गाउँमा गाडी पुग्दा स्थानीय खुसी
दार्चुला : जिल्लाको मालिकार्जुन गाउँपालिका- ४ हुनैनाथमा पहिलो पटक गाडी पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन्। जिल्लाका ९ वटा स्थानीय तहमा गाडी पुर्याउन निकै सकस भइरहेका बेला मालिकार्जुन गाउँपालिका- ४ का स्थानीयको सहयोगमा गाउँमा गाडी पुर्याइएको छ।
हुनैनाथ ४ का स्थानीय मदनसिंह धामीले बुधबार गाउँमा गाडी पुगाएर हुनैनाथ मन्दिरमा पूजाआजा गरेका छन्। गाडी चालक किसन भण्डारीले हुनैनाथ डाडाँकोट लाली सडकखण्डमा गाडी गुडाएपछि सोही ठाउँका स्थानीय तारा खत्री निकै हर्षित भए।
'यति छिटै हाम्रो यो गाउँ ठाउँमा गाडी पुग्ला भन्ने कल्पनासम्म गरेका थिएनौं, संयोग यहि ०७६ सालको वैशाखमै गाडी चढेर सदरमुकाम गएर बेलुका घर पर्किने सपना पूरा हुने भयो,' उनले भने।
अब मालिकार्जुन गाउँपालिका- ४ का स्थानीय बासिन्दाका दुःखका दिन गए। पानी बोक्न समेत झन्डै ३ घन्टा हिँड्नुपर्ने बाटोमा अब गाडीबाटै भए पनि पानीको समेत सुविधा भएको हुनैनाथका धनबहादुर खत्रीले बताए। सडक सञ्चालनमा आएसँगै जिल्लाको मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका समेत सड्क सञ्जालमा जोडिने भएका छन्।
यो सडक पूर्णरुपमा सूचारु हुनसके लेकम गाउँपालिका स्थानीयलाई समेत सहज हुने स्थानीय बताउँछन्।अहिले यस सडकमा जीप र ट्याक्टर मात्रै सञ्चालनमा ल्याउने मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले बताए। उनले भने, 'समयमै उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लिन पनि समस्या हुने गरेको थियो।खाद्यान्नको चपेटमा रहँदै आएको उक्त क्षेत्रमा अबदेखि केही राहत हुनेमा आशावादी छौं।'
हाल लाली सडकखण्ड निर्माण कार्य जारी छ। मालिकार्जुन गाउँपालिका- ५ मा सडक निमार्ण कार्य चलिरहेको सडक निर्माण समितिका अध्यक्ष मदन चन्दले बताए।
उक्त सडक निर्माणका लागि मालिकार्जुन गाउँपालिकाले चालु आवमा १ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको मालिकार्जुन गाउँपालिका- ५ का वडा अध्यक्ष तर्कराज ओझाले बताए। उनले भने,' सहरबाट गाउँ र गाउँबाट सहर बजार हिँड्ने बेलामा कठिनाइ भइरहेको अवस्थामा पहिलो पटक गाउँमा गाडी पुगेकोमा स्थानीय खुसी भएका छन्।'