डाक्टर पठाइदिन केन्द्रसँग गुहार
सुर्खेत : कर्णाली प्रदेश सरकारले चिकित्सक अभावले स्वास्थ्य सेवा प्रभावित भएको भन्दै केन्द्र सरकारसँग जनशक्ति मागेको छ। पहिलेदेखि नै दरबन्दीअनुसार जनशक्ति नभएको र कर्मचारी समायोजनपछि स्वास्थ्य सेवा रित्तिँदै गएकाले तत्काल आवश्यक जनशक्ति व्यवस्थापन गर्न केन्द्रलाई गुहारेको हो। मंगलरबार प्रदेश अस्पताल पुगेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसमक्ष कर्णाली सरकारले स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा भएका जनशक्ति अन्यत्र पठाएर कर्णालीमाथि अन्याय भएको गुनासो पनि गरेको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समायोजनपछि कर्णालीका स्वास्थ्य क्षेत्र कर्मचारीविहिन भएको बताए। ‘अस्पतालमा डाक्टर नहुँदा बिरामीले सहज र सुलभ उपचार पाउन सकेका छैनन्’, मुख्यमन्त्री शाहीले भने, ‘समायोजनपछि भएका डाक्टर पनि अन्यत्र पठाएकाले यहाँका अस्पताल चिकित्सकविहीन बनेका हुन्। कर्णालीका नागरिकले स्वास्थ्य उपचार पाउने अधिकारलाई केन्द्र सरकारले बुझोस्।’
संरचनात्मक रुपमा विकसित हुँदै गरेको प्रदेश अस्पतालमा बिरामीको संख्या बढीरहेका बेला चिकित्सक नहुनुले उपचारका लागि धेरै खर्च गरेर बाहिर जानुपर्ने बाध्यता आएको मुख्यमन्त्री शाहीले बताए। प्रदेश सरकारले प्रदेश अस्पताललाई तीनसय शैयाको शिक्षण अस्पताल बनाउने योजना अघि सारेको जानकारी गराउँदै केन्द्र सरकारले पनि सहयोग गर्नुपर्ने उनले आग्रह गरे। ‘संरचना र सामग्री व्यवस्थापन प्रदेश सरकारले गर्नसक्ला तर जनशक्तिको विकल्प छैन। त्यसैले केन्द्र सरकारले चिकित्सक पठाउनु जरुरी छ’, उनले भने।
पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य यामलाल कंडेलले दरबन्दीअनुसार चिकित्कर अपुग भइरहेका बेला केन्द्र सरकारले समायोजनका नाममा भएका चिकित्सलाई अन्यत्र पठाएर कर्णालीवासीको उपचार गर्न पाउने अधिकारलाई कुण्ठित गरेको आरोप लगाए। ‘व्यवस्था बदलिए पनि मानसिकता बदलिएन। अधिकांश चिकित्सकले प्रदेशमा बस्न चाहेनन्, केही चाहनेलाई पनि सरकारले अन्यत्र पठायो’, उनले भने।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले तंग्रीदै गएको अस्पतालमा चिकित्सक नहुँदा चाहेअनुसारको सेवा दिन नसकिएको बताए। क्षेत्रीय अस्पतालमा परिणत भएको १३ वर्ष पुगे पनि अहिलेसम्म दरबन्दीअनुसारका चिकित्सक पाउन नसकेको उनको भनाइ छ। ‘१४ वटा विभागमा ३० जना डाक्टरको दरबन्दी छ तर ६ जनामात्रै दिइएको छ। त्यसमा पनि तीनजनाको अन्यत्र सरुवा भइसकेको छ’, उनले भने, ‘बिरामीको चाप बढ्दैछ। डाक्टर नहुँदा उपचारका लागि आएका बिरामी फर्किनुपर्ने अवस्था छ।’
सुरु भयो सिटीस्क्यान सेवा
प्रदेश अस्पतालमा पहिलो पटक सिटीस्क्यान मेशिन आएको छ। स्वास्थ्य विभागको करिब अढाइ करोडलागतमा उक्त मेशिन जडान गरिएको हो। स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलबार सिटीस्क्यान सेवाको उद्घाटन गरेका हुन्। गतवर्षबाट आइसीयु सेवा सुरु गरेको अस्पतालमा यो सिटीस्क्यान सेवा सुरु भएसँगै प्रदेश अस्पताल आउने बिरामीलाई निजी अस्पतालमा धाउनुपर्ने बाध्यता हटेको छ। यस प्रदेशमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान र सुर्खेतका दुई नीजि संस्थामा मात्र यो सेवा छ।
‘जहाँ डाक्टर हुनुपर्ने हो त्यहाँ छैन, समायोजनले स्वास्थ्य क्षेत्रमा नराम्रो प्रभाव पारेको छ’, स्वास्थ्यमन्त्री यादवले भने, ‘आवश्यक स्रोतसाधन जुटाउँदै जानुहोस्, नपुगेको सहयोग संघीय सरकारले गर्नेछ।’ प्रदेश अस्पतालले फार्मेसीबाट बिरामीलाई १० प्रतिशत छुटमा औषधी उपलब्ध गराइरहेको पनि सो अवसरमा जानकारी दिइएको थियो।