बूढी आमाको मृत शरीर
सुर्खेतबाट हिँडेको गाडी बबईमा खाना खान रोकियो। मसँगै गएकी कोपिलाकी फुपूकी छोरीको घर बबईमा भएकाले खाना खान अरू पसल चहार्न परेन। बबईमा खाना खान गाडी रोकियो। कोपिलाकी दिदीको घरमा खाना खाने सहमतिअनुसार हामी सीधै दिदीको घरतिर हानियौं। घर राजमार्गभन्दा अलिक भित्र थियो।
बबई त्यसै गर्मी ठाउँ। त्यसमाथि वैशाख महिना। त्यहाँको गर्मी नेपालगन्जको गर्मीलाई माथ खुवाउने खालको थियो। त्यसमाथि हामी जुम्लाबाट फर्केका, बबई किनाराको त्यो उखर्माउलो गर्मी छल्न घरबाहिरै बसेर खाना खाने निधो भयो। हामीसँग समय निकै कम थियो। गाडीले प्वाँ प्वाँ हर्न बजाउनेबित्तिकै गाडीमा पुग्न नसके अर्को फसाद पनि आइलाग्न सक्थ्यो। हामीलाई चाँडो नेपालगन्ज पुग्ने हतारो पनि थियो।
हामी गएर पसिना ओभाउन नपाउँदै दिदीले खाना खान हात धुने संकेत गरिन्। दिदीका ससुरासँगको गफ बिट मार्दै हामी हात धुनतिर लाग्यौं। खाना खान ठिक्क परेर म र कोपिला घरको पिँढीमा राखिएको ठूलो टेबुलको आमनेसामने बस्यौं। दस दिनभन्दा लामो सहयात्रापछि कोपिलासँगका औपचारिकताका पर्खालहरू एकपछि अर्को ढलिसकेका थिए। हामी बढी ठट्टा गर्ने भइसकेका थियौं। यात्रामा ठट्टा र रमाइला कुराकानी नभए सिंगो यात्रा उदेकलाग्दो हुने थियो। प्रकाश बीचैबाट घर फर्केपछि यात्रामा कोपिलासँग कुराकानी गर्ने म र मसँग कुराकानी गर्ने कोपिलाबाहेक अरू कोही थिएन।
खाना पस्केका थाल आइसकेका थिएनन्। हामी कहिले खाना आउला र खाऊँला भनेर कुरिरहेका थियौं। टेबुल हल्लियो। मलाई लाग्यो- कोपिलाले फेरि अर्को ठट्टा गरिन्। उनलाई पनि लागेछ- मैले फेरि ठट्टा गरेँ। मलाई लाग्यो- कोपिलाले खुट्टा हल्लाएर टेबुल हल्लाइरहेकी छन्। उनलाई पनि त्यस्तै लागेछ। तर वास्तवमा हामी दुवैले टेबुल हल्लाएका थिएनौं। दुवैले खुट्टा नहल्लाई पनि टेबुल हल्लिएको देखेपछि मात्र भूकम्प आएको हामीमा चेतना आयो। हो, विनाशकारी वैशाख १२ को भूकम्प हामीले बबईको किनारामा अनुभव गरेका थियौं।
हतार हतार पिँढीबाट बाहिर निस्क्यौं। सुर्खेततिर जान तम्तयार नजिकैको गाडी पूरै नाचिरहेको थियो। भित्रका यात्रुहरू बिलखबन्दमा परेका थिए। वरपरका पहाडहरूमा रूखहरू कुनै ठूलो आँधी आएजस्तै मच्चिरहेका थिए। मन चिसो भयो। लाग्यो- यो भूकम्प काठमाडौंमा गए सग्लो उभिएको केही रहँदैन होला।
केही बेरमा भूकम्प रोकियो। काँपेको मुटु अझै थामिइसकेको थिएन। तर, नेपालगन्जमा सकेसम्म चाँडो पुग्ने हतारोले हामी खाना खानतिर लाग्यौं। केही बेरमा गाडीको हर्न प्वाँ प्वाँ बज्यो। हतारमा हामी गाडी चढ्यौं। बल्ल बल्ल घरमा सम्पर्क भयो। फोनमा केही कुरा प्रस्ट भएन। ‘हामी सुरक्षित छौं। त्यहाँ सुरक्षित बस्नू’ भनेर फोन काटेँ।
गाडीमा सुर्खेतका साथीहरूका केही फोन आए। ‘काठमाडौंमा ठूलो भूकम्प आयो रे नि। केही खबर छ ? ’ अहँ, हामीलाई केही थप जानकारी थिएन। काठमाडौंमा प्रिपेड नम्बरमा कसैको फोन लागिरहेको थिएन। पोस्टपेड नम्बर भएका कसैले पनि फोन उठाएनन्। चितवनबाट एकजना साथीले फोन गरे, ‘भक्तपुरतिर ठूलै क्षति भएजस्तो छ।’
