अध्यात्म र संसार
अध्यात्म तथा धर्मबारे मानिसका आआफ्नै बुझाइ छन्। कसैले ध्येय वा लक्ष्य मोक्ष प्राप्तिलाई मान्छन् र कोही स्वर्ग प्राप्तिलाई। त्यो अवस्था पनि मृत्युपछि प्राप्त हुने रूपमा मान्छन्। यो सुनिएका र पढिएका आधारमा मानिसले विश्वास र मान्यता बनाउँछन्। धर्मलाई सुस्वास्थ्य, सम्पन्नता तथा सुख प्राप्तिका लागि देवीदेवता, दैव, परमात्मा वा ईश्वरका नाममा गरिने आग्रह, पुकारका रूपमा लिन्छन्। मानिसले धर्मलाई परम्परा, संस्कार तथा देखासिखीका रूपमा गरिने कार्यका रूपमा पनि लिन्छन्, जस्तो– बिहान उठेर मन्दिर जाने, शंख, घण्ट बजाउँदै स्तोत्र–पाठ फलाक्ने, पुराण लगाउने, ग्रह शान्ति गर्ने, पूजा लगाउने आदि। अक्सर धर्मका नाममा मानिस बुझीनबुझी सम्मोहित पनि हुन्छन्, कोही इष्टदेवताका नाममा, कोही गुरुका नाममा, कोही तीर्थका नाममा, पुराणका नाममा त कोही देवीदेवताका नाममा।
मानिस अशान्त छ, दुःखी छ र स्वाभाविक जीवन जिउन उसलाई सकस पनि छ। ऊ मुर्छामा छ, बेहोसीमै धेरै समय बित्छ र सपना पनि बेहोसीकै उपज हो। मानिसको सम्मोहन एउटा विश्वास तथा आस्थाले जगाउने मनको स्थूल आयतनभित्रकै विषय हो। अध्यात्म तथा धर्मको वास्तविक पक्ष यो होइन। घरमा रुद्री–चण्डी पाठ गर्ने, पूजा लाउने वा व्रत बस्ने भन्ने तय भएपछि तुलनात्मक रूपमा घरका मानिस भावुक र केही शान्त पनि बन्छन्। अरू दिनको भन्दा बढी भावुक, दानी, अतिथि प्रेमी देखिन्छन्। किन अनायास मान्छे यस्तो अवस्थामा पुग्छ ? यो मनोदशा परिवर्तन वा भावावेग कहाँबाट आउँछ ? यसको उत्तर बुझ्न शरीर होइन, शरीर सञ्चालन गराउने मनका विभिन्न आयतन–अवस्था बुझ्नुपर्छ।
ती तहगत आयतन–अवस्था सबैमा छिपेर रहेका हुन्छन् र कुनै निश्चित अवस्था तथा परिवेशमा प्रकट हुन्छन्। हाम्रो शरीर स्थूल, सूक्ष्म र कारण रूपमा विद्यमान छ। स्थूल शरीर ठोस पदार्थको रूप सूक्ष्म शरीर ऊर्जा तथा शक्तिको रूपमा र कारण शरीर चेतना, बोध, चैतन्य तथा साक्षीको रूप–अवस्था हो। यी तीन रूपका शरीरलाई अध्यात्ममा पाँच कोषका रूपमा पनि बुझ्न सकिन्छ र यसलाई अन्नमय प्राणमय, मनमय, विज्ञानमय र आनन्दमय भनिन्छ। ऊर्जा र कारण शरीर दृव्यवान् हुँदैन। यी अवस्था हुन्– मनको अनुभवका र मनभन्दा परका।
