एक्रेलिक धागोलाई बंगलादेशमा अनुमति
काठमाडौं : बंगलादेशले नेपाली एक्रेलिक धागोको आयात खुला गरेको छ। झण्डै १६ वर्षपछि बंगलादेशले बंगलाबन्दको बाटो हुँदै नेपालबाट एक्रेलिक धागो आयातको लागि बाटो खोलेको हो। बंगलादेशले सन् २००२ देखि नेपाली धागो आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। आयातको बाटो खुला गरेको भए पनि नेपाली धागो उत्पादकलाई कुनै लाभ नहुने उत्पादकको भनाइ छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार बंगलादेश सरकारले ‘एक वर्षको परीक्षण काल’ राखेर सन् २०१९ मा नेपाली धागो आयात गर्ने निर्णय गरेको हो। ‘धागो आयातको लागि बंगलादेश सरकारले केही शर्त राखेको छ, यही शर्तभित्र रहेर एक्रेलिक धागो निर्यात गर्ने व्यवस्था भएको हो’, सहसचिव ढकालले भने।
गत चैत २२ मा बंगलादेश सरकारले उक्त निर्णय गरेको थियो। नेपालका धागो उत्पादक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि बंगलादेशमा धागो निर्यात गर्नका लागि लबिङ गर्दै आएको थिए।
अहिलेको निर्णयले नेपालले बंगलादेशतर्फ एक वर्षको लागि मात्रै धागो निर्यात गर्न पाउनेछ। बंगलादेश सरकारलाई शंका लागेको अवस्थामा कुनै पनि बेला नेपाली धागो आयातमा प्रतिबन्ध लगाउन सक्नेछ।
उता बंगलादेश सरकारले बन्डेड वायर हाउसको सदस्य भएको नाताले मात्रै नेपालबाट धागो आयात गर्न अनुमति दिएको बताएको छ। धागो आयातका लागि एउटा अनुगमन समिति गठन गर्ने शर्त पनि तेर्साएको छ। ‘अन्य नाकाबाट निर्यात सुविधा यथावतै भए पनि बंगलाबन्द मार्गबाट ठप्प थियो,’ उपसचिव तिबारीले भनिन्, ‘तर, अहिले शर्तसहित बंगलाबन्द नाकाबाट निर्यात गर्न पाउने बाटो खुला गरिएको हो।’ उनका अनुसार बन्डेड वेयरहाउस लाइसेन्स भएकाले शून्य र लाइसेन्स नभएकाले १० प्रतिशत ‘तारिफ’ तिर्नुपर्छ।
उनकाअनुसार यसअघि वेनापोल पोर्टबाट नियमित रूपमा एक्रेलिक धागो निर्यात भएको थियो। तिबारीले बंगलादेश सरकारले सन् २०१५ को जनवरी १ देखि बंगलाबन्द नाकामार्फत नेपाली धागो र आलु आयातमा प्रतिबन्ध लगाएको जानकारी दिइन्। बंगलाबन्द काँकडभिट्टा नजिकै पर्छ।
बंगलादेशसँग नेपालको कुल व्यापार घाटा करिब पाँच अर्ब रुपैयाँ बराबर छ। दैनिक डेढ करोड रुपैयाँबराबरको आयात बंगलादेशबाट हुन्छ। नेपाली धागो आयातमा बंगलादेशले कुनै अवरोध नगरे नेपालबाट पाँच अर्ब रुपैयाँबराबरकै नेपाली धागो निर्यात हुने धागो उत्पादक व्यवसायीको भनाइ छ। नेपालमा मासिक १५ अर्ब रुपैयाँबराबरको पाँच हजार मेट्रिक टन धागो उत्पादन हुन्छ।
बंगलादेश सरकारले नेपाली एक्रेलिक धागो आयात गर्न बाटो खुला गरे पनि उक्त धागोको माग बंलादेशमा नरहेको धागो उत्पादकको भनाइ छ। नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बंगलादेशमा नेपाली धागो आयातको बाटो खुला गरेर ‘ललिपप’ देखाएको आरोप लगाए।
गोल्यानकाअनुसार बंगलादेशमा पोलिस्टर र भिस्कोषको माग अत्यधिक छ। यो धागो नेपालमा प्रसस्त उत्पादन हुन्छ। यसको आयातलाई बंगलादेशले अझै अनुमति दिएको छैन।
संघका सदस्य शशिकान्त अग्रवालले सरकारले भरपर्दो लबिङ नगर्दा नेपाली उत्पादन बंगलादेश निर्यात नहुने तर बंगाली सामानको आयात बर्सेनि बढ्दै जाँदा बंगलादेशसँग व्यापार घाटा वृद्धि हुँदै गएको जानकारी दिए। बंगलादेशले नेपाली उत्पादनमा कस्टम ड्युटी, इन्कम ट्याक्स, सप्लिमेन्ट्री ड्युटी, भ्यालु एडेड ट्याक्स, एड्भान्स इन्कम ट्याक्स, रेगुलारिटी ड्युटी र एड्भान्स ट्रेड भ्याट भनेर ६ प्रकारको कर लगाउँदै आएको छ। तर नेपालले भने दुई प्रकारको मात्रै कर लगाएको छ।
केही महिनाअघि राजधानीमा सम्पन्न नेपाल–बंगलादेश चौथो वाणिज्य सचिवस्तरीय बैठकमा नेपालले नेपाली धागो निकासीलाई प्रमुख एजेन्डाका रूपमा उठाएको थियो। बैठकले चिया, कफी, अलैंची, अदुवा, औषधिजस्ता वस्तु, कुचो, फलफूल, धागो, दाल, पश्मिना, हस्तकलाका सामग्रीलगायत तुलनात्मक लाभका उत्पादनलाई बंगलादेश प्रवेशमा भन्साररहित सुविधा उपलब्ध गराउन आग्रह गरेको थियो।