त्यसपछि कसैको नम्बर सम्पर्क हुन सकेन। हाम्रो गाडी पनि जंगलतिर उक्लियो। नेटवर्कले काम गरेन। गर्मी र थकाइले गाडीका अधिकांश यात्रु भाते निद्रामा भुस्स भएका थिए। हामी पनि कति बेला सुतेछौं, चालै पाइएन। आँखा खोल्दा कोहलपुर बसपार्कमा पुगिसकेका थियौं।
‘काठमाडौंमा त ठूलै विनाश भएजस्तो छ। धरहरा पनि ढलेछ’, सँगै बस्न आएका एकजना यात्रुले भने। धरहरा भन्नेबित्तिकै न्यातपोलको चित्र मानसपटलमा खेल्यो। ‘पक्कै ढल्यो’, मेरो मनले निष्कर्ष निकाल्यो। नेपालगन्ज पुग्दानपुग्दै मोबाइलमा धेरै मिस्डकल आइसकेको देखेँ। चितवनकै साथीको फोन। अरूको नम्बर लागिरहेको थिएन। ‘ठूलै क्षति भएजस्तो छ। धेरै मानिस पुरिए भन्छन्।’
नेपालगन्जमा मानिसहरू भूकम्प आउँदा पर्खाल हल्लिएको सम्झेर ठट्टा गर्दै थिए। फेरि फोन चितवने साथीकै। ‘कसैसँग सम्पर्क भयो ?’
‘अहँ’
‘कल्पना दिदीको बारेमा थाहा भयो ?’
‘अहँ’
‘नराम्रो कुरा सुनेको छु।’
कोपिला आँखाभरि आँसु राख्दै आइन्।
‘दाइ हाम्रो घर भत्कियो रे। बुवाले फोन गर्नुभएको। आजै आउनु भन्नुहुन्छ।’
हामी नेपालगन्जको पुरानो बजारमा हिँड्दै थियौं। त्यहाँका पुराना घरहरूमा एउटा इँटा पनि झरेको थिएन। त्यसैले काठमाडौंमा कस्तो क्षति भयो होला, मैले कल्पना नै गर्न सकेको थिइनँ।
‘त्यहाँ को छ हँ ?’ भित्रबाट स्वर आयो। हामी आश्चर्यमा पर्यौं। दुई दिनदेखि थुनिएका मानिसहरू कसरी यस्तो टाठो बोल्न सकेका ? त्यसको केही दिनपछि मात्र त्यो स्थानबाट बूढी आमाको मृत शरीर निकालिएको थियो।
कोपिलाको अनुहार निकै मलीन थियो। मेरो मन पनि हजार प्रश्न र परिकल्पनाले भरिएको थियो। हामीले त्यही रात काठमाडौं फर्कने निधो गर्यौं। चितवनमा फोन गरेँ, ‘हामी काठमाडौं फर्कने भयौं।’ नाइट गाडी भरिएको थिएन। योबीच भएका अनेकन कुराले हामीलाई मानसिक रूपमा निकै थकित बनाइसकेको थियो।
दाङमा खाना खुवाउन गाडी रोकियो।
टीभीमा भूकम्पले भत्केका भग्नावशेषका दृश्यहरू प्रसारण भइरहेका थिए। न कोपिलाले ठट्टा गरी न मैले। न
गाडीका अरू कोही यात्रुहरू नै केही बोलिरहेका थिए।
हामी मलामी गइरहेका मानिसहरूजस्तै चिसो मौनता बनाइरहेका थियौं।
मुग्लिन पुग्दासम्म उज्यालो भइसकेको थियो। बाहिर मानिसहरू सबै अनिदा देखिन्थे। पूरै बजार भयले आक्रान्त भएको बुझ्न गाह्रो भएन। धादिङका राजमार्ग छेउछाउका बस्तीहरू युद्धग्रस्त मैदानजस्ता देखिन्थे। त्रिपालबाहिर मानिसहरू गफिँदै थिए। नयाँजस्ता देखिने ढलानका घरहरू अनेक पोजिसनमा ढलिरहेका थिए। ढल्किरहेका थिए।
कोटेश्वरसम्म गाडीले ल्यायो। भक्तपुर जाने गाडी चलेको थिएन। हिँड्दै गयौं। के हिड्यौं भन्नु, सहर र सहरवासीको दुरवस्था हेर्दै गयौं।
जगातीसम्म जाने गाडी बल्ल पायौं- ठिमीबाट। जगातीमा ओर्लेर च्याम्हासिंहतिर हिँड्दै गर्दा दुवैतिर कति चिनेका र कति नचिनेका अनुहारहरू हामीलाई हेरिरहेका थिए। यस्तो लाग्यो- उनीहरू सोधिरहेका थिए- यस्तो विनाशको आँधी आउँदा तिमी कहाँ थियौ ?
