यो सजी कुन जात हो ?

यो सजी कुन जात हो ?

क्षेत्रप्रताप अधिकारीले भन्नुभयो, ‘मलाई तपाईंको नाम मन परेन। तर, कविता मन पर्‍यो।’

मैले कुन नक्षत्रको कुन पाउमा यो संसारमा टेकेँ भन्ने कुरा चिनामा लेखिएको होला। मलाई मिति थाहा छ। राशिको नाम थाहा छ। राशिको नाम चिना हेराउने बेलामा बाआमाले ज्योतिषीलाई सुनाउनुहुन्थ्यो र पूजाआजामा पण्डितलाई। त्यसपछि मलाई आमाले मेरो बोलाउने नाम माधवबाहेक प्रकाश र मधुसूदन पनि हो र, मलाई सानोमा प्रकाश भनेर पनि बोलाइन्थ्यो भनेर झनै दुविधामा पार्नुहुन्थ्यो। तर, अरू नामहरू माधवसँग काँध मिलाएर सँगै हिँड्न सकेनन्। म मात्र माधव भएर थिग्रिएँ। 
 पृथ्वीनारायण क्याम्पस पढ्दै थिएँ। विज्ञानमा स्नातक गर्ने क्रममा मेरो बीपी र रजनिशका केही पुस्तकमा लत बसेको थियो। केही कविता त्यही बेलामा लेखेँ। क्याम्पसको स्ववियुले हरेक वर्षको भानुजयन्तीमा खुला कविता प्रतियोगिता राख्थ्यो। मैले भाग लिएँ। ‘म माटोको कविता लेख्छु’ । कवितालाई प्रथम बनाइयो। त्यस बेलासम्म मैले नाम फेरेको थिइनँ। त्यति खेर मैले सोचेभन्दा राम्रो पुरस्कार थियो। नगद पन्ध्र सय र बृहत् शब्दकोष। बृहत् शब्दकोष पनि किन्न पर्‍यो भने पन्ध्र सय नै पथ्र्याे।

सायद मैले नेपाली शब्दकोषलाई त्यति धेरै पैसा हालेर किन्दैन थिएँ। त्यो पुरस्कारलाई त्यति बेला मैले ठूलो मानेँ। केही रेडियोले कविता वाचन गर्न बोलाउँथे। मलाई एक किसिमको आनन्द मिलेको थियो। मेरा केही साथीभाइ थिए। अल्पज्ञानी, यज्ञराज पौडेल, लक्ष्मी गौडेल। हामी प्रायः सँगै कवि गोष्ठीहरूमा निस्किन्थ्यौं। 

कुश्मा, पोखरादेखि तनहुँसम्म बरालियौं। हेमजा साहित्य प्रतिष्ठानको शुभप्रभात काव्यमाला, पोखरेली युवा सांस्कृतिक परिवारको समता काव्य सन्ध्या, गजल सन्ध्या, अक्षर यात्रादेखि संरक्षण कविता आन्दोलनसम्म मैले उपस्थिति जनाएँ। अग्रजहरूलाई सुनेँ। लेख्दै गएँ। सुधारिँदै गएँ। त्यही क्रममा लेखिएका थिए, मेरा पहिलो कवितासंग्रहका प्रायः कविताहरू। त्यही बेला कविता लेखेर कमाएको बृहत् शब्द कोषका पानाहरू पल्टाउन थालेँ।

शब्दहरूको कोलाजमा एउटा शब्द आफ्नो अनुहार लुकाएर बसिरहेको थियो। निष्प्रभ। अर्थ थियो अँध्यारो। निष्प्रभ शब्द देखेपछि मलाई अर्को नाम खोज्न मन लागेन। त्यो नामले मेरो मस्तिष्कमा गहिरो प्रभाव छोड्यो। मलाई अँध्योरो विम्ब साह्रै मन पथ्र्यो। 

म अँध्यारोसँग डराउँदैनथेँ तर अँध्यारोलाई डरलाग्दो बनाउने मानिसहरूसँग डराउँथेँ। कहिल्यै नाम परिवर्तन गर्ने सोच नभएको मान्छेलाई एक्कासि नाम फेर्न मन लाग्यो। तर नाम अपूरो थियो मेरा लागि। निष्प्रभको अन्वेषण हुनुअगाडि मैले मेरा केही गजलमा एउटा रदिफ प्रयोग गर्थें। सजी। एसएलसी सकेपछि नेपालगन्ज बस्दा एउटा हिन्दी पत्रिकामा छापिएको अरबिक तर हिन्दीमा अनुवादित कथा पढेको थिएँ। 
कथाको नाम र लेखक बिर्सिए पनि मलाई 

