गोडामा सिन्दूर

गोडामा सिन्दूर

जन्मघर छाड्दा दंगीशरण गाउँपालिका-३, हेकुलीकी बजारी चौधरी १३ वर्षकी थिइन्। गाउँमा सबैले रानी भन्थे। धपक्क बलेको अनुहार अनि टम्म मिलेको जीउ। बिहे भएर कर्म घर गएको एक सातामा उनी फेरि जन्मघर नै फर्किइन्।  थारू जातिमा विवाह गरेको एक सातापछि माइत फर्कने प्रचलन थियो। 

उनी माइत फर्केलगत्तै बाआमाले उनलाई गाउँदेखि तीन किलोमिटर पर नन्द्रागाउँमा गोदना (ट्याटु) खोपाउन लगे। भर्खर बिहे गरेका लोग्ने धेरै वर्ष बाँच्छन् भन्ने सुनाएपछि दुख्ने भए पनि उनलाई गोदना खोप्न मन लागेर आयो। ‘सातवटा सियोलाई एउटैमा राखेर खोप्दा दुखेर हैरान भयो’, उनले सम्झिन्। पाँच घण्टासम्म खोपेपछि उनको एउटा गोडो तयार भयो।

 उनको जीवनको सौभाग्य बनेर गोडामा मयूर नाच्न थाल्यो। प्रेम र यौनको प्रतीकका रूपमा सबैले मयूर नै खोपाउँथे गोडामा। गोडाबाट रगत मात्रै बगेन, सुन्निएर उठ्न बस्नसमेत गाह्रो भयो। गोडा लागेनन् र घरमा जानै सकिनन्, गाउँमै बसिन्। अर्को गोडा कसरी खोप्ने होला भन्ने सम्झेर रातभर डरले निदाउन सकिनन्।

डरैडरमा अर्को दिन पनि आयो अनि उनको गोडा पनि खोपियो। पहिलेजस्तै पीडा भयो अनि थौरै रोमाञ्चकता पनि। ‘बूढालाई सम्झेपछि धेरै दुखेन’, उनले भनिन्। दुईवटै गोडामा मयूर नाच्न थालेपछि उनको पीडा दूरदूर भयो, उनी पनि मयूरजस्तै नाच्न थालिन्। ‘गोडा खोपेर घर गएपछि बूढा धेरै खुसी भए’, उनले भनिन्। त्यो बेला दुई दिन लगाएर दुई रुपैयाँमा उनले खोपेकी थिइन्। ‘खप्टाका पैसा दिएको हुँ’, उनले भनिन्।  यस्तै सुखको अनुभूति छ सोही ठाउँमा बस्ने रुइनी चौधरी (६३) को पनि । गाउँमा विवाह गरेका सबैले गोडामा ट्याटु खोपेपछि रुइनी चौधरीलाई पनि खोप्न निकै रहर लाग्यो।

गोडामा यौन र प्रेमको प्रतीकका रूपमा मयूरको चित्र खोपे पनि हातमा भने फरक-फरक चित्र खोप्थे। 

गाउँदेखि तीन किलोमिटर टाढा अर्को गाउँमा गएर गोडामा खोपाइन्। ‘मस्तै दुखे पनि खोप्नै पर्‍यो’, उनले भनिन्। ‘अरू गहनालाई मान्छेले मर्दा छाडेर जान्छ तर यो आफैंसँग लान्छ’, उनले मुख मीठो पारिन्। उनले पनि श्रीमान्लाई आँखामा राखेर  पीडा सहँदै खोपेकी थिइन्। ‘बड्डाका लागि बनाएको हो, एक दुई दिन दुख्ने त हो नि’, उनले खुसी व्यक्त गरिन्। चौधरीले एक महिनासम्म गोडा सुन्निएर हिँडडुल गर्न असजिलो भएको बताइन्। ‘रगत बगेर कस्तो धौ भयो’, उनले बिर्सन सकेकी छैनन्। रुइनीका अनुसार गोडामा खोपेपछि त्यसलाई गोबर र पिनाले सफा गरिन्थ्यो। ‘गोबरले घाउ निको हुन्छ भन्थे’, रुइनीले भनिन्। त्यसपछि गोडामा दुबोलाई थिचेर त्यसको रस लगाउनुका साथै तेल र बेसारसमेत लगाइने गरिन्थ्यो। सबैको कारण घाउ नपाकोस् भन्ने हुन्थ्यो। 