हामी भक्तपुर पुगेको भोलि टर्कीको उद्धार टोली भक्तपुरमा आइपुग्यो। उनीहरूलाई तुमचोस्थित बागीश्वरी माविको प्रांगणमा राख्ने सल्लाह भयो। उनीहरूसँगको समन्वयको जिम्मेवारी मेरो भागमा पर्यो। भाषा अनुवादलाई पनि सहज हुने अपेक्षासहित मलाई त्यो जिम्मेवारी दिइएको हुनुपर्छ। तर टर्की टोलीका अधिकांश स्वयंसेवक अंग्रेजी भाषा बुझ्दैनथे। उनीहरूमध्ये दुईजना भने अंग्रेजीमा संवाद गर्नसक्थे।
बागीश्वरी माविको प्रांगणमा आफ्ना सामान बिसाएको केही समयमै उनीहरू उद्धार कार्य थालनी गर्न तयार भए। उनीहरूलाई त्वचाको एउटा भत्केको घरमा उद्धारका लागि लैजाने सूचना प्राप्त भयो। टर्की टोलीसँगै हामी त्वचा पुग्यौं। टर्कीको टोलीका सदस्यहरू निकै जुझारु खालका थिए। हेर्दा पाको उमेरका भए पनि उनीहरूको जोश भर्खरको ठिटोको जस्तो अनि काम गर्ने शैली परिपक्व।
त्वचाको एउटा घरमा बूढाबूढी पुरिएका थिए। उनीहरू जीवित हुने सम्भावना कम मात्र थियो। तर भए सास नभए लासै सही निकाल्न त्यहाँ नेपाल सेनाका जवानहरू लागिरहेका थिए। त्यसैमा टर्कीको टोली पनि मिसियो। सँगै केही बेर काम भयो।
मेरो फोन बज्यो, ‘क्वाठडौंको एउटा भत्केको घरबाट मान्छे कराएको सुनियो। टर्कीको टोलीलाई तत्काल लिएर आउनुपर्यो।’
मैले टर्की टोलीका सदस्यहरूलाई त्यही खबर गरेँ। खबर सुन्नेबित्तिकै उनीहरू खन्दै गरेको बेल्चा छोडेर दौडिहाले। उनीहरूलाई भेट्टाउन हामीलाई गाह्रो भयो।
अम्बिकामान मानन्धर सरको घर थियो। बिरामी आमा अम्बिकामान सरकी जहान भग्नावशेषमा पुरिएका र कसैले त्यहाँ मान्छे कराएको सुनेको रहेछ। सबैलाई लाग्यो- त्यो बूढी आमाको स्वर हो। अम्बिकामान सरका छोराहरू सबै जम्मा भएका थिए। तीनवटा चोक नाघेर भित्र पस्यौं। परकम्प आइरहने भयले सबैको मन खाएको थियो। मान्छेको स्वर सुनिएकै भन्ने सबैको कुरा सुनेर टर्की टोलीले स्वरको आधारमा मान्छे कहाँ छ भनी पत्ता लगाउने आफूले ल्याएको उपकरण झिकाए। उनीहरूले प्रविधिअनुसार उपकरण फिट गरे। त्यो उपकरण उच्च संवेदनशील ध्वनि ठम्याउने प्रविधि थियो।
छोराहरूलाई पटकपटक आमालाई बोलाउन लगाए। तर त्यो उपकरणमा कुनै पनि ध्वनिको संकेत भएन। मलाई पनि सुनाए तर अहँ त्यहाँ कुनै जीवनको संकेत थिएन। थकित भएर उपकरण निकाल्दै गर्दा अचानक मानिस कराएको स्वर सुनियो। सबैले सुने। राति ९-१० बजिसकेको थियो। अचानकको स्वरले टर्कीको टोली अझै तम्सिए। दुई-तीनजना मानिसको सामूहिक स्वर सबैले प्रस्ट सुने। हामी एक प्रकारले उत्साहित भयौं। आडैको घरको झ्याल बन्द थियो। स्वर त्यहीँबाट आइरहेको थियो। टर्की टोलीका तीनजना लक्का जवानहरू ढोका फोडेर भित्र पसे। हामी भित्र थुनिएका मानिसहरू हेर्न आतुर थियौं।
हामी एक अर्कोका अनुहार हेर्दै थियौं तर मनको भरोसा पनि बलियो हुँदै गएको आभास भयो। सँगै कुनै पनि बेला परकम्प आउने भय। ढोका फोडेर भित्र पसेका टर्किसहरूले तीनजना मानिस भएको भने। हाम्रो उत्सुकता अझै बढ्यो। ‘त्यहाँ को छ हँ ? ’ भित्रबाट स्वर आयो।
हामी आश्चर्यमा पर्यौं। दुई दिनदेखि थुनिएका मानिसहरू कसरी यस्तो टाठो बोल्न सकेका ?