कथाभित्रको एउटा पात्र सजीको सम्झना थियो। त्यो पात्र युवक थियो। तर अचम्म के भयो भने मैले सजीलाई विभिन्न कालखण्डमा मन पराउने केटी पात्रको प्रतीकका रूपमा प्रयोग गर्न थालेँ। त्यो मलाई मन पर्ने केटीलाई मैले गर्ने एकतर्फी प्रेम स्कुलमा, कलेजमा भिन्दाभिन्दै नाम लिएर आए तर मैले आफ्नै लागि एउटा भ्रमको बिजारोपण गरेँ। त्यही भ्रमको नाम सजी थियो। मैले कहिलेसम्म एकतर्फी प्रेम गरेँ र कहाँनिर आएर कोसँग दुईतर्फी प्रेम भयो भन्ने प्रसंग कुनै अर्कोपटक खोलौंला वा नखोलौंला। 

२०६१ सालतिर म मेरो पहिलो कवितासंग्रह ‘भूपरिवेष्टित खुट्टाहरू’को पाण्डुलिपि बोकेर मलाई निकै मन पर्ने कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीलाई भेट्न नयाँ बानेश्वरस्थित कलेजमा बिहानै पुगेको थिएँ। घाँटीको छालाबाट बाहिरै निक्लिन्छु कि झैं गरेर धकेलिरहेको रुद्रघन्टीलाई गलबन्दीले बेरेर पोखरादेखि आएको एउटा दुब्लो केटो कवि हुने इप्सा बोकेर राजधानीमा भौंतारिइरहेको यथार्थ सरल थिएन। त्यो पुस्तक निक्लिनुअगाडि मात्रै मैले आफ्नो नामकरण गरेको थिएँ।

उहाँलाई अघिल्लो दिन फोन गर्दा निष्प्रभ सजी भनेँ भने त भेट्नै खोज्नुहुन्न कि भन्ने भयले नाम सोध्दा माधव पौडेल भनेर परिचय दिएँ। भोलिपल्ट कलेजमा पुग्दा उहाँ अफिसको कुर्सीमा हुनुहुन्थ्यो। म अफिसका पाहुनाहरू बस्ने सोफामा बसेँ। उहाँले पाण्डुलिपि हेर्न नपाउँदै पहिलो पृष्ठमै मभन्दा निकै क्लिष्ट मेरो नाम देखिहाल्नुभयो। त्यसपछि मेरो किताबको पहिलो कविता ‘पहाड बग्छु भन्छ’ मेरैअगाडि पढ्नु भयो। मेरो कविता क्षेत्रप्रताप अधिकारीले पढ्दा मलाई पहिलो पटक मेरा शब्दहरू कविता भएझैं लाग्यो। 
 ‘कविता त बगेको छ, नाम किन यस्तो राखेको ?’
 ‘मलाई निष्प्रभ शब्द मन परेर।’
 ‘मलाई मन परेन। तर, कविता मन पर्‍यो।’
क्षेत्रप्रताप अधिकारी आफ्ना कविताहरूजस्तै प्रस्ट लाग्यो। उहाँले निकै मन लगाएर भूमिका लेख्नुभयो र एक हप्तापछि बोलाउनुभयो। भूमिका पढेँ। भूमिकाभरि उहाँले मलाई माधव नै भनेर सम्बोधन गर्नुभयो। त्यसले पनि यही अथ्र्यायो कि उहाँलाई निष्प्रभ सजी नाम पटक्कै मन परेन।

मैले एसएलसी सकेपछि पढेको सजी पात्र भएको त्यो कथाको बारेमा यो संस्मरण लेखिरहँदा पनि जान्ने प्रयास गरेको थिएँ। मैले मेरा रचनाहरूमा सजीको प्रवेश गराइन्जेलसम्म पनि मलाई नामको अर्थ थाहा थिएन। मैले अर्थ नै थाहा नभएको नाम निष्प्रभको पछाडि जोडिदिएँ। त्यसपछि एउटा एकांकी लेखेँ। ‘घन्टी बजिरहेछ’। हेमजा साहित्य प्रतिष्ठानको स्मारिका हिमशिखरमा मेरो नयाँ नामसहित छापियो।
मैले अरूको प्रतिक्रिया बुझ्न मेरा साथीहरूलाई पनि भनिनँ। यतिसम्म कि मेरो पहिलो कवितासंग्रहको विमोचनको निम्ता गर्दासमेत पोखरामा धेरैलाई यो निष्प्रभ सजी भन्ने को हो भन्ने उत्सुकता थियो। एकांकी छापिएपछि म राजधानी जाने काम परेको थियो। सरुभक्त दाइ प्रज्ञाप्रतिष्ठानमा हुनुहुन्थ्यो। मलाई भर्खर भर्खर नाटकमा रुचि हुँदै थियो। दाइलाई एकांकी पढेर प्रतिक्रिया दिनुहोला भनेर स्मारिका थमाएँ र, दाइलाई भनेँ कि मैले नाम फेरेँ। 

