वीरगन्जको नारायणी अस्पतालमा अख्तियारको छापा
वीरगन्ज : वीरगन्जमा रहेको नारायणी अस्पालमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर अस्पताल प्रशासनका कागजपत्र नियन्त्रणमा लिएको छ ।
हेटौंडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा आएको टोलीले अस्पतालमा छापा मारेको हो । औषधि र उपकरणको खरिद, कर्मचारी नियुक्ति लगायत विषयमा अनियमितता भएको खबर सञ्चार माध्यममा आएपछि बुधबार अख्तियारको टोलीले अस्पतालमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो ।
छापा मार्ने क्रममा अख्तियारको टोलीले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर एनामुल हकका साथै अस्पतालका कर्मचारीहरु विजय यादव, सचिन्द्र यादव र दामोदर पौडेलसंग झण्डै ५ घण्टासम्म सोधपुछ पनि गरेको थियो ।
सोधपुछपछि अख्तियारको टोलीले केही कागजातहरु लिएर हेटौंडा फर्किएको अस्पतालका कर्मचारीहरुले बताएका छन् । अस्पतालमा रहेको फार्मेसीका लागि सप्लायर्सले सस्तोमा ठेक्का सकार गरेको हाइड्रोजन परअक्साइड नामक रसायन, नारायणी अस्पताल प्रशासनले सप्लायर्स खरिद नगरी १३ गुणा भन्दा बढी मुल्यमा बजारबाट खरिद गरेको तथ्य केही दिन पहिले सार्वजनिक भएको थियो ।
चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि उक्त रसायन, महेश मेडिसिन सप्लायर्सले ६५ रुपैयाँमा आपूर्ति गर्ने ठेक्का सकारेको थियो । तर अस्पतालको स्टोर शाखाले त्यही रसायन ९ सय ४ रुपैयाँमा बजारबाट खरिद गरेको तथ्य सार्वजनिक भएको थियो ।
यस्तै अस्पतालको प्रयोगशालामा रहेको थाइराइड, बाँझोपन चेकजाच गर्ने करिब २२ लाख मुल्यको मेगलुमी ८०० मोडेलको किलिया मेशिन पनि तीन साता पहिले अस्पताल प्रशासनले साटेर चार लाख ५० हजार मुल्य मात्रको चाइनीज किलिया एनेलाइजर मेशिन ल्याएर प्रयोगशालामा राखेर खबर पनि सार्वजनिक भएको थियो ।
निमित्त मेसु हकले आफ्नो पदको फाइदा उठाउँदै अस्पतालको वार्डमा भर्ना भएका बिरामीको हेरचाह गर्नुपर्ने अहेवको नियुक्ति अस्पतालको फार्मेसीमा नियम मिचेर गरेको पनि आरोप लागेको थियो ।