बीआरआईका लागि विदेशी प्रतिनिधि पइचिङमा
पइचिङ : दोस्रो बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधिहरू पइचिङ आउने क्रम जारी छ ।
चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २४ तारिख बुधबार जन बृहत्सभा भवनमा अन्तर्राष्ट्रिय मुद्राकोषकी महाप्रबन्धक क्रिस्तिन लगार्दसँग भेट गरेका छन् ।
त्यसैगरी राष्ट्राध्यक्ष सीले बुधबार नै चिलीका राष्ट्रपति सेबास्तियन पिनेरा, इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलि, मोजाम्बिकका राष्ट्रपति फिलिप न्युसीसँग पनि सम्मेलनपूर्व भेटवार्ता गरेका छन् ।
चिनियाँ राष्ट्राध्यक्षको निमन्त्रणामा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, चिलीका राष्ट्रपति सेबास्तियन पिनेरा, मंगोलियाका राष्ट्रपति खाल्तमा बात्तुल्गा, पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दिजुसा, स्वीजरल्याण्डका राष्ट्रपति उएलाइ मौर्र, लाओसका राष्ट्रपति बौङहाङ बोराचिठको राजकीय भ्रमण हुने जनाइएको छ।
दक्षिण एशियाली राष्ट्र नेपालबाट राष्ट्रप्रमुख, पाकिस्तानबाट सरकार प्रमुख, श्रीलंकाबाट दुई मन्त्री, बंगलादेशबाट पनि मन्त्रीस्तरमा सहभागिता जनाउने भएको छ भने भारतको तर्फबाट कुनै पनि सहभागिता रहनेछैन । पाकिस्तानका प्रधानमन्त्री इमरान खान चारदिने भ्रमणका लागि बिहीबार पइचिङ आइपुग्ने भएका छन् ।
यसैबीच भारतको उक्त सम्मेलनमा सहभागिता नरहे पनि भारतीय विदेश सचिव विजय गोखलेले सोमबार २२ तारिख पइचिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका छन् ।
भेटमा चीन तथा भारतले एशियाली छिमेकी देशहरूलाई महत्व दिँदै साझा रुचिबाट मतभेद हटाउन रणनीतिक सम्पर्क, तथा राजनीतिक पारस्परिक विश्वासलाई बढाउन कदम चाल्ने वाचा गरेका छन् । भेटमा दुवै पक्षले गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा चिनियाँ राष्ट्राध्यक्ष सीबीच चीनको हुफे प्रान्तको ऊहानमा भएको अनौपचारिक शिखर सम्मेलनमा उठेको ऊहान स्पिरिटप्रति आफ्नो विश्वास दोहो¥याएका छन् ।
गोखले दुई दिने भ्रमणका लागि २१ तारिख पइचिङ आएका थिए। अर्थात् दोस्रो ‘बेल्ट एन्ड रोड’ अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुनेछैनन् । यस सम्मेलनमा ३७ मुलुकका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहनेछ भने समग्रमा १५० देशका साथै ९० अन्तर्राष्ट्रिय संगठनबाट ५ हजार प्रतिनिधिको सहभागिता रहनेछ ।
फ्रान्स, जर्मनी, बेलायत, स्पेन, जापान, दक्षिण कोरिया तथा यूरोपियन यूनियनबाट पनि उच्चस्तरीय प्रतिनिधि मण्डल आउने भएका छन् ।