खुसी र साथ हराएको बास
सिन्धुली : भूकम्पको कुरा गर्दा मरिण गाउँपालिका २ रातामाटा सिन्धुलीकी चोकमाया गुर्माछानको आँखाबाट आँसु रसाउँछन्। भूकम्पले जीवनका सारा खुसी उजाड बनाएको उनी बताउँछिन्। भूकम्पका कारण मिनेटभरमा घरसँगै साथको पति गुमाउनुपरेपछि चोकमायाका आँखाबाट कहिलै आँसु थामिएनन्। तर, बुढेसकालको सहारा भूकम्पले खोसेपछि एक्लै चार वर्ष बिताइसकेकी चोकमायाले आँसु चुहाउँदै बस्ने घर बनाएको एक वर्ष भयो।
चोकमाया पतिको मृत्यु खर्च र भत्किएको घर बनाउन सरकारले तीन लाख रुपैयाँ दिएपछि दुःखसुख गरेर बस्ने बास बनाए पनि पतिको साथ पाउन नसकेको बताउँछिन्। उनी भन्छिन्, ‘भूकम्पले ढलेको घर दुःखसुख गरेर बनाउन लगाएँ, अहिले त बास पाएँ, पतिको साथ कहिल्यै नपाउने भएँ। भूकम्पको दिन सम्झँदा मन थाम्न सक्दिनँ।’
२०७२ वैशाख १२ गते दिउँसो अबेर खेतबारीको काम गरेर चर्को घाम छल्न घरमै आराम गरिरहेका चोकमायाका पति बलबहादुर गुर्माछानको भूकम्पले घर ढाल्दा पुरिएर मृत्यु भएको थियो। ‘भूकम्पले घरसँगै जीवनको सहारा पनि सधैंका लागि ढालिदियो। अहिले त्यो दिन सम्झँदा सपना जस्तो लाग्छ,’ उनले भनिन्। चोकमाया पतिसँग बस्दै आएकी थिन्।
गोलन्जोर गाउँपालिकास्थित बासेश्वर सिन्धुलीका तुलसीबहादुर श्रेष्ठको पीडा पनि चोकमायाको भन्दा कम छैन। भूकम्पमा श्रेष्ठ ७० वर्षीया पत्नी बुद्धमाया श्रेष्ठ गुमेको क्षण सम्झन चाहँदैनन्। उनी भन्छन्, ‘खै त्यो दिन कसरी सम्झनु ? अहिले पनि कहाली लाग्छ।’
श्रेष्ठको भूकम्पले ढलेको घर स्थानीयले पुनर्निर्माण गरिदिएका छन्। ‘घर बने पनि घरमा बस्न साथ दिने पत्नी छैन। घरमा बस्न पनि मन लाग्दैन’, उनले भने। कमलामाई नगरपालिका २ का ज्ञानबहादुर श्रेष्ठको पनि भूकम्पले ढलेको घर बन्यो। तर उनी घरमा जाँदैनन्। छोराबुहारीका साथमा बस्दै आएका श्रेष्ठले भूकम्पमा पत्नी चित्रकुमारी श्रेष्ठ गुमाए। ‘बास पाइए पनि साथ गुमेपछि घरमा बस्न मन लाग्दैन। बुढेसकालमा कसैन कसैको सहारा चाहिन्छ। आफन्तकहाँ बसेर दिन काटिरहेको छु,’ उनले भने।
कमलामाई नगरपालिका १ की ४ वर्षीया बालिका रोनिसा मगरका आफन्त हरेक वर्षको वैशाख १२ गते कालो दिनझैं लाग्ने बताउँछन्। रोनिसाको पनि घरभित्रै पुरिएर मृत्यु भएको थियो।