अवैध उत्खनन् गर्नेमाथि कारवाही थालियो
विराटनगर : मोरङ र सुनसरीको सीमाना भएर बग्ने केशलिया खोलाको धार परिवर्तन गरेर अवैध रुपमा उत्खनन् गर्नेमाथि कारवाही थालिएको छ। विराटनगर महानगपालिका-४ स्थित इक्राही बस्ती छेउमा खोलाको धार परिवर्तन गरेर जथाभावी उत्खनन् हुन थालेपछि प्रहरीले कारवाही थालेको हो।
प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकननै नगरिकन स्काभेटर प्रयोग गरेर टिपर र ट्याक्टरबाट माटो तथा बालुवा वर्षौदेखि ओसारपसार भइरहेको छ। ठेकेदारले ह्युमपाइप राखेर खोलाको प्राकृतिक धार नै परिवर्तन गर्दै उत्खनन्का लागि मापदण्ड विपरित स्काभेटर, टिपर र ट्रयाक्टर परिचालन गरेको निस्कर्ष जिल्ला समन्वय समितिले निकालेको छ।
जिल्ला समन्वय अधिकारी रवीन्द्र वस्तीले पुल र वस्तीको ५ सय मिटर वरपर उत्खनन् गर्न नपाइने नियम रहेको जानकारी दिए। स्थानीय बाबुनन्दन यादवले जथाभावी उत्खनन्ले पुल र नजिकैका वस्तीहरु जोखिममा परेको बताए। खोला किनारको माटो उत्खन्नका कारण आफ्नो ४ कट्ठा साढे ७ धुरमा लगाएको सिसौका रुखहरु समेत लडेको उनको गुनासो छ।
स्थानीय दशरथ यादवले मापदण्ड विपरित माटो काट्ने र बालुवा निकाल्ने काम खोलाबाट बन्द गरिनुपर्ने माग राखे। अवैध उत्खनन्का कारण सामान्य वर्षा हुँदा पनि आउने बाढीले डुबानको समस्या निम्तन थालेको उनको भनाइ छ।
माटो बिक्री गर्दै आएका सुनसरीको बर्जु गाउँपालिका-१ का राचन्द्र कामतले खोला छेउमा रहेको ऐलानी जग्गाको नभइकन व्यक्तिको जग्गामा रहेको माटो निकालेर बिक्री गर्ने गरेको बताए। उनले जग्गाधनीलाई प्रति ट्रिप १ सय देखि १ सय ५० रुपैयाँका दरले रकम बुझाउने गरिएको दावी गरे।
वडा अध्यक्ष देवेन्द्रराज पोखरेलले अवैध उत्खनन् रोक्नका लागि महानगरलाई आग्रह गर्दै थप पहल गर्ने काम भइरहेको बताए। उनले जथाभावी माटो र बालुवा निकालिंदा यसले सिंगो विराटनगरललाई असर गर्ने उनको भनाइ छ।
प्रहरीले अवैध रुपमा उत्खनन्मा प्रयोग गरिएका स्काईभेटर, टिपर र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। अनटेष्ट स्काईभेटरसहित विराटनगर-४ का भोला यादवको को २ च ४६१५ र को २ च ८११३ नम्बरको ट्याक्टर, ना ५ ख ७४४५, को १ क १९६३, बा ८ ख ५९९४ नम्बरको टिपर र को १ त २७९१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले सबै ढुवानीका साधनलाई कारवाहीका लागि पठाएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले मापडण्ड विपरित खोलाको माटो र बालुवा खन्न प्रयोग गरिएका ढुवानीका साधनमाथि कारवाही थालिएको जानकारी दिए।
जिल्ला समन्वय अधिकारी वस्तीले स्काभेटरलाई ३ हजार ५ सय, टिपरलाई २ हजार ५ सय र ट्याक्टरलाई १ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने प्रावधान अनुसार कारवाही गरिएको बताए।