गणतन्त्रका कमजोरी धेरै : बिजुक्छे
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संघीय गणतन्त्रमा धेरै कमी कमजोरी भएको औंल्याएका छन्।
भक्तपुरमा बिहीबार सुरु भएको तीनदिने भूकम्प इञ्जिनियरिङ र विपद्पछिको पुनर्निर्माणसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले संघीय गणतान्त्रिक सरकारमा बस्नेहरुले फरक मतलाई अस्वीकार गरेको समेत बताए।
‘बहुदलीय व्यवस्थामा हरेक विषयमा भिन्न मत हुनु स्वाभाविक हो’, उनले भने, ‘फरक मत, अभिव्यक्ति स्वतन्त्रता र छलफलबाट टुंगो लगाउने कार्यशैली नै बहुदलीय प्रजातन्त्रको सौन्दर्य हो।’
ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङद्वारा आयोजित सम्मेलन उद्घाटन समारोहमा अध्यक्ष बिजुक्छेले मौलिक एवं परम्परागत घर तथा भवन निर्माणमा जोड दिनुपर्ने विचार व्यक्त गरे।
‘कन्क्रिटको घर बनाउँदा हरेक ५०–१०० वर्षमा त्यसलाई भत्काउन नै धेरै लगानी गर्नुपर्छ’, उनले थपे, ‘यसरी भत्काएको वस्तुको व्यवस्थापन गर्न थप झन्झट व्यहोर्नुपर्ने छ।’
त्यसैले सरकारले पुरानै शैलीमा घर बनाउन जनतालाई उत्साहित गर्दै सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
अध्यक्ष बिजुक्छेले विदेशमा चोरी निकासी भइरहेको काठलाई सस्तो शुल्कमा जनतालाई उपलब्ध गराउनसमेत सरकारको ध्यानाकर्षण गरे।
यसले देशको सामान देशमै उपयोग भई सिमेन्ट, फलामे डण्डीलगायत खरिद गर्न विदेशिने रकम नेपालमै रहने उनको भनाइ थियो।
‘काठले बनेका घर भवनहरुको आयुसमेत लम्बिने छ’, उनले भने, ‘साथै कन्क्रिट घरमा बस्दा हुने रोगव्याधी आदिबाट समेत जनता बच्नेछन्।’
अध्यक्ष बिजुक्छेले इञ्जिनियरिङ कलेजहरुले पुरानै शैलीका घर बनाउने इञ्जिनियर, प्राविधिक, डकर्मी, सिकर्मी उत्पादनमा समेत ध्यान दिनुपर्ने सुझाव दिए।
त्यस्तै नेमकिपाका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले भूकम्पपछिको पुनर्निर्माणको जिम्मा स्थानीय सरकारलाई दिइनुपर्ने बताए।
उनले स्मार्ट सिटी, स्याटेलाइट सिटीको नाउँमा काठमाडौं उपत्यकामा करोडौं जनसंख्या बसाउने सरकारको नीति नै गलत भएको स्पष्ट गर्दै यसले विपद्मा थप क्षति हुने बताए।
सम्मेलनमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्रा. डा. प्रेमनाथ मास्केले भूकम्पपछिको पुनर्निर्माणमा परम्परागत गारोवाला संरचना विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन्। सोही क्याम्पसका अर्का प्रा. डा. सुदर्शनराज तिवारीले सहरी सम्पदा क्षेत्रमा संरक्षणको चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
त्यस्तै जापानका टोक्यो इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रा. डा. सुुसुमु कोनोले ढलान भवनको लचिलोपन, जापानी प्रयास र संघर्षका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
आयोजक ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले विपद्पछिको पुनर्निर्माणको योजनासम्बन्धी भएका विभिन्न अनुसन्धानका बारेमा अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए।
उनका अनुसार विभिन्न देशका अनुसन्धानकर्ता, प्राज्ञ र पेसाकर्मीलाई एकै स्थानमा उभिएर पुनर्निर्माणका बारेमा ठोस निष्कर्ष निकाल्ने सम्मेलनको उद्देश्य रहेको छ।
सम्मेलनमा भारत, चीन, जापान, बेलायत, दक्षिण कोरियाका १२ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्। १६ जना विदेशी प्राध्यापक, अनुसन्धानकर्ता र शोषकर्ताहरुको सहभागिता रहनेछ।
त्यस्तै नेपाल र अन्य मुलुकमा बसी अनुसन्धान र शोधकार्य गरिरहेका नेपाली प्राध्यापक र शोधनकर्ताका ५० वटा शोध प्रस्तुति गरिनेछ। सम्मेलनमा २५० जना प्राज्ञहरुको सहभागिता रहनेछ।
सम्मेलनकै बीच सहभागीहरुलाई भक्तपुर नगरपालिका क्षेत्रमा भइरहेको सम्पदाको पुनर्निर्माणको स्थलगत अवलोकन गराउने कार्यक्रम तय गरिएको जानकारी दिइएको छ।