मिसोजेनीको समाजशास्त्र

मिसोजेनीको समाजशास्त्र

अलि बढी फिल्म हेर्नुपर्ने म। एक मित्रले हिन्दी फिल्म ‘आम्दानी अठ्ठन्नी खर्च रुपैयाँ हेर्न सुझाए। १८ वर्षअघि रिलिज फिल्मबारे सुनेको, तर हेरेको भने थिइनँ। राघवेन्द्र राव निर्देशित ‘कमेडी’ फिल्म पूरै हेरें, धेरै दृश्य त दोहोर्‍याएर हेरें। फिल्ममा महिलालाई तल्लो स्तरमा राखिएको छ, जसले ‘मिसोजेनी’ वा स्त्रीप्रतिको हेपाह प्रवृत्तिवादको समाजशास्त्र खोतल्न मन लाग्यो। भनिन्छ चलचित्र, कथा, नाटक तत्कालीन समाज बुझाउने ऐना हो। कुनै पनि महिला मन नपराउने वा घृणा गर्ने भावना ‘मिसोजनिज्म’ अर्थात् स्त्री हेलाँवाद हो। यो भावना व्यवहारमा अनेक किसिमले प्रकट हुने गर्छ, यौनका आधारमा महिलालाई अपहेलना गर्ने, नकारात्मक सोच राख्ने पुरुष सर्वश्रेष्ठ हुन् भन्ने गरी लिइन्छ। महिलालाई यौन खेलौना, बच्चा जन्माउने मेसिन तथा घरभित्रको कामको ठेकेदार मान्नु हो।

‘मिसोजेनी’ शब्द प्राचन ग्रिकको शब्दबाट आएको हो। जसको अर्थ हुन्छ, महिलाप्रतिको घृणा। मानव उत्पत्तिको मिथकबाट मिसोजेनी सुरु भएको छ। महिलाविरोधी विषय आउँदा मनुस्मृतिलाई नसम्झने कुरै भएन। स्त्रीलाई दासका रूपमा जसरी राख्न पनि मिल्ने, पतिले पत्नीलाई त्याग्न, कंगाल बनाएर राख्न वा बेच्न पनि सक्नेलगायतका अति संवेदनाहीन भएर व्याख्या छ। मनुस्मृतिले महिलालाई पशुभन्दा तल्लो स्तरको स्वतन्त्रता दिन नमिल्नेको रूपमा राखेको छ। सबैभन्दा खतरनाक ‘मिसोजनिस्ट’ मनु हुन्, जसले मनुस्मृतिमार्फत अनेकौं मिसोजनिस्टिक अवधारणालाई सनातनी सामाजिक कानुनका रूपमा विकास गरे।

दार्शनिक रुसोले आफ्नो ग्रन्थमा लेखेका छन्, ‘कुनै न कुनै तर्क वा कारणका साथ जसरी पनि स्त्री जातिमाथि अनेक बोझहरू लाद्ने काम गर्नुपर्छ। स्त्री जातिलाई बाल्यकालदेखि अनेक अप्ठ्यारामा बस्न योग्य बनाउ ताकि उनले आफूलाई पुरुषसमक्ष समर्पित गरून्।’ उनको अन्य भनाइमा स्त्रीलाई घरमा बन्द गर्नुपर्ने, चर्चको समान पिता अथवा पतिको निर्णय मान्नुपर्ने भनेका थिए।

एरिस्टोटलले स्त्री जाति भनेको पुरुषकै ‘खराब स्वरूप’ हो भनेका थिए। उनले राजनीति नामक पुस्तकमा लेखेका छन्, ‘पुरुषहरू स्वभावैले ‘सुपेरियर’ हुन्छन् र स्त्रीहरू ‘इन्फेरियर’ हुन्छन्। पुरुषहरू शासक हुन जन्मेका र स्त्रीहरू शासित हुन जन्मेका हुन् भन्ने उल्लेख गरेका थिए। प्रोफेसर कार्ल भोग्टले त ‘स्त्री जातिहरू पशुको नजिकका मनुस्य हुन्। त्यसैले बौद्धिक रूपमा उनीहरू कमजोर हुन्छन् समेत भन्न पुगे। फ्रेडरिक नित्सेले ‘संस्कृतिको विकासनिम्ति स्त्री जातिलाई कठोर किसिमले नियन्त्रणमा राख्नुपछ। तिमी कुनै स्त्री जातिलाई भेट्न जाँदै छौ भने कोर्रा पनि लैजान नभुल्नू।’

समाजमा व्याप्त कुरीतिले महिलालाई मात्र होइन, सिंगो समाजमाथि नै नकारात्मक प्रभाव पारिरहेको छ।

