डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी
मलंगवा : सर्लाही सदरमुकाम मलंगवामा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी भएको छ। शंकर चौधरीले संचालन गरेको स्टोरबाट बुधबार बिहान ६ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बिहान ४ बजेर ४० मिनेटमा चोर सटर तन्काएर भित्र पसेको र दुई मिनेटमै फरार भएको प्रहरी नायव उपरीक्षक प्रतित राठौरले जानकारी दिए। ६ जनाको समूहले चोरी गरेको सीसीटिभी फुटेजमा देखिएको छ। पाँचजना बाहिर बसेको र एकजनाले पैसा झिकेपछि भागेको देखिन्छ।
राति भएकाले चोरको अनुहार प्रष्ट नहुँदा प्रहरी अनुसन्धानमा कठिनाइ भएको छ। प्रहरीले अनुसन्धान सुरु भएको बताएको छ। सामान अर्डर दिएका व्यापारीलाई दिन राखिएको पैसा चोरी भएको स्टोरका सञ्चालक शंकर चौधरीले बताए।
‘समान आएपछि पैसा पठाउन साथीभाइसँग पैसा मागेर जम्मा गरेर राखेका थियौं’, उनले भने, ‘तर, त्यही पैसा चोरी भएपछि ठूलो क्षति भएको छ।’ चोरले १५ लाख राखेको घर्राबाट मात्र पैसा लगेको छ। अन्य घर्राका पैसा भने नछोएको चौधरीको भनाइ छ।
‘स्टोरको समानहरु पनि छोएको छैन’, चौधरीले भने, ‘कुनै नजिककै मान्छेबाट यस्तो घटना भएको हुनसक्छ।’ घर भन्दा पसल नै सुरक्षित हुन्छ भनेर त्यही पैसा राखेको उनको भनाइ छ।