श्रीलंका आक्रमण : १६ संदिग्ध विदेशी पक्राउ
कोलम्बो : श्रीलंकाली सुरक्षा निकायले आइतबार भएका विस्फोटको अनुसन्धान क्रममा कैयौं इजिप्टेली र पाकिस्तानीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार सुरक्षाकर्मीले थप १६ शंकास्पद व्यक्तिलाई हिरासतमा लिएको छ। योसमेत पक्राउ परेका संदिग्धको संख्या बिहीबार ७६ पुगेको छ।
प्रहरीले भिसा सकिएपछि पनि अवैध रुपमा बसिरहेका कैयौं विदेशीलाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ। प्रहरीका अनुसार पाकिस्तानीको एउटा समूह नै पक्राउ परेको छ।
पक्राउ १६ मध्ये एकको सम्बन्ध आतंकवादी संगठनसँग रहेको प्रहरीले बताए पनि विवरण दिएको छैन।
पक्राउ परेका एक इजिप्टेलीसँग वैध भिसा वा राहदानी नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी कोलम्बोबाट ७० किलोमिटर टाढास्थित एउटा स्कुलमा अरेबिक शिक्षण गरिरहेका थिए। उनी ७ वर्षदेखि श्रीलंका बसिरहेका छन्।
श्रीलंकाली सुरक्षा अधिकारीले पूर्वी भूभागका धार्मिक गुरु मोहमद जाहरान विस्फोटका मुख्य योजनाकार भएकोमा विश्वस्त छन्।
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले एक आत्मघाती विद्यार्थी भिसामा परिवारसहित अस्ट्रेलियामा बसेको र सन् २०१३ मा अस्ट्रेलिया छाडेको बिहीबार जानकारी दिएका छन्। उनका अनुसार आत्मघातीको परिवारले उसको नाम अब्दुल लतिफ मोहमद जमिल बताएको छ।
आइतबार इस्टर मनाइरहँदा ३ सय ५९ जना मारिने गरी देशभरि भएका विस्फोटको जिम्मेवारी अन्तर्राष्ट्रिय आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) ले लिएको थियो।
राजधानी कोलम्बोबाट ४० किलोमिटर पूर्वको सहर पुगोडामा बिहीबार जिल्ला अदालतबाहिर विस्फोट भए पनि कुनै मानवीय क्षति भने भएन।
आइतबारका विस्फोटमा सुशिक्षित नौ श्रीलंकाली इस्लामिक आत्मघाती आक्रमणकारी युवाको संलग्नता रहेको समाचार सार्वजनिक भइरहेका छन्। तीमध्ये एक महिला रहेको पनि खुलेको छ।
श्रीलंकाली सुरक्षा अधिकारीले देशभित्रकै दुई इस्लामिक उग्रवादी समूह नेसनल तौहिद जमात र जमायतुल मिलातु इब्राहिमको कुनै अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग सम्बन्ध भए नभएको केलाइरहेका छन्।
श्रीलंकाली अधिकारीसँग अमेरिकाको एफबिआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन)ले समेत सहकार्य गरिरहेको छ।