कोमामा पुगेको लोकतन्त्र

कोमामा पुगेको लोकतन्त्र

धुम्बाराहीमा झिँगा भन्काएर बालुवाटार र सिंहदरबारको झिलिमिलिमा रमाउने राजनीतिक संस्कारले लोकतन्त्र बचाउन सक्दैन।


लोकतन्त्र आफैंमा पूर्ण प्रणाली हो। समग्र शासन व्यवस्थामा लोकमतको सर्वोच्चता कायम गरिनु लोकतन्त्र हो। लोकतन्त्रमा ‘लोकसम्मतिको विकल्प लोकसम्मति’ मात्रै हुन्छ। यसको अघिपछि संघीय, गणतन्त्र, बहुदलीय र राजतन्त्र भनेर फुर्को झुन्ड्याइरहन आवश्यक छैन। समग्रमा व्यक्तिको स्वतन्त्रता, सम्मान, सुरक्षा र कल्याण लोकतन्त्रको अभीष्ट हो, हुनुपर्छ।

तर, सरकार र राजनीतिक दलले लोकतन्त्रको सुदृढीकरण र संस्थागत विकासको बाटो बिराइसकेका छन्। लोकतन्त्रको सम्मान र मर्यादा जपेर होइन, व्यवहारबाट देखाउनुपर्छ। सत्ता र विपक्षमा रहेका पार्टीका नेताको दैनिकी नै बनेको छ लोकतन्त्रको जपना। व्यवहारमा न सत्ता पक्षसँग लोकतन्त्रको सम्मान गर्ने काम भएको छ न त प्रतिपक्षबाट त्यसको मर्यादा जोगाउने हर्कत। सरकार त कम्युनिस्ट पार्टीको छ। उसको आदर्श र चरित्र नै लोकतन्त्र र त्यसका अवयवलाई कमजोर बनाउने हो। ‘निर्देशित न्यायपालिका’ मार्गनिर्देशक सिद्धान्त बनाउने पार्टीको सरकारबाट लोकतन्त्रको सुदृढीकरणको अपेक्षा असम्भव छ। व्यवहारतः न्यायाधीश नियुक्ति प्रक्रियामा देखिएका क्रियाकलापले त्यसको पुष्टि गर्छ। आफ्ना मात्र ठीक, योग्य र सक्षम ठान्ने प्रवृत्तिले न्यायपालिकाको साख गिरेको छ। न्यायाधीश र प्रधानन्यायाधीशबीच सार्वजनिक मञ्चमा राजनीतिक जुहारी चल्ने देशको न्यायपालिकाबाट जनताले चाहेको सामाजिक न्याय सम्भव छैन।

व्यवस्थापिकामा नेकपाको आवश्यकभन्दा बढी बहुमत छ। कार्यपालिका उनीहरूकै पकडमा छ। निष्पक्ष, देश र जनतामा समर्पित भनिएको नेपाली सेनामा पनि पकड जमाउने प्रयास भइरहेको छ। विवादास्पद नयाँ राष्ट्रिय सुरक्षा नीतिले त्यही संकेत गरेको छ। सरकारका अंग, संवैधानिक आयोग र निकायमा नेकपाको पकड कायम राख्न चालिएका कदमलाई सबैले स्विकारिदिनुपर्ने कस्तो लोकतन्त्रको विकास गर्दै छौं हामी ?        अधिकार र शक्ति भएपछि जे गरे पनि हुन्छ भन्ने मान्यतालाई आदर्श मान्ने सरकारबाट लोकतन्त्रको सम्मान हुन सक्दैन। वास्तविक लोकतन्त्रमा सरकार होइन, राजनीतिक दल बलियो बन्नुपर्छ। धुम्बाराहीमा झिँगा भन्काएर बालुवाटार र सिंहदरबारको झिलिमिलिमा रमाउने राजनीतिक संस्कारले लोकतन्त्रको बचाऊ गर्न सक्दैन।

साँच्चै हो, हामी क्यान्टोनमेन्टका नागरिक भइरहेका छौं। हामी बन्धकजस्तै छौं। दुईतिहाइको सरकार नागरिकका लागि होइन पनि। कागजी रूपमा सार्वभौमसत्ता नागरिककै हातमा छ तर अधिकार सिन्डिकेटका नाममा निर्दलीय व्यक्तिले उपयोग गरिरहेका छन्। लोकतान्त्रिक भनिएको व्यवस्थामा योभन्दा ठूलो उपहास के हुन सक्छ ?