 चैलाहीकी कजली चौधरी (८६) को १५ वर्षको उमेरमा बिहे भयो। त्यति बेलाको थारू संस्कारअनुसार उनी विवाहको सात दिनमै घर छाडेर माइत गएर बसिन्। माइतमा सबैले उनलाई गोदना लगाउन कर गरे। थारू महिलाका लागि सौभाग्यको प्रतीक थियो गोदना। अरू जातिका मान्छेले गोडाको सिन्दूर भन्थे। तर सिन्दूर लगाउनु जत्तिको कहाँ सजिलो थियो र गोदना लगाउन !

‘अरूले खोपेको देखेर मलाई डर लाग्यो’, सातवटा सुइयोले एकैपटक नरम छालामा खोप्ने कुरा सम्झेर उनको आङ सिरिंग हुन्थ्यो। गोदना खोप्न डराएपछि उनलाई धेरैले भगवान्ले श्राप दिने कुरा पनि भने। कतिले श्रीमान् मर्छन् पनि भने। जसले जे भने पनि उनले खोप्न हिम्मत गरिनन्। ‘हातमा खोप्दा मर्ने गरी दुख्यो अनि गोडाभरि नै खोप्दा कति दुख्ला भनेर खोप्नै सकिनँ’, उनले भनिन्। हातमा थोरै खोप्दाको पीडा सम्झेर उनी साँझ नै गाउँबाट भागेर घरमा आइन्। अरूका श्रीमतीको गोडाभरि गोदना देख्दा उनका बूढालाई पनि आफ्नी बूढीले खोपोस् भन्ने लाथ्यो। धेरैपटक उनलाई कर पनि गरे तर जसले जे भने पनि खोप्न सकिनन्। ‘मैले दुःख पाएर बूढालाई कसरी राम्रो हुन्छ ?’ कलजीले भनिन्। 

 थारू समुदायको पहिचानका रूपमा रहेको गोदना अहिले इतिहासजस्तै भएको छ। अहिलेका युवतीले गोदनामा ध्यान नदिएको तुलसीपुर-१७ की सबिता दहितले बताइन्। ‘गोदना भनेको आफूलाई मन परेर बनाउने कुरा हो, श्रीमान्का लागि किन लगाउने ?’ उनले भनिन्, ‘आफ्ना शरीरमा के गर्ने भन्ने कुरा त आफ्नै अधिकार हुन्छ नि।’ उनका अनुसार थारू समुदायका युवतीहरूले आधुनिक ट्याटु खोप्न थालेका छन्। 

थारू समुदायका महिलाले गोदना लगाउने कुराको सुरुआतका बारेमा रमाइलो गाथा भएको बताउँछन्, संस्कृतिविद् अशोक थारू। लाखी गाथामा उल्लेख भएबमोजिम घोर्से मगर राजाले युद्धमा अनेक प्रयास गर्दा पनि पराजय भोग्न थाले। कसरी युद्ध जित्न सकिन्छ भन्नेबारेमा मन्त्रिमण्डलमा व्यापक छलफल भयो। सबैले आआफ्ना राय दिए। त्यसै क्रममा त्यहाँ महिला सेनापति लाखीलाई ल्याएमा युद्ध जित्न सकिने छलफल भयो र सबै त्यही निष्कर्षमा पुगे। उनीहरूको अनुरोध स्वीकार गरेर लाखी युद्धका लागि तयार भएर युद्ध लडछन् अनि जित्छिन् पनि। युद्ध जितेपछि लाखीले शत्रु र सेनाको रगतले पैतालादेखि माथि र घुँडाभन्दा तलको भाग सजाउँछे र सोही कुराबाट वीरताको प्रतीकस्वरूप गोदनाको सुरुआत भएको उनको कथन छ। 
 

