पलाताका हरेक वडामा एक बल, एक नेट
कालिकोट : कालिकोट जिल्लाको पलाता गाउँपालिकाका हरेक वडामा 'एक बल, एक नेट' वितरण गरिएको छ। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा समाजसेवी अर्जुन बमले कालिकोटको विकट पलाता गाउँपालिकाका हरेक वडामा एक बल र एक नेट वितरण गरेका हुन्।
हरेक वडामा भलिबल र नेट वितरण गर्दै समाजसेवी बमले हरेक युवाले कुलतमा नलागी खेलकुद क्षेत्रमा व्यवसायिकरुपमा लाग्न आग्रह गरे। उनले सामाजिक विकासबाट नै आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताउँदै पछिल्लो समय युवा विभिन्न खालका कुलतमा लाग्न थालेको र स्थानीय तहले त्यस विषयमा चासो नदेखाएको भन्दै चिन्ता व्यक्त गरे।उनले भने, 'हाम्रो समाजमा रहेका युवाहरु रचनात्मक कार्यमा नभई फुर्सदिला भएका छन्। जसका कारण युवाहरु कुदततिर केन्द्रीत भए। उनीहरुको सुन्दर भविश्य निर्माणका लागि हरेक क्षेत्रबाट अवसर सिर्जना गर्नु आवश्यक छ।'
खेल क्षेत्र राष्ट्रको गहना भएपनि यसमा प्रयाप्त लगानी नहुँदा ओझेलमा परेको छ। अहिले स्थानीय तहले पनि खेल क्षेत्रको विकासका लागि आवश्यक लगानी तथा बजेट बिनियोजन गरेका छैनन्।
उनले पलाताका युवालाई व्यवसायीक रुपमा खेल क्षेत्रमा लाग्न प्रेणा दिन आफूले व्यक्तिगत रुपमा हरेक वडामा नेट र भलिबल वितरण गरेको बताए। उनले भने, 'गाउँमा भलिबल र नेट पाइदैन्। कतिपय विपन्न समुदायका युवाले किनेर ल्याएर खेल्न पनि सक्दैनन्। खेल प्रति चासो भएपनि अवसरबाट बन्चित छन्।मोजाको बल खेलेर भलिबलको चाहाना मेटाउनुपर्ने बाध्यता छ।'
अब हरेक वडा कार्यालयमा राखिएको नेट र भलिबलले उनीहरुलाई ठूलो राहत हुनेछ। फुर्सदको समयमा उनीहरु वडा कार्यालयमा आएर मागेर खेल्ने र खेलिसकेपछि पुन वडामै राखेर जान सक्नेछन्।आफूले वितरण गरेको बल र नेटले स्थानीय तहलाई पनि खेलकुद क्षेत्रमा लगानी गर्न दबाब सिर्जना हुने उनको भनाई छ।