अँध्यारोबाट तीन जना मानिसका आकृति देखा परे। तर उनीहरू भग्नावशेषमा थुनिएका रहेनछन्। बरु उनीहरू आफैं पनि त्यहाँ मान्छे कराएको छ भन्ने कुरा सुनेर उद्धार गर्न आएका मान्छेहरू रहेछन्। उनीहरू गल्लीको अर्कोतिरबाट त्यहाँ आएका थिए। हामी सबै जिल्ल पर्यौं। मनभित्र पलाएको रोमाञ्चमा पानी पोखियो।
केही बेरमा त्यहाँ अर्को उद्धार टोली आइपुग्यो। इटालीको टोली। मान्छे कराएको छ भन्ने खबर सुनेर उनीहरू पनि त्यहाँ आएका थिए। महिला र पुरुषहरूको ठूलो टोली थियो। उनीहरूसँग विकिरणको आधारमा मान्छे बाँचेको छ वा छैन भनी पत्ता लगाउने उपकरण थियो। त्रिभुवन विमानस्थलमा विमान अवतरण भएलगत्तै त्यो टोली सीधै भक्तपुर आएको थियो। राति त्यस्तै ११ बजिसकेको थियो।
टर्कीको टोली फर्कियो। इटालीको टोलीसँगै हामी
त्यहीँ बस्यौं।
अचानक परकम्प आयो। सबै भागाभाग भए। वरपर सबै कति बेला भत्किएलाजस्ता घरहरू मात्र भएको गल्ली, चुक घोप्ट्याएजस्तो अँध्यारो। हामी पनि भाग्यौं। सलाँ गणेशको ओरालोमा खुट्टा खोचिएर म माथिबाट एकैचोटि ओरालोको तल पुगेँ। घुँडामा चोट लाग्यो। केही बेर त पसिना-पसिना भएँ।
इटालीको टोलीले केही बेरमा आफूसँग भएको उपकरणमा बूढीआमाको बगिरहेको रगत
भनेर देखाए। (पछि थाहा लाग्यो, त्यो रगतको धारा होइन। बेटाडिन पोखिएको रहेछ। रातो रङ भएकाले उपकरणमा रातै देखिएको रहेछ। हामीले त्यसलाई रगत
भन्ठान्यौं। त्यसको केही दिनपछि मात्र त्यो स्थानबाट बूढीआमाको मृत शरीर निकालिएको थियो।) उनीहरू पनि उद्धारकार्य स्थगित गरेर फर्किए। दत्तात्रय अँध्यारो र सुनसान थियो। आफ्नै टोल पनि कति बिरानो लागेको थियो। हामीलाई च्याम्हासिंह पुग्नु थियो तर दत्तात्रयदेखि च्याम्हासिंहसम्म बढीमा पाँच मिनेटको बाटो छिचोल्न हामीलाई ठूलै साहसको खाँचो पर्यो। विकल्प पनि त थिएन। आखिर त्यो तीनचार मिनेटको छोटो दूरी छिचोल्न ठूलै साहस बटुलेर दौडियौं।
मध्यरात भइसकेको थियो। सूर्यमढीमा एक हूल युवा धुनी बालेर पहरा बसेको थियो। हातमा भाटा बोकेका ती युवाहरू चोर लखेट्न बसेका थिए। चोरको बिगबिगी बढ्न थालेपछि युवाहरूले त्यो पहरा थालेका थिए। धन्न हामीलाई चिनेका रहेछन्। नत्र हामी पनि उनीहरूको कारबाहीमा
पर्न सक्थ्यौं।
अघि बेतोडले दौडँदा नदुखेको घुँडा च्याम्हासिंहको उज्यालो र सुरक्षित ठाउँ देखेपछि बेतोड दुख्न थाल्यो। रात उही स्वास्थ्यचौकीमा राखिएको एउटा पुरानो गाडीको सिटमा बितायौं।@LawojuNiraj