स्थूलदेखि सूक्ष्म र अतिसूक्ष्म हुँदै कारण जगत्का अवस्थालाई लोक पनि भनिन्छ। कोष भन्नाले जीव विज्ञानको सूक्ष्म एकाइ होइन। यहाँ यसको अर्थ मनको अवस्था तथा अनुभूति हो, बोध हो। मन र शरीरको शुद्धताबाट आर्जित मानवभित्रको आन्तरिक ऊर्जाको उध्र्वगमनको अनुभूतिबाट प्राप्त अवस्था हो कोष र यो तलदेखि उच्च सोपानतर्पm जान्छ। पूर्ण स्थूल तथा भौतिक रूप अन्नमय हो भने परिष्कृत ऊर्जा चेतनामा रूपान्तरण भएको अवस्था आनन्दमय हो। यो द्वन्द्वरहित निद्र्वन्द्वको अवस्था पनि हो।
यो छलफल, तर्क, किताबी ज्ञान र सुनेका भरमा थाहा हुने नभई अभ्यासबाट अनुभवमा आउने विषय हुन्। जसले साधना गर्छ, अभ्यास गर्छ उसले मात्र अनुभव गर्छ। सात चक्र र सात शरीरका विषय पनि स्थूलबाट सूक्ष्मतातर्फ बढ्दा त्यो अन्तरयात्रामा सूक्ष्मरूपमा अनुभूत हुने कुरा हुन्।
यसको वेग अनुभव हुँदै जाँदा मान्छे अध्यात्मको उच्चतम सम्भावनातर्फ लम्किन्छ। शिव र शक्तिबारे हुने शास्त्रज्ञान पनि ऊर्जा र चेतनाको अवस्था हो। बुद्धको प्रज्ञा पनि चेतना हो, त्यसैले अध्यात्ममा विश्वास बढ्न साधना चाहिन्छ र साधनाको निरन्तरता र दृढताबाट विभिन्न प्रतिफलको महसुस हुन्छ। भौतिक जगत्का सम्भावनाहरूको जग प्रदूषित, भोगयुक्त र सांसारिक तथा मायामय जीवनमा पनि हुन्छ, कठोरता तथा जडताले भरिएको जीवनमा पनि हुन सक्छ।
धर्मका नाममा विनातुकका तर्क, अन्धविश्वास, अविश्वास र आडम्बरका अवस्थाले समाज र राष्ट्रलाई विकृत बनाएको छ।
त्यस्ता मान्छेले पनि प्रशस्त सम्पत्ति कमाउन सक्छन्, ठूलाठूला पद पाउन सक्छन्, नेता हुन सक्छन्, शक्तिशाली देखिन सक्छन्। तर आध्यात्मिक तथा धार्मिक उन्नति सूक्ष्मता र शुद्धतामा मात्र सम्भव छ। भौतिक उन्नति होहल्ला र धमाकाबीच हुन्छ, यसविपरीत अध्यात्मिक उन्नतिमा शान्ति, स्थिरता र मौनता चाहिन्छ। मानव जीवन प्राप्तिको ध्येय तथा उच्चतम सम्भावना भौतिकतामा छैन। त्यहाँ भ्रम छ।
यो जीवन उपार्जन र सृष्टिको निरन्तरताको माध्यम मात्र हो। संसार प्रत्यक्ष वा दृश्यवान् छ र त्यसको निरन्तरता छ, सृष्टि सञ्चालकले यही गुण र प्रकृतिका आधारमा सृष्टि रचेको छ र चलाएको छ। त्यसैले मानिस बढी भौतिकवादी छन्। यो बाध्यता पनि हो, प्रकृतिले सृजित गरेको बाध्यता। वास्तवमा मानिस प्रकृतिको दास नै हो। अध्यात्म प्रकृतिका गुण धर्मभन्दा माथि उठ्ने विषय भएकाले भौतिक प्रकृतिविपरीत अवस्था छ, टकराव छ। आध्यात्मिक उन्नतिमा अवरोध हुनुको कारण, यसमा निरन्तरता नहुनुको कारण र यो सबैले सहजरूपमा अभ्यास गर्न नसक्नुको कारण पनि यसबाट बुझ्न सकिन्छ। प्रकृतिका गुण धर्मलाई जित्न सक्ने सामथ्र्य सबैमा हुँदैन।
