मनाइयो ‘सिन्दुरे जात्रा’
नुवाकोट : नुवाकोटको ऐतिहासिक क्षेत्र भैरवीमा सिन्दुरे जात्रा मनाइएको छ। यो जात्रा डेढ महिनासम्म नुवाकोटको भैरवी र जालपादेवी मन्दिरमा भव्य रूपमा मनाइन्छ। पाँच सय वर्ष पुरानो उक्त जात्रामा नेपाल सरकारका प्रतिनिधि द्वारेले भैरवी मन्दिरका पुजारी धामी धमिनीलाई सिन्दूर हालेसँगै रौनक सकिएको हो। देवीघाटको जालपादेवी मन्दिर र नुवाकोटको भैरवी मन्दिर दर्शन तथा धामी धमिनी हेर्न हजारौं भक्तजन उपस्थित थिए।
यो जात्रा वैशाख दोस्रो सातासम्म चल्ने छ। नुवाकोटकै सबैभन्दा ठूलो सिन्दुरे जात्रा चैत शुक्ल द्वितीयाका दिन सल्लाको लिंगो ठड्याएपछि सुरु हुन्छ। द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दूर जात्रा र राति धामीले बलि दिने गर्छन्।
भैरवी मन्दिरमा दुई दिनपछि अर्थात् द्वितीयाको दिनमा सुरु भएको सिन्दुरे जात्राको निम्तोस्वरूप बहिनी भैरवीले दिदी जालपादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती छ। किंवदन्तीअनुसार दिदी आएको अवसरमा सिन्दूर जात्रा गरी हर्ष बढाइँ गरिएको हो।
जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर प्रांगणमा पुग्छन्। भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दूर जात्रा गर्दै तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइन्छ।
द्वारे महेन्द्रकुमार शाहीले भैरवी मन्दिरका पुजारी धामी हरिमानसिह डंगोललाई विजयको प्रतीक सिन्दूर हालिदिनेबित्तिकै धामीले सरकारी कर्मचारी तथा सर्वसाधारणलाई सिन्दूर प्रदान गर्ने परम्परा छ। भैरवी मन्दिरको रथ अपराह्न साढे ५ बजे लच्याङका ५० जवानले भैरवी मन्दिर परिसरमा पुर्याए। साथै रथलाई उकाल्न ५० भन्दा बढी लच्याङवासी युवाको टोलीलाई मन्दिर परिसरको उकालोमा करिब आधा घन्टा लागेको थियो।
धामी धमिनी, कुमार र गणेशलाई धरमपानीबाट भैरवी मन्दिरतर्फ प्रस्थान गराउँदा श्रीनाथ गण देवीघाटका ५० भन्दा बढी सेनाले सलामी अर्पण गरे। मन्दिरको निशाना झन्डा फहराउँदै बाजागाजाले सम्मान गरिएको थियो। बूढी भैरवी र भैरवी मन्दिर परिसरमा ठड्याइएको लिंगो ढालेसँगै जात्रा सम्पन्न हुन्छ।