दुई दशक जति भयो, अहिले गोदना थारू जातिका लागि ऐच्छिक भएको छ। प्रेम, त्याग र वीरताको विम्ब मानिने गोदना थारू समुदायबाट लोप भइसकेको छ। ‘अन्य जातिले जस्तै कुनै चित्र कुनै सुहाउँदो ठाउँमा गराउँछन् तर गोदना भने हराइसकेको छ’, संस्कृतिविद् चौधरीले बताए।  महिलाले गोडामा खोपेजस्तै पुरुषहरूमा पनि श्रीमतीप्रतिको समर्पण देखाउन हात खोप्ने प्रचलन छ। तर त्यो महिलाको भन्दा भने फरक। पुरुषहरूले हातमा पूरै रातो नहुन्जेल तातो अँगार हातमा राखेर त्यही रातो भएको छालामा बेस्मारी औंलाले घोटेर बाहिरको छाला फाल्ने गर्थे। त्यसरी फाल्दा उनीहरूको हातमा दाग बन्थ्यो। ‘हातको नाडीमा बनाउँथे’, हेकुलीकै बुद्धिराम चौधरीले बताए। 

चित्र विचित्र

महिलाले गोडामा यौन र प्रेमको प्रतीकका रूपमा मयूरको चित्र खोपे पनि हातमा भने फरक फरक चित्र खोप्थे। ‘मैले हातमा चाल्नो खोपेकी छु’, बजारीले सुनाइन्। उनका अनुसार घरायसी काममा प्रयोग हुने चुलो, काइँयो, अँगेनो, पुरुषले जोत्ने हिंगा, गोबर फाल्ने छिटुवा आदिका चित्र हातमा कोरिन्थे। ‘तिलाकोटी भएको राम्रो देखिन्छ भनेर कतिले तिलाकोठी जस्तो अनुहारमा पनि खोप्थे’, रुइनीले भनिन्। 

गोदना खोप्ने कौशल सबैसँग हुँदैनथ्यो। एउटा गाउँमा एउटै मान्छे पाउन पनि मुस्किल थियो। चित्र खोप्ने काम धेरैजस्तो महिलाले नै गर्थे। चित्रकलामा पारंगत भएकाहरूले यस्तो काम गर्थे। खासगरी त्यति बेलामा अम्टिम्कीमा चित्र बनाउनेहरूले यस्तो खोप्ने गरेको संस्कृतिविद् थारू बताउँछन्। उनले यस्तो चित्र कोर्नेमा धेरैजसो महिलाहरू हुने गरे पनि कतिपय पुरुषले समेत यस्तो खोप्ने गर्थे। 

घुँडाभन्दा केही तल र पैतालाभन्दा माथिसम्म खोप्ने गरिन्थ्यो। धेरैको गोडामा मयूरकै चित्र हुने गथ्र्याे। ‘गाउँबाट घण्टौं हिँडेर जानुपथ्र्यो खोप्नका लागि’, तुलसीपुर-६, बरुवागाउँकी बुझौनी थारूले भनिन्। धेरैजसोको दुई दिनमै सकिन्थ्यो तर दुखाइ सहन नसक्नेहरूको भने हप्ता दिनसम्म लाग्ने गथ्र्याे। ‘कति त खोज्दाखोज्दै दुखाइ सहन नसकेर भागेर जान्थे’, उनले भनिन्। गोदना खोप्दाको पीडा सहेपछि जीवनमा आउने सानातिना पीडा भुलिन्छ भन्ने कथन रहेकोसमेत उनले सुनाइन्। 

यसरी बन्थ्यो रङ
एकपटक खोप्यो भने गोदना जीवनभरका लागि हुन्थ्यो। त्यसका लागि कुनै अलग्गै रङको व्यवस्था नगरेर घरमै त्यो रङ बनाइने गरेको बरुवागाउँकी सुन्दरी चौधरी (७१) ले सुनाइन्। एक सय ५० भन्दा बढीको गोदना बनाएकी चौधरीले कतिपयको गोडा पाकेर अनि कतिपयको टिटानस भएर समेत मृत्यु हुने गरेको जानकारी दिइन्। ‘जस्तो भयो त्यस्तै सुइयोले बनाउँथ्यौ, त्यसले रोग बनाउँथ्यो’, उनले भनिन्। 

बिजुलीको विकास नभएको त्यो समय घरमा टुक्की बाल्ने चलन थियो। त्यसले भित्तामा कालो मोसो बनाउँथ्यो। अनि अँगेनाको माथि पनि त्यस्तै मोसो हुन्थ्यो। ‘त्यही मोसोमा तोरीको तेल मिसाएर गोदनाको रङ बन्थ्यो’, उनले भनिन्। त्यही रङमा चोपेर सुइयोले गोडा र हातमा विभिन्न बुट्टा खोप्ने गरिन्थ्यो। 

कतिपयले कक्कडको पानीमा मोसो पनि मिसाउँथे। ‘तेलमा मिसाएको कालो हुन्थ्यो, हुक्कामा रहेको कक्कडको पानीमा मिसाएको नीलो हुन्थ्यो’, सुन्दरीले भनिन्। उनले चित्र बनाउनका लागि विभिन्न ठाउँबाट प्रस्ताव आउने गरेको बताउँदै धेरैजसो घरमै राखेर खोप्ने  गरेको बताइन्।

कतिपय त सहनै नसकेर रुन्थे, गोडा सुन्नेर हिँड्नै नसक्ने हुन्थ्यो। तर पनि बाध्यताजस्तो खोप्थे’, उनले सुनाइन्। ‘गोडाबाट रगतको भेलै बग्थ्यो तर पनि सहन्थेँ’, उनले गोडाको गोदना देखियोस् भनेर महिलाहरूले त्यति बेला घुँडासम्म मात्रै गुन्यू लगाउने गरेको बताइन्। ‘हिजोआजकाले खोप्दैनन्। पूरै गोडा ढाक्ने लुगा लगाउँछन्’, सुन्दरीले भनिन्। उनले गोदना बनाएको कुनै मूल्य नतोक्ने र खुसीले जति दिए त्यति लिने गरेको बताइन्। 

 @basantbibas1 दाङमा पत्रकारिता,  लेखन र प्राध्यापन गर्छन्।


गोदनाको पहिचान

अशोक थारू, संस्कृतिविद् 

गोदना थारू जातिको पहिचानसँग जोडिएको कुरा हो। अहिले यो जातिले पूर्ण रूपमा छाडेको छ। यसले थारू जातिको स्वपहिचान र संस्कृतिमा असर पार्ने देखिन्छ। थारू सभ्यताभित्र धेरै महत्वपूर्ण कुरा छन्। ती कुरालाई सतही विश्लेषण गरेर छाडिनु हुँदैन। 

गोदनाको सवालमा पनि त्यही भएको हो। गोदनाले महिलालाई कष्ट दिन्छ, यो साँचो कुरा हो। तर यसले कति राम्रो प्रेमसमर्पणको भाव देखाउँछ, वीरताको भाव देखाउँछ। 

यसलाई पूरै नराम्रो भन्न मिल्दैन। थारू जातिमा रहेको सुडेनी र गुरुवालाई सरकारले स्वास्थ्य चौकीमा जोडेर मानव स्वास्थ्यमा त्यसको प्रयोगका साथै पहिचानलाई यथावत् राखेको छ। यसैगरी गोदवालाई पनि संरक्षण गर्न सकिन्छ। परम्परासँग केही गलत कुराहरू जोडिएका छन् भन्दैमा त्यसलाई पूरै नाश गरिनु हुँदैन।
 
त्यसका नराम्रा कुरालाई सुधार गर्दै कसरी राम्रो गराउन सकिन्छ भन्ने बारेमा ध्यान दिनुपर्छ। गोदना संरक्षणको सवालमा पनि त्यो गर्न सकिन्थ्यो। मौलिकता नमर्ने गरी परिमार्जन गर्नु एउटा कुरा हो तर त्यसलाई पूरै निमिट्यान्न पार्नु मनासिब कुरा होइन। युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि २००३ ले पनि यो कुरामा जोड दिएको छ। यसलाई आवश्यक परिमार्जन गरेर पुस्तान्तरण गर्दै लैजानेतर्फ सोच्नुपर्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.