यी महान् दार्शनिकहरू ‘मिसोजेनिस्ट’ थिए भन्ने उनीहरूको कार्यबाट थाहा हुन्छ। उनीहरूजस्ता विद्वान्को बिचार रट्दै पढ्दै आएका बौद्धिक र त्यही ज्ञानबाट दीक्षित समाजमा स्त्रीलाई पशुतुल्य ब्यवहार गर्नु वा गर्नलाई प्रोत्साहन गर्नेलाई अनौठो नमानिएको होला। समाजशास्त्री एलन जी. जोन्सोनका अनुसार मिसोजेनी महिला भएकै कारण महिलालाई घृणा गर्ने सांस्कृतिक दृष्टिकोण हो किनभने उनीहरू महिला हुन्। यो कुनै सामाजिक मूल्यको रूपमा धारणा बनेर बसेको खतरनाक हतियार हो। उनि भन्छन्, यौनवाद पूर्वाग्रही विचारधाराको केन्द्रीय भाग हो जस्तै, पुरुषप्रधान समाजमा महिलाको दमनको आधार हो। मिसोजेनी धेरै तरिकाबाट प्रकट भएको छ जस्तै मजाकहरू।

त्यस्तै अर्का समाजशास्त्री माइकल फ्लड तर्क गर्छन्, यो पुरुषमा आमरूपमा व्यापक छ त्यति मात्र होइन, महिलाद्वारा अन्य महिला कहाँसम्म भने आफ्नैविरुद्धमा मिसोजेनीको अभ्यास हुन्छ। महिला भएको पटक्कै मन नपरेको कुरासमेत प्रकट हुन्छ। यो पितृसत्तात्मक प्रणाली व्याप्त भएको घर समाजदेखि कार्यालयहरूमा हजारौं वर्षदेखिको संस्कृतिमा निहित रहेर दैनिक नीति निर्माणदेखि घर समाजमा गरिने निर्णय प्रक्रियामा जताततै उजागर हुने गर्छ। फ्लडका अनुसार, ‘मिसोजनिस्टिक भावना’ विकसित मुलुक भनिएको अमेरिकी हलिउड चलचित्रदेखि युरोपका आधुनिक उपन्यास वा कथाहरूमा समेत व्याप्त देख्न सकिन्छ।

नेपालमा मिसोजेनीका सवालमा प्रमाण पेस गर्नु जरुरी छैन। छताछुल्ल रूपमा दैनिक बालिका, किशोरी, युवती, वृद्धामाथि हुने दुव्र्यवहार, हिंसाका समाचार आइरहेका छन्। बिहान उठेदेखि राति ननिदाउन्जेल प्रत्येक ब्यक्तिले आफ्नो दैनिकी नियाल्ने हो भने कति मिसोजेनी फेला पर्छ। कदमकदममा नेपाली महिला पुरुषभन्दा फरक यौनांगका कारण दमित र घृणित छन्। नेपाली चलचित्र, मासमिडिया पनि मिसोजेनी व्याप्त छ। चलचित्रभित्र र बाहिर महिला रंगकर्मीलाई सहज छैन भन्ने समाचार पनि पनि नौलो होइन। महिलालाई कैयन् मासमिडियाले वस्तुका रूपमा प्रस्तुत गरेको छ। माथि उल्लेख भएको जस्तै हिन्दी फिल्ममा मात्र होइन नेपाली चलचित्रमा अधिकांशमा मिसोजेनी देखिन्छ।

मासमिडियामा काम गर्ने महिलामाथि हुने दुव्र्यवहार पनि प्रशस्त देख्न र पढ्न पाइन्छ। नेपाली राजनीतिमा पनि प्रशस्तै मिसोजेनी घटना बाहिर आइसकेका छन्। महिलालाई आरक्षणको कुरा, ५१ प्रतिशत महिलाका लागि सिट संख्या, पार्टीभित्र उनीहरूको हैसियत आदि यसका उदाहरण हुन्। भर्खरै नेपाल कम्युनिस्ट पार्टीको एकीकरणमा महिलाले महत्वपूर्ण पदमा स्थान नपाउनु ताजा उदाहरण हो। यसबारेमा पनि धेरै बोल्नुपरेन।

परिवारभित्रको मिसोजेनी डरलाग्दो रूपमै छ। सामाजिक संस्था र संरचनाले मिसोजेनीलाई आकार दिएका छन्। मिसोजेनी हरेक पुरुष र केही महिलामा धर्म, दार्शनिक, मासमिडिया, शिक्षा, समाजमा विद्यमान छ। यसैबाट आएको बलियो अवधारणा हो। नेपालका प्रायः सबै समाजमा पितृसत्ता रहेको छ। मिसोजेनीका उदाहरणका रूपमा बोक्सी प्रथा, छाउ प्रथा, कुमारी प्रथा, घरेलु हिंसा, बलात्कार, दुब्र्यवहार, कार्यस्थानमा हुने शोषण, अपहेलना, आमाको नामबाट नागरिकताको सवाल, दाइजो, चेलिबेटी बेचबिखन आदि। समाजमा कुरीतिका रूपमा परिभाषित यस्ता क्रियाकलापले महिलालाई मात्र होइन, सिंगो समाजमाथि नकारात्मक प्रभाव पारिरहेको छ। त्यसैले मिसोजेनीलाई सबैले गम्भीर रूपमा लिएर यसको अवधारणा बुझन जरुरी छ।

बोहरा त्रिवि समाजशास्त्र विभागमा एमफील अध्ययनरत छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.