‘मैले नाम फेर्दा मलाई बहुलायो भनेका थिए, तिमीलाई पनि अप्ठ्यारो पर्ला।’
सरुभक्त दाइले भनेजस्तो किसिमको अप्ठ्यारो त मलाई कहिल्यै परेन तर धेरैजसो नेपाली साहित्यमा कलम चलाएर नाम कमाएका साहित्यकारहरूले, साहित्यक पत्रकारहरूले, प्रस्तोताहरूले अहिलेसम्म पनि निष्प्रभलाई राम्रोसँग उच्चारण गर्न नसकेर अप्ठ्यारोमा पार्छन्।

अझ झन् साहित्यमा पनि रुचि नराख्ने साथीहरूलाई नाम सुनाएर म अप्ठ्यारोमा पार्न चाहन्नँ। कुनै पारिवारिक जम्काभेटमा कसैले नाम सोध्यो भने म अझै पनि माधव नै भन्छु, नाम दोहोर्‍याउनुपर्ने र अथ्र्याउनुपर्ने झन्झटबाट मुक्त हुन। अहिले मसँग सजीको अर्थ पनि छ। यसको एउटा अर्थ शान्त पनि हो। अन्य अर्थहरू भन्दा मैले यही अर्थलाई निष्प्रभको अँध्यारोसँग मिसाएको छु। 
 लेखक निल गेमनको बालउपन्यास ‘कोरलिन’मा मुख्य पात्र कोरलिन र कालो बिरालो बीचको संवाद छ जहाँ कोरलिनले बिरालोसँग परिचय बाँड्न खोज्छे र भन्छे, ‘मेरो नाम कोरलिन हो, तिम्रो नाम के हो ?’
‘बिरालोको नाम हुँदैन’, बिरालोले जवाफ फर्काउँछ।
‘हो र ?’, कोरलिनले अचम्म मान्छे। 

‘हो त, तिमीजस्ता मान्छेहरूलाई नाम चाहिन्छ किनभने तिमीहरूलाई आफू को हौ भन्ने नै थाहा छैन। हामीलाई त थाहा छ, हामी को हौं। त्यसैले हामीलाई नाम चाहिँदैन।’ 
 मैले किन नाम फेरेँ भन्ने कुराभित्र अल्झिँदा मलाई लाग्छ- म आजको दिनसम्म पनि माधवकै नामले मात्र चिनिएको भए नाम परिवर्तन कदापि गर्दैनथेँ। जीवनको यो घडीसम्म आइपुग्दा म कोरलिनको कालो बिरालोजस्तो भइसकेको छु। मलाई म को हुँ भन्ने थाहा छ। मेरा लागि अहिले नाम मैले लगाउने टिसर्टको देब्रे कुनामा भएको सानो लोगोजस्तै हो जसको उपस्थितिले मेरा सहकर्मी, साथी र आफन्तलाई मसँग बोल्न मलाई चिनाउन सजिलो हुन्छ। नामभित्र अरू केही छैन।

म कहिलेकाहीँ आफैंसँग गुनासो पोख्छु- आफूले आफैंलाई यति बोझिलो नाम दिएकोमा। केही वर्षपहिले लेखक तथा कलाकार ब्रजेश खनालले परिचय बाँड्नेबित्तिकै सोध्नुभयो, ‘तपाईंको यो नामको फन्दा के हो ?’। धेरैचोटि सोसियल मिडियामा प्रश्न आउँछ, ‘यो सजी कुन जात हो ?­’ 

एकजना भद्र पुरुषले त सोझै प्रश्न गर्नुभयो, बहिनीको घर कता ? अनि दिक्क लाग्छ। कति सास्ती दिएँ तपाईंहरू सबैलाई र आफैंलाई।
 ‘न त रावण बनाइदियो, न त राम बनाइदियौ
न त निष्पट्ट अँध्यारो, न त घाम बनाइदियौ 
कति सजिलो थिएँ म, सबैले बुझ्न सक्ने 
निष्प्रभ सजीजस्तो कठिन तिम्ले नाम बनाइदियौ।­’ 

प्रिय साथीहरू गायक बम मार्ली भन्थे, ‘मेरो नाम बब मार्ली होइन। मलाई त मेरो नाम के हो अहिलेसम्म थाहै छैन।’ म पनि त्यही मनस्थितिमा छु। मलाई मेरो नाम थाहै छैन। तर, मसँग दुइटा नाम छन्। म त्यस्तो नामको खोजीमा छु, जसलाई कुनै नाम नै चाहिँदैन। 

‘डार्लिङ हार्बर’का लेखक @Nisprabh 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.