एउटा आमाले गर्ने काम राज्यले गरेन

एउटा आमाले गर्ने काम राज्यले गरेन

मेरी आमाभन्दा कुशल व्यवस्थापक मलाई अरू कोही लाग्न छोडेको छ । मेरो पढाइ, लेखाइ, बुझाइ सम्पूर्ण उपलब्धि निरक्षर आमाको कौशल अगाडि रंगविहीन हुन पुग्छन् । हामी सानो छँदाका बाआमाले घर चलाउन लिएका चलाखीपूर्ण निर्णय सम्झेर म छक्क पर्छु । एउटा निम्न मध्यम वर्गीय परिवारका अनगिन्ती समस्या हुन्छन् । सबैका आकांक्षा एकैपटक पूरा गर्न सम्भव हुँदैन । एउटै छिमलका हामी सन्तान थियौं । कसको लुगा कतिबेला च्यातिन्थ्यो । कसलाई कलम, कापी, किताब कतिबेला चाहिन्थ्यो, पत्तो हुँदैनथ्यो । 

उहाँहरू कसैलाई जात्रामा त कसैलाई तीजमा लुगा सिलाइ दिनुहुन्थ्यो । जात्रा र तीजका बेला लुगा पाउनेले दसैंमा लुगा लगाउन नचिताए हुन्थ्यो । कसैको भाग नयाँ वर्षमा आउँथ्यो । दसैंंमा लुगा पाउने अरू बेला पुरानै लुगामा खुम्चिनुपथ्र्यो । दिदीले पढेको किताबमा बुबाले यसरी गाता लगाएर यसरी सुरक्षित बनाइदिनुहुन्थ्यो कि जुन किताबको सेट म त्यो कक्षा पुग्दा नयाँको नयाँ नै हात पथ्र्यो । अर्को वर्ष त्यही किताब मैले भाइलाई जस्ताको तस्तै हस्तान्तरण गर्नुपथ्र्यो । एउटा किताब तीन छिमलका लागि पर्याप्त हुन्थ्यो । अहिले आएर हेर्दा कुशल व्यवस्थापनको योभन्दा उच्च उदाहरण मैले पढेको छैन ।

 यो मजस्ता लाखौं परिवारको प्रतिनिधि उदाहरण हो । देश चलाउनु पनि यसैको बृहत रूप हो । कर्णालीलाई एक वर्ष प्राथमिकतामा पार्न सके मेचीमाथि एक वर्ष ढिलाइ गर्दा कति पनि अन्याय हुँदैन । मेलम्ची छिट्टै आए झापाको ट्युवबेल पानी बोरिङ योजना एकाध वर्ष घचेट्दा फरक पर्दैन । बाजुरामा गाडी पुर्‍याउन जरुरी छ भने विराटनगरको सडक पक्की बनाउन केही समय विलम्ब हुँदा कतै अग्राख पलाउँदैन ।

घरको एउटा कुशल मेनेजर देश चलाउन सुयोग्य हुन्छ रे ! जसरी भर्खरै जन्मिएको नवजात शिशुलाई पौडी पोखरीमा राखिदियो भने उ कुशल तरिकाले पौडिन सक्छ । हाम्रा नेताले ड्राइभिङ सिटमा बसेर देशलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन किन सकेनन् ? हो, उनीहरूको अग्निपरीक्षा घरबाट सुरु हुन्छ । अहिलेका कुनै नेता तेस्ता हुन् जसले आफ्नो घर सुरक्षित तरिकाले चलाउन सकेका हुन् ।

 महान् नेता भनिएका प्रचण्डले आर्थिक अभावमा पत्नी सीतालाई हातपात समेत गरेको उल्लेख छ । केपी ओली राष्ट्र बैंकमा काम गर्ने पत्नी राधिकाको भरमा जीवन गुजार्न बाध्य थिए । माधव नेपालको व्यवहार पत्नी गायत्रीले सम्हालेकी थिइन् । उनी स्वयं वाणिज्य बैंकमा नोकरी गर्थिन् । गृहमन्त्री हुँदा ५२ वर्षको उमेरमा घरजम गरेका शेरबहादुर देउवाको जीवन डा. आरजुसँगको विवाहपछि व्यवस्थित बनेको हो । डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमी धेरै पछिसम्म अलग बस्थे । 

अधिकांश मन्त्रीको सम्पत्ति विवरण हेर्नुस्, दाइजोमा आएको उल्लेख छ । यसको निचोड हो–घरपरिवारको व्यवस्थापनमा नेताहरू शून्य छन् । बाआमा रेखदेख, पालनपोषण, मायामोह कुन चरीको नाम हो, अत्तोपत्तो छैन । स्वार्थी र दलाल झुण्ड अनि उपहारमा आउने सामग्रीबाट आफू र पत्नी चिरिच्याँट्ट पर्न र पार्न जानेका यिनीहरूलाई घरपरिवारप्रतिको कर्तव्य थाहै छैन । प्रचण्ड र केपी ओलीका पिताजीमाथि यी भीभीआईपी सन्तानले यथोचित शिष्टाचार दिन नसकेको समाचार मिडियामा बारम्बार आउने गरेको छ । मेरी आमाको जति पारिवारिक व्यवस्थापकीय दक्षता यिनीहरूमा भइदिएको भए देश नसप्रिएको गीत गाएर हामीले हिँड्नैपर्ने थिएन ।