अध्यात्म तथा धर्मको सार र महत्व सत्वस्तुमा टिकेको छ, सत्य र सदाचारमा छ, शुद्धता र पवित्रतामा छ। त्यसैले त्यहाँ घृणा र अवहेलना होइन, प्रेम र करुणा हुन्छ। प्रकृतिको सहज रूप पनि शुद्ध छ। पञ्चतत्वको स्वाभाविक र प्राकृतिक रूप शुद्ध छ, मानवले यसलाई अशुद्ध बनाएको हो। त्यही प्रकृतिमै एउटा बुद्धको जन्म हुन्छ, राम, कृष्ण र ईसाको जन्म हुन्छ, नानकको जन्म हुन्छ। यिनीहरू कोही सम्प्रदायवादी होइनन्।
शुद्धता र पवित्रताबाट निस्किएका गुण र अवस्था हुन्, कलह र विकृत सम्प्रदाय होइन। मस्तिष्क, हृदय तथा आफ्नो समग्र प्रकृतिको शुद्धि र आन्तरिक चेतनालाई प्रबुद्ध बनाउनमै अध्यात्मको सार छिपेको छ। सबै धर्म साधनाको लक्ष्य तथा ध्येय पनि त्यही हो। बाहिरी जड अवस्था हट्दै गएपछि र विश्वास–अभिप्सा बलवान् हुँदै गएपछि अन्तर हृदयबाटै सहायता र पथ प्रदर्शन हुन्छ। ईश्वर आत्मामा छिपेको छ भनिएको रहस्य पनि यही हो।
चेतनाको जागरण, बोध र होस खुल्दै गएपछि मानस तथा चीत्त निर्मल हुँदै जान्छ र त्यस अवस्थामा जे अनुभव हुन्छ त्यो निर्मल हुन्छ र सत्य पनि हुन्छ। निर्मलता र सत्य भएपछि त्यहाँ स्वतः विनम्रता पनि हुन्छ। विनम्रता र समर्पणमा धर्म टिकेको हुन्छ। त्यो समर्पण सत्यका पक्षमा हुन्छ, प्रेम र करुणाका पक्षमा हुन्छ, दया र परोपकारका पक्षमा हुन्छ। धार्मिकताको परीक्षा यही आधारमा हुन्छ। तर अफशोच, आज धर्मका नाममा काटमार, घृणा, द्वन्द्व, कुन ठीक र कुन बेठीक भन्ने विनातुकका तर्क, अन्धविश्वास, अविश्वास र आडम्बरका अवस्थाले समाज र राष्ट्रलाई विकृत बनाएको छ, पिरोलेको छ। अध्यात्म तथा धर्म सही मानेमा नबुझेर, सही अभ्यास नभएर यस्तो भइरहेको छ। यसमा पण्डित, पुरोहित, धर्मगुरु, नेता र बुद्धिजीवीहरू सबै जिम्मेवार छन्।
समाजलाई चराएर गुजारी दिने व्यवस्था त जानेका छन्, तर सत्य उजागर गरेर मानव कल्याण गर्ने विषय दुर्लभ छ। यही कारण राजनीति, समाजनीति अर्थनीति पनि विकृत छ। आर्थिक मामिलामा भ्रष्टाचार छ, सामाजिक विकृति र असन्तुलन छ, शिष्टाचारका ठाउँमा पापाचार र दुराचार छ। धर्मका नाममा युद्ध र हिंस्रक हमला भइरहेका छन्। धर्मकै नाममा उग्रवादी र विखण्डनकारीका जन्म पनि हुन्छन्।
अध्यात्मलाई विभ्रमित गराएर धर्म सम्प्रदाय खडा गरिएको छ। यो दानव प्रवृत्ति हो, मानव प्रवृत्ति होइन। भोगवादी, अहंकारी र स्वार्थीहरूले अध्यात्म र धर्मको लेप लाउँदा यो उत्पात भएको हो। राजनीति पनि यसरी विकृत हुँदैन, भ्रष्ट आचरण पनि हुँदैन। किनकि यसमा शुद्धता, पवित्रता र सदाचारको जग हुन्छ। यसलाई बुझौं, मनन गरौं।