लोकतन्त्र र कांग्रेस

लोकतन्त्रको कुरा गरिरहँदा देशकै पुरानो पार्टी नेपाली कांग्रेसलाई सबैले स्मरण गर्छन्। यतिबेला प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेस, जो आफूलाई लोकतन्त्रको पर्यायवाची सम्झन्छ, ऊ आफैं सैद्धान्तिक र कार्यगत रूपमा अपांग छ। ऊ बाहिर जति कमजोर देखिएको छ आन्तरिक लोकतन्त्र अभावमा भित्रभित्रै त्यत्तिकै मक्किएको छ। सैद्धान्तिक विचलन उसको परिचय बनिसकेको छ। वास्तविक लोकतन्त्र माओवादीसँग भरतपुरमै साटिइसकेको छ तर नेतृत्व त्यसैलाई ‘लोकतन्त्र’ ठान्छ। प्रधानमन्त्री केपी ओलीले त्यसै भनेका होइनन् ‘कठै कांग्रेस’।

कांग्रेस होइन, कांग्रेसी गल्तीको उपज हो नेपालमा कम्युनिस्ट अस्तित्व। जानकार भन्छन्, कांग्रेस सिद्धान्त आज पनि धनी छ। सिद्धान्त बिक्री नगरेको भए देशमा कम्युनिस्ट शासन असम्भव थियो। ऊ स्थापनाकालीन सिद्धान्तमा मात्र फर्कियो भने अझै जनसमर्थन हासिल गर्न सक्छ। मधेस पनि उठ्छ। तर कांग्रेस यतिबेला अबुझ र राजनीतिक संस्कारहीन नेतृत्वको चंगुलमा फसेको छ। किनकि स्थापनाका लागि बलिदानी दिएका दिग्गजहरू कांग्रेसमा छैनन्। स्थापनाको बेग्लै ध्येय थियो, पूर्ण लोकतन्त्रको बहाली। कांग्रेस पार्टी स्थापना गर्ने पुस्ताले ठूलो बलिदानीका साथ त्यो उद्देश्य पूरा गरेको हो। त्यो पुस्ताको अवसान भइसकेपछि कांग्रेसलाई नवकम्युनिस्टहरूले आफ्नो हितमा प्रयोग गरे।

यतिबेलाको दुईतिहाइको विकल्प बन्नुपर्ने शक्ति कांग्रेस हो। तर, कांग्रेसी चरित्रले विकल्प दिने हैसियत राख्दैन। अहिलेको नेतृत्वले बीपी र जीपी कोइरालाको सक्कली उत्तराधिकारी भएको दाबी आफूलाई गर्ने हैसियत राख्थ्यो भने सार्वजनिक समारोहबाटै कांग्रेस कार्यकर्तालाई हँसिया–हथौडामा भोट हाल्न लगाउँदैनथ्यो।

महाधिवेशन घोषणा सुध्रिने विकल्प

कांग्रेस सिद्धान्त र निष्ठाका हिसाबले जीवित त छ ? भन्ने प्रश्न यतिबेला बारम्बार उठिरहन्छ। कांग्रेसीको काम गर्ने सोच र शैलीले सिद्धान्त र निष्ठालाई सुनिश्चित गर्न सक्ने क्षमता राख्दैन। नेतृत्वका लक्ष्य आत्मकेन्द्रित छन्। नेतृत्वसँग न इमान छ, न विधि र प्रकृया, न सपना न त समस्या समाधान गर्न सक्ने कुशल क्षमता। अब यही नेतृत्वबाट कांग्रेस अघि बढाउन खोजियो भने प्रजा परिषद्को नियतिमा पुग्नेछ। नेपाली कांग्रेसलाई ‘कांग्रेस’ ले चलाउनुपर्छ, कांग्रेसीले होइन। अबको पुस्ताको विश्वास र समर्थन प्राप्त गर्न पुरानो सोच र शैलीबाट होइन आधुनिक सोच र शैलीबाट कांग्रेसलाई अघि बढाउनुपर्छ। त्यसका लागि जोजो पार्टीको जुन–जुन तहमा छ (केन्द्रीय सभापतिदेखि गाउँ कमिटी अध्यक्षसम्म) त्यसले आआफ्नो पदबाट विनासर्त राजीनामा दिनुपर्छ। अनि महाधिवेशन घोषणा। कांग्रेसजस्तो दुनियाँले मानेको पार्टीको सभापतिको बोलीको मूल्य र मान्यता हुन्छ, हुनुपर्छ।

अधिकार र शक्ति भएपछि जे गरे पनि हुन्छ भन्ने मान्यतालाई आदर्श मान्ने सरकारबाट लोकतन्त्रको सम्मान हुन सक्दैन। वास्तविक लोकतन्त्रमा सरकार होइन, राजनीतिक दल बलियो बन्नुपर्छ।

नेतृत्वको बोलीको मूल्य र मान्यता नहुँदा पार्टी विचारधाराबाट विमुख भयो। विभिन्न गुटउपगुट जन्मिए। अघिल्लो पुस्ताको अवेशष छँदासम्म नेपाली राजनीतिको केन्द्रीय भूमिकामै थियो कांग्रेस। महिना–महिनामा पार्टीको नाम फेर्ने कम्युनिस्ट फुर्को झुन्ड्याउनेहरूलाई न संसारले पूर्णतः विश्वास गर्छ न त नेपाली नागरिकले। राजनीतिले कांग्रेसको केन्द्रीय भूमिका अहिले पनि खोजिरहेको देखिन्छ। तर नेतृत्वले त्यो भूमिका निर्वाह गर्न सकेन, सक्दैन पनि। तर नेतृत्वलाई यसको बोध छैन। त्यसैका लागि विनासर्त राजीनामा जागरण अभियान थालनीको पूर्वसर्त बनाउन सक्नुपर्छ। स्थापनादेखि करिब ६५ वर्षसम्म दिने ठाउँमा रहेको कांग्रेस मगन्तेको अवस्थामा पुग्दा पनि नचेते कहिले चेत्छ ? आम शुभेच्छुक र कार्यकर्ताको मनोबल गिरिरहेका बेला अझै पार्टीलाई पुरानो अवस्थामा पु¥याएर राजनीतिबाट सन्न्यास लिन्छु भनेर जागरण अभियान सार्थक हुन्छ भन्ने ठान्नु गलत हुनेछ।

