सिर्जनशील कसरी बन्ने ?
काठमाडौं : भाइबहिनी हो, तिमीहरूले विभिन्न लेखकले लेखेका कथा, कविता, उपन्यास, नाटक आदि थुप्रै साहित्यिक कृति त पढ्छौ नै होला। पाठ्यपुस्तक अनिवार्य रूपमा पढ्नैपर्छ तर यी कृति पढ्नैपर्छ भन्ने छैन। कतिपय ‘विकल्प’लाई आत्मसात् गर्न सके आफैंलाई धेरै फाइदा हुने हो। यी कृति त नपढे नि हुन्छ भन्नेहरू साँघुरो घेरामै जीवन बाँच्छन्।
साहित्यिक कृतिले हामी बाँचेको समाज प्रतिविम्बित गरिरहेको हुन्छ, जीवन र जगत् बुझाउने प्रयास गरेको हुन्छ। यस्ता सिर्जनात्मक कृति पढ्नु एउटा पाटो हो भने त्यस्तै कृति लेख्नु अर्को र विशेष पाटो हो। पढ्यो, ज्ञान लियो सकियो। तर लेख्यो भने कृति जन्मन्छ र भौतिक शरीर नरहे पनि लेखक कृतिसँगै बाँचिरहन्छ।
सिर्जना त गर्ने तर कसरी ? सबैको मनमा उब्जने प्रश्न हो यो। बालबालिकाका पाठ्यक्रम बनाउने विशेषज्ञले पनि विद्यार्थीको पढाइ तीन तहमा अभ्यास गराउनुपर्छ भनेर मनोरञ्जनात्मक, समीक्षात्मक र सिर्जनात्मक तहमा विभाजन गरेका छन्। सबै बालबालिका यसकारण पनि सिर्जनात्मक हुनुपर्छ। सिर्जना गर्न शब्दभण्डार बलियो हुनुपर्छ। शब्द जान्न र केही लेख्न अध्ययन जरुरी छ। तलका विषयमा ध्यान देऊ ल,
- जति धेरै पढ्यो त्यति नै धेरै सिर्जनात्मक हुने सम्भावना हुन्छ। सुरुआतमा आफूले दिनभरि गरेका कामबारे साँझ लेख्ने अभ्यास गर्नुपर्छ। कतै घुम्न गए त्यसबारे जानीनजानी लेखिहाल्नु पर्छ। जुनसुकै विषयमा पनि विभिन्न ढंगले सोच्न र भन्न सिक्नुपर्छ। घटनाबारे अरूलाई सुनाउने गर्नुपर्छ। जसरी सुनाइन्छ त्यही शैलीमा लेख्नुपर्छ। पछि सम्पादनमा बोल्ने र लेख्ने शब्द छुट्याउँदै माझ्ने काम गर्नुपर्छ।
- एक दिन बिहानै बाटोमा हिँडिरहँदा कक्षा १ मा पढ्ने गाउँबाट आएको बालकले थोत्रे डोकोमा भरिएको फोहोर देखाउँदै भने, ‘मलाई भन्नु त यो डोकोले फोहोर खान्छ ? ’ मैले भनेँ, ‘खाँदैन।’ उनले फेरि सोधे, ‘अनि किन त्यहाँ ‘फोहोर मलाई देऊ’ भनेर लेखेको त ? ’ बालसुलभ जिज्ञासाले कुनै पनि चिजबारे समालोचनात्मक ढंगले सोचेको यो एउटा उदाहरण हो। हरेक विषयलाई यसरी विश्लेषण गर्न खोज्नेले लेख्ने खुराक नयाँ र जति पनि पाउँछ।
· एउटा मान्छेका बारेमा सीधा बुझ्दा सामान्य लाग्छ तर ऊ कसैको बुवा कसैको छोरा, कसैको मामा कसैको भान्जा, कसैको शिक्षक कसैको विद्यार्थी, कसैको भिनाजु कसैको सालो, कसैको श्रीमान् कसैको ज्वाइँ आदि धेरै भूमिकामा हुन्छ। हामी कुनै विषयलाई पनि गहिरिएर बुझ्दैनौं, जुन विषयमा सतही ज्ञान हुन्छ तब के लेख्ने ? भन्ने प्रश्न मनमा आउँछ। कुनै कुरो लेखिहाल्ने बानीले लेख्न प्रेरित हुँदै जान्छ मानिस।
· सबैले नयाँ विषय भएर लेखेका होलान् भन्ने लाग्छ। पुराना विषयभित्र नयाँ विषय ल्याउन सकिन्छ जुन अर्कोका लागि पनि नयाँ हुन्छ। आफूले देखे, पढे, बुझे वा भोगेका विषय के नयाँ होलान् जस्तो लागेर धेरैले लेख्ने प्रयास गर्दैनन् तर होइन, त्यही कुरा अर्को भूगोल, समुदाय, विषय वा सोचका मानिसलाई नयाँ र महत्त्वपूर्ण खुराक हुनसक्छ।
- कथा कसरी लेख्ने भन्ने सिद्धान्त पढेर मात्र लेख्न सकिँदैन, त्यसका लागि लेख्न थाल्नैपर्छ, जसरी पौडी खेल्न वा साइकल कुदाउन अभ्यास गर्नैपर्छ। लेख्ने, सुनाउने अनि सच्याउने गर्दै जानुपर्छ, जबसम्म अरूले कथा राम्रो छ भन्दैनन्। जुनसुकै विषय पनि कथा, कविता आदि हुनसक्छ। थालनी रोचक होस्, पढूँ पढूँ लाग्ने अनि अन्त्य पनि चटनी जस्तो होस् जिब्रोमा स्वाद आइरहने।
- लेख्दा सरल शब्द र भाषा होस्। पात्रमा संवाद र द्वन्द्व होस्। पात्र परिचित लागून् अनि तिनैमार्फत यथार्थ वा कल्पना गरिएका विषय आऊन्। लेख्ने शैलीको विकास भएपछि सामान्य विषय पनि भव्य बनाउन सकिन्छ। त्यसले सुरुआतमा आफूले देखे, पढे र भोगेकै विषयबाट सुरु गरौं, सम्पादन र अभ्यासले क्रमशः लेखाइ तिखारिँदै जानेछ।