आमाका अभिव्यक्ति मेरा लागि अब बेद, कुरान, त्रिपिटक र बाइबलजस्तै बन्न थालेका छन् । उहाँका अभिव्यक्ति अक्षरले नभएर समयले कुँदिएका हुन जस्तो लाग्छ । त्यो अनुभवभित्र रगत, पसिना मिसिएको छ । लाखौं माइल बाटोको यात्रा छ । थुप्रै अक्करे भीर छन् । साउने झरीले ल्याएका उत्ताउला भेलका कहालीलाग्दा कथा छन् । समुद्र झैं शान्त अनि स्थिर संघर्षका पाइला छन् । समग्रमा सबै आयामभित्रको एउटा विश्वासिलो शब्दकोष लाग्छिन् मलाई मेरी आमा । कमाउन नपर्ने, उत्पादन बढाउन नपर्ने, युवा जनशक्तिलाई स्वदेशमा राख्नलाई प्रोत्साहन गर्न नपर्ने । ताली र फेसबुके लाइकका लागि मात्र भाषण गर्ने नेताको के काम जुन परिणाममुखी छैन भने । अन्धभक्त र विवेकहीन कार्यकर्ता पार्र्टीका लागि मात्र होइन, मुलुक प्रगतिका बाधक हुन् ।

दुई महिनाअघि पोखराबाट काठमाडौं जाँदै गरेको एउटा जिप जबर्जस्ती जामुनेमा रोकियो । रोकेपछि प्रहरीको ठाडो प्रश्न थियो– किन बाटो नछाडेको ? सवारी चालक अक्क न बक्क परे । ‘बाटो खाली नै थियो किन छोड्ने ? ’ उनले जवाफ दिए । प्रति उत्तरमा भीआईपीको सवारी हुँदा बाटो छोड्नुपर्छ कुरा थाहा छैन ? कुनै विद्यालयमा यो विषयमा पढाइ भएको थिएन । गणतन्त्र त्यसमाथि बहुलवादी व्यवस्थामा नेताभन्दा जनताको मूल्य बढी हुनुपर्ने हो ।

 प्रहरी जरिबानासहित चिट काट्यो र पठायो । एमए पास गरेर आफ्नै व्यवसाय गरेका जिपका धनी सोच्न बाध्य भए– के यो मेरै देश हो त ? यो त एउटा उदाहरण मात्र हो । पात्र फेरिए पनि चरित्र नफेरिएको ज्वलन्त उदाहरण हो । नेतृत्व भनेको ड्राइभर हो । तर जसलाई मन लायो उसले स्टेयरिङ समातेपछि अन्ततः हुने भनेको दुर्घटना नै हो । आज साधन ठीक हुँदाहुँदै पनि ड्राइभरको असावधानी र लापरबाहीका कारण देश दुर्घटनातर्फ फस्दैछ । संघीयता नामको सवारी साधनलाई गुडाउन नजान्दा बाटो पहिल्याउन सकेको छैन ।

अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको उदाहरण दिने गरिन्छ बेलाबेलामा । दासप्रथा अन्त्य गर्ने संकल्प लिएर राजनीतिमा होमिएका लिंकनले राष्ट्रपतिको शपथ लिए । पदको शपथ गरेर जब उनी औपचारिक सम्बोधनका लागि उभिएका थिए, प्रतिपक्षका एक सांसदले अपमान गर्ने उद्देश्य राखेर भने– ‘लिंकन, सौभाग्यवश तपाईं हाम्रो देशको सर्वोच्च पद प्रेसिडेन्टमा निर्वाचित हुनुभयो । तर यो सत्य कथंकदाचित नबिर्सनु होला कि तपाईंको पिता चमार हुनुहुन्थ्यो ।’ यसखाले अपमानपूर्ण कटाक्षलाई लिंकनले उत्तेजित हुनु सट्टा सहज भावमा लिए । 

बरु उनका आँखाबाट बरर्र आँसु छल्कियो । आँसुमिश्रित नजरमा सांसदलाई सम्बोधन गर्दै भने– ‘धन्यवाद महाशय, अमेरिकाको प्रेसिडेन्टमा चुनिएको खुसीमा मैले आफ्नो गरिब पितालाई बिर्सन पनि सक्थें । तपाईंले अति उपयुक्त समयमा मलाई मेरो गरिब पिताको याद दिलाउनु भयो । तपाईंलाई मेरो मुरी मुरी धन्यवाद छ । मेरो गरिब पिता तन, मन र बचनले प्रतिबद्ध तथा आफ्नो कर्मप्रति समर्पित पूर्ण चमार हुनुहुन्थ्यो । तर, म एक पूर्ण राष्ट्रपति बन्न कदापि सक्ने छैन । 

यस्तो लाग्छ कि एक अपूर्ण राष्ट्रपतिभन्दा एक पूर्ण चमार श्रेष्ठ हुन्छ । मेरो गरिब पिताले सिउनुभएको जुत्ता म देखिरहेको छु कि तपाईंले लगाउनु भएको छ । यदि त्यो कतै फाटेको छ भने भन्नुहोस् ताकि म सिलाइ दिउँ ।’ लिंकनको जवाफ सुनेर आरोप लगाउनेको शिर श्रद्धाले निहुरियो ।

सत्तामा बसेर दंग परेर भाषण मात्र गरेर समृद्धि आउँदैन । त्यसका लागि संस्कार र शिष्टता चाहिन्छ । पदमा बस्नेले कामले जवाफ दिने हो । प्रायः संघ र प्रदेशका मन्त्रालयमा ‘म भष्टाचार गर्दिन र भष्टाचार गर्न दिन्न ।’ तर यो सूचना आफैं जोकर बनेको छ । कथनी र करनी आनतान फरक छ । यदि यो सत्य इमानमा अनुवाद हुन्थ्यो भने एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण कसरी पुग्थ्यो र ? हाइलाइट

कर्णालीलाई एक वर्ष प्राथमिकतामा पार्न सके मेचीमाथि एक वर्ष ढिलाइ गर्दा कति पनि अन्याय हुँदैन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.