सिम्रिकले भित्र्यायो नयाँ हेलिकप्टर
काठमाडौं : निजी क्षेत्रको हेलिकप्टर सेवाप्रदायक कम्पनी सिम्रिक एयरले नयाँ हेलिकप्टर भित्र्याएको छ। सिम्रिकले ल्याएको नयाँ हेलिकप्टर एयरबस कम्पनीको उत्पादन एएस ३५० बीथ्री ई नामको हो।
कम्पनीले शनिबार नयाँ हेलिकाप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो। ९एन एएनबी कलसाइनको ६ सिट क्षमताको उक्त हेलिकप्टरलाई नेपालको हवाई उडान क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पूरा गरेर एक सातामै व्यावसायिक उडानमा प्रयोग गरिने सिम्रिक एयरका महाप्रबन्धक प्रेमबहादुर थापाले जानकारी दिए।
सिम्रिकले सन् २०१८ मा निर्माणका लागि अर्डर दिएको यो हेलिकप्टरमा करिब ३० करोड रुपैयाँ खर्च भएