउण्डेसन र सीप परीक्षाका लागि सम्बन्धित क्षेत्रका संगठन संस्थाहरुले परिक्षण गर्छन्। जस्तो, होटल क्षेत्रमा आवश्यक कामदारका लागि जापानको होटल एशोसिएसनले सीप परिक्षण गर्छ। भाषाका लागि भने एन ४ तह उत्तीर्ण हुनुपर्छ। तर नर्सिङ जस्ता कतिपय रोजगारीका अवसर भने एन ३ तहकै भाषा जानेको हुनुपर्ने जस्तो छ। जापानमा रोजगारसहितको तालिम कार्यक्रममा बाहेक धेरै विद्यार्थीहरु पनि छन्। झण्डै ३ लाख आप्रवासी विद्यार्थी छन्। नेपाली नै २८००० जति होलान्। चीन र भियतनामपछि जापानमा धेरै नेपाली विद्यार्थीहरु नै छन्। तिनीहरु विद्यार्थी प्रवेशाज्ञामा त्यहाँ गएका छन्। उनीहरुले नियमअनुसार हप्तामा २८ घण्टा काम गर्न पाउँछन्। हरेक घण्टा एक हजार जापानी येन प्राप्त गर्छन्। तोकिएको भन्दा बढी काम गराउनुहुँदैन भन्ने रोजगारदातालाई पनि थाहा छ। तर विद्यार्थीले नियम उल्लंघन गरेर काम गर्न खोज्छन्। त्यो अवस्था नहोस् भनेर हाम्रो फाउण्डेसनले विदेशी विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौं।
हामीले जापानका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने एक हजार जति विदेशी विद्यार्थीलाई छात्रवृत्ति दिएका छौं, त्यी मध्ये ५० प्रतिशत त नेपाली नै होलान्। त्यसकारण बरु विद्यार्थीहरु जो पढाइसकेका छन् र जापानमा काम गर्न चाहान्छन् भने यो उनीहरुका लागि पनि अवसर हुन्छ। जापान सरकारको प्राथमिकता पनि पहिला उनीहरु नै हुन्। किनभने उनीहरु जापानमा बसेका छन्। सीप सिकेका छन्, भाषा जानेका छन्, जापानको संस्कृति बुझेका छन्, काम गर्ने तौर तरिका छ। विद्यार्थीहरुलाई पनि नियम उल्लंघन गरेर काम गर्नुपरेन। अर्कोतर्फ, रोजगारसहितको तालिम कार्यक्रममा गएका र विद्यार्थीहरु प्रवेशाज्ञाको अवधि समाप्त भएपछि त आफ्नो देश फर्कनुपर्यो। त्यो उनीहरुका लागि पनि घाटा भयो, जापान सरकारलाई पनि घाटा भयो। उनीहरुले जापानमा काम गर्ने प्रवेशाज्ञा प्राप्त गरे भने दुवै पक्षलाई फाइदा हुन्छ।
सम्बन्धित देशमा भाषा र सीपको परीक्षापछि उत्तीर्णहरुको रोष्टर बनाएर कामदार लैजाने हो ?
त्यस्तो होन। भाषा र सीपको परीक्षामा उत्तीर्ण भएपछि उनीहरुले रोजगारदाताबाट प्राप्त गर्ने करारपत्रका आधारमा सम्बन्धित मुलुकको दूतावासमा प्रवेशाज्ञाका लागि आवेदन दिन्छन् र प्रवेशाज्ञा प्राप्त गरी जापान जान्छन्। जापान सरकारले कामदारको रोष्टर तयार गर्दैन। त्यही भएर हाम्रो फाउण्डेसनले नेपाल सरकारसँग मिलेर यसरी उत्तीर्ण कामदारको रोष्टर तयार गरेर उनीहरुलाई जापानमा रोजगारदातासँग सम्पर्क गराइदिने, उनीहरुको सीप अनुसारका रोजगारदाता कम्पनीले माग गरेको कामदारको आवश्यकतासँग मिलान (म्याचिङ) गराइदिने प्रस्ताव गरेका हौं। श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग हाम्रो कुरा भयो। उहाँले हाम्रो प्रस्तावलाई सकारात्मक रुपमा लिनुभएको छ। यसरी मिलान गर्दा हामी कुनै शुल्क लिदैंनौं।
बिना शुल्क के स्वार्थले काम गर्दैहुनुहुन्छ भनेर सोध्नुहोला, हामीले विदेशी विद्यार्थीलाई छात्रवृत्ति दिन हामीलाई वर्षमा ३६ करोड येन आवश्यक पर्छ। त्यो हामीले जापानको आउटसोर्सिङ इन्क नामक कम्पनीबाट प्राप्त गर्छौं र उसका लागि हामी यो काम गर्दैछौं। आउटसोर्सिङ इन्कले धेरै देशहरुमा कार्यालय राखेर काम गर्दै आएको छ। नेपालको नजिक भन्दा भारतमा पनि उसको कार्यालय छ। त्यसकारण हामीले त्यो काम गरेबापत् नेपाली कामदारसँग कुनै शुल्क लिदैंनौं। तर, सोच्नुहोस् न यहीं ठाउँमा दलालहरुको प्रवेश भयो भने के होला ? कामदार त ठगीन्छन् नि। जापान सरकारले त्यहाँ प्रवेश गर्न चाहाने आप्रवासी कामदारप्रति ठगी नहोस् र सबै प्रक्रिया पारदर्शी होस् भनेर सचेतता अपनाएको छ।
भाषा परीक्षा र सीप परीक्षामा उत्तीर्ण भएको कति समयसम्म जापान रोजगारीमा जान पाइने हो ?
त्यस्तो पाबन्दी छैन। यति नै वर्ष भनेर तोकिएको छैन। जापानले विशिष्टीकृत सीप भएका कामदार लैजाने भएकाले त्यस्ता कामदार सीमित होलान्। मलाई लाग्छ तिनीहरु सबैले अवसर पाउँछन्। कामदार भीसामा काम गर्न जाँदा आप्रवासी कामदारले जापानी कामदार सरह तलब पाउँछन्। प्रति महिना दुई लाख येन आम्दानी गर्छन्। जापान सरकारले आप्रवासी कामदारप्रति ठूलो उदारता अपनाएको छ।
टाइप १ अर्थात् पाँचवर्षे प्रवेशाज्ञा पाएर जापान जानेले परिवार पनि लान पाउँछन् ?
टाइप १ प्रवेशाज्ञा पाएर जानेले परिवार त लैजाने सुविधा छैन। त्यसका लागि टाइप २ प्रवेशाज्ञा लिनुपर्छ। त्यो प्रवेशाज्ञाको कुनै समय सीमा छैन। परिवार पनि लैजान पाउँछन्। समान प्रकारको काममा कम्पनी पनि परिवर्तन गर्न पाउँछन्।
जापानको रोजगारमा एउटा सुविधा के भने टाइप १ प्रवेशाज्ञा पाएकाले पनि समान खालको काम भए एउटा कम्पनी छाडेर अर्कोमा पनि काम गर्न पाउँछन्। तर रोजगारसहितको तालिम कार्यक्रममा गएकालाई भने त्यो सुविधा छैन।
नेपालीहरुका लागि १४ क्षेत्रमध्ये कुन–कुन उपयोगी होलान् ?
नेपालीका लागि नर्सिङ, खाद्य सेवा, भवन सरसफाई र होटल क्षेत्रमा कामको बढी अवसर हुनसक्छ। नर्सिङमा पहिलो वर्ष ५ हजार र पाँच वर्षमा ५० देखि ६० हजार विदेशी कामदार लिने जापान सरकारको योजना छ। त्यस्तै खाद्य सेवा (खाद्य प्रशोधन, आपूर्ति) लगायतका काममा पहिलो वर्ष ५,००० र पाँचवर्षमा ५३ हजारसम्म विदेशी कामदार जापान जानेछन् त्यस्तै भवन सरसफाइमा ६,८०० पहिलो वर्ष र पाँच वर्षमा ३३,००० ले रोजगारी पाउनेछन्। होटलमा पहिलो वर्ष १,०५० र आउँदो पाँच वर्षभित्र १५,००० विदेशी कामदार लिने योजना रहेको छ। त्यसकारण धेरै रोजगारीका अवसर रहेको नर्सिङ र खाद्य सेवातर्फ सीप विकास गर्न राम्रो हुन्छ भने नर्सिङमा जान चाहानेले भाषामा पनि एन ३ तहको भाषा सिक्दा अवसर बढी हुन्छ।
जापान क्रमशः प्रौढ समाजमा रुपान्तरण हुन लागेकाले यहाँको आर्थिक क्रियाकलापलाई जीवन्त बनाइराख्न आप्रबासी कामदार लिने प्रस्ताव संसद्बाट आएको हो। जापानले आप्रवासी कामदार प्रति उदारता देखाएको छ र जापानी समाजमा उनीहरुलाई स्वागत गरी मिलेर बस्न चाहेको छ।