नेतृत्वमा बसेर पार्टी हाँक्न नसक्ने, संसद्मा प्रतिपक्ष भएर जनताको भावना र आबाज बुलन्द गर्न नसक्ने पार्टीले कसरी जनताको विश्वास आर्जन गर्न सक्छ ? जागरण अभियानले मात्र कांग्रेसलाई ऊर्जा दिन सक्दैन। वास्तविक कांग्रेस हुन र बनाउन नेतृत्व तहकै राजनीतिक संस्कारमा आमूल परिवर्तन जरुरी छ। भागबन्डाको संस्कृतिलाई प्रधान ठान्ने संस्कार कायम रहेसम्म कुनै अभियानले पनि कांग्रेस माथि उठ्न सक्दैन। कांगे्रसले सोचेजस्तो जागरण अभियान त्यतिबेला सार्थक हुन्छ, जब पार्टीको भूमिकामा रहेका सबै नेताले आआफ्नो पदबाट राजीनामा दिएर पार्टी कार्यकर्ताको भूमिकामा बस्ने सामथ्र्य राख्छन्। सबैको समान भूमिकाबाट मात्र जागरण अभियान सार्थक हुन्छ। नेताको हितका लागि मात्र सधैं कार्यकर्ता कुदिरहनुपर्ने कस्तो लोकतान्त्रिक अभ्यास गरिरहेको छ कांग्रेस ?

नेतृत्वको फेरो समाएर कांग्रेसी हुनेहरूको बोलवाला छ यतिबेला। त्यो शैलीले छोटो समयका लागि कांग्रेसी हुन सकिएला तर कांग्रेस हुन सकिन्न। कांग्रेस हुन नैतिकता, निष्ठा, कार्यकर्तामुखी चरित्र र राजनीतिक संस्कार चाहिन्छ। त्यो संस्कार व्यवहारबाट देखिनुपर्छ। निर्वाचनका बेला मात्र कार्यकर्ता चाहिने नेताबाट अबको पार्टी चल्दैन। अहिलेको नीति र नेतृत्वबाट जागरण अभियान सम्भव छैन। पैसामा टिकट बेच्ने नेता भएको पार्टीले गरेको जागरण अभियानले आम जनताको मनोभावना जित्ने सामथ्र्य पनि राख्दैन। सार्वजनिक सभामै माओवादीलाई भोट हाल भनेर निर्देशन दिने नेतृत्वले तिनै कार्यकर्तासामु पुगेर कांग्रेस जागरण अभियानको भाषण गर्न सुहाउँदैन। अर्काको भलो हुने एजेन्डा बोकेर कांग्रेस नयाँ ठाउँमा पुग्ला तर त्यहाँबाट फर्कन सम्भव छैन। तासको घरजस्तो गणतन्त्र जोगाउन होइन, कांग्रेसको स्थापनाकालीन सिद्धान्त जोगाउने बाटो हिँड्दा उसैको र देशको हित हुनेछ।

पुरानो पुस्ताको त्याग, तपस्या, बलिदान र उनीहरूको सैद्धान्तिक निष्ठालाई केन्द्रमा राखेर जागरण अभियान थाल्नुपर्छ। कांग्रेसको ग्रामीण आधारशिला विपक्षीले भत्काइदिएका छन्। त्यो आधारशिला खडा गर्ने चुनौती अहिलेको नेतृत्व पुस्ताबाट सम्भव पनि छैन। भविष्यका कांग्रेसजनलाई कांग्रेसका नाममा राजनीति गर्ने आधारशिला खडा गर्न पनि नेतृत्वले महाधिवेशन आह्वान गरेर नयाँ नेतृत्व छान्ने मार्गप्रशस्त गर्नुपर्छ। कांग्रेसलाई माया गर्ने ठूलो बौद्धिक शक्ति छ। आस्थाका आधारमा भोट हाल्ने नागरिकको जमात त्यत्तिकै छ। कांग्रेस छहारीमा नबसेर पनि बीपीको नाममा भोट हालिरहनेको समूह पनि ठूलै छ। तैपनि कांग्रेस नागरिकको त्यो अटुट विश्वास र मायालाई सम्मान गर्न जान्दैन। अब स्पष्ट दृष्टिकोण, कार्यक्रमसहित नीति प्रधान भएर पार्टी चलाउने कसम खाने नेतृत्व नआई कांग्रेस जोगिन पनि सक्दैन। तब मात्र कोमामा पुग्न लागेको लोकतन्त्रको मान र मर्यादा रहन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.