प्रत्यारोपण केन्द्रमा उपचार गर्दागर्दै बिरामीको निधन
भक्तपुर : भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गर्दागर्दै एक बिरामीको मृत्यु भएको छ। छातीसम्बन्धी समस्या लिएर आएकी काठमाडौंको धापासी निवासी ४७ वर्षीया रीता राना आलेको उपचारकै क्रममा मृत्यु भएको हो।
केन्द्रका अनुसार चिकित्सक डा. सम्पूर्ण तुलाधरले उपचार गरेका थिए। छातीमा समस्या भएर केन्द्रमा आएकी उनको गएको वैशाख ९ गते ब्रोन्कोस्कोपीमार्फत् डा. तुलाधरले उपचार गरेका हुन् । केन्द्रले जनाएअनुसार ब्रोन्कोस्कोपीमार्फत् फोक्सोको एक नलीको सल्यक्रिया गरिएको हो।
वैशाख ९ गते उपचारको लागि आफै हिँडेर आएकी आलेको शनिबार बिहान मृत्यु भएपछि उनका आफन्त अहिले शोकमा छन्।
उपचारपछि केन्द्रको सघनकक्ष (आईसीयू) मा राखिएका बिरामीको शनिबार बिहान मृत्यु भएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी लिए।उनले बिरामीको मृत्यु भएको पुष्टि गरे पनि के कारण बिरामीको ज्यान गएकोबारे विस्तृत विवरण दिएनन्।
‘केन्द्रमा उपचार भइरहेकी रीता राना आलेको मृत्यु भएको हो’, डा. श्रेष्ठले भने, ‘बाँकी विवरण आएको छैन।’
उनले केन्द्रमा कार्यरत नर्सहरुको आन्दोलनकै बीच बिरामीको मृत्यु हुनु दुःखद भएको बताए। ‘घटनाबारे सम्पूर्ण विवरण मागेको छु’, उनले थपे, ‘सबै विवरण आएपछि सार्वजनिक गर्नेछु।’
यस सम्बन्धमा बुझ्दा केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले घटनाबारे अध्ययन भइरहेकोमात्रै प्रतिक्रिया दिए। उनले उपचारकै क्रममा मृत्यु भएका बिरामीको आफन्तले भने शव बुझिसकेको जानकारी दिए।