पुल छ, तर्न पाइन्न
दार्चुला : भारतीय बजार आउजाउमा सहजताका लागि महाकाली नदीमा झोलुंगे पुल बनाइएको छ। तर, भारत सरकारले अनुमति नदिँदा पुल सञ्चालनमा आउन सकेको छैन। यसले गर्दा लेकम गाउँपालिकाको लाली क्षेत्रका बासिन्दा ट्युबका भरमा नदी वारपार गर्न बाध्य छन्।
पुल हेर्दै ट्युबबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय महादेव धामीले बताए। ‘टाउको माथि पुल छ तर ज्यान जोखिममा राखेर ट्युबबाट महाकाली नदी तर्नुपरिरहेको छ’, उनले भने। अर्का स्थानीय कल्याणसिंह कठायतलाई पुल निर्माणपछि ट्युबको जोखिम छुट्ला भन्ने लागेको थियो। ‘तर, पहिला पुल निर्माणमै समस्या भयो’, उनले भने, ‘अहिले भारतले अनुमति नआउँदा पुल चढ्न पाएका छैनौं।’
मनोमालिका कन्स्ट्रक्सनले १ करोड ३२ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न गरेको थियो। नेपाल सरकारको तुइन तथा ट्युब विस्थापन कार्यक्रमअन्तर्गत पुल निर्माण गरिएको हो। यो सञ्चालनमा आए लेकमसहित मालिकार्जुन गाउँपालिका क्षेत्रका नागरिकलाई भारत आवतजावत गर्न सजिलो पर्छ।
पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले पुल निर्माण सम्पन्न भएको जानकारी स्थानीय प्रशासनलाई दुई महिनाअघि दिएको थियो। त्यसअनुसार जिल्ला प्रशासन कार्यालयले एक महिनाअघि भारतको पिथौरागढका जिल्ला अधिकारीलाई पत्राचार गरेको थियो। ‘हामीले पुल सञ्चालनका लागि भारतीय पक्षलाई पत्राचार गरेका छौं’, दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले भने, ‘तर, भारतीय प्रशासनले पुलमा आवतजावतका लागि अनुमति दिएको छैन।’
प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले झोलुंगे सञ्चालनका लागि भारतसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। ‘मैले यसबारे दुई महिनादेखि संसद्मा कुरा उठाएको छु’, उनले भने, ‘नेताहरूलाई पनि भनिसकेको छु।’
महाकालीमा आधा दर्जन स्थानबाट ट्युब तथा तुइनको यात्रा जारी छ। तुइन विस्थापन कार्यक्रमअन्तर्गत जिल्लामा आठवटा झोलुंगे निर्माणको योजना स्वीकृत भएको छ। तर, भारतले दुई स्थानमा स्वीकृति दिएकामा लालीको पुल सञ्चालन हुन सकेको छैन। दैनिक उपभोग्य सामान, व्यापारिक सामग्री किनमेल, औषधोपचारलगायत कामका लागि भारतीय बजार जान लालीका स्थानीय ट्युबकै सहारा लिन्छन्। पानीको सतह घटेका बेला सजिलै भए पनि वर्षातमा जोखिम बढ्ने ट्युब चालक दीपक पार्कीले बताए।
यो क्षेत्रमा सडक पहुँच नहुँदा स्थानीयवासी भारतीय बजारमा निर्भर छन्। नेपाली सामान खरिद गर्न बैतडीको झुलाघाट जान सजिलो छ तर दार्चुला सदरमुकाम खलंगा पुग्न टाढा पर्छ। खलंगा आउन एक दिन लाग्छ। बिहान झुलाघाट गए बेलुकी फर्किन सकिने स्थानीय तारा भण्डारीले बताए। लाली क्षेत्रमा पाँच वर्ष अवधिमा महाकाली तर्ने क्रममा १५ जनाको मृत्यु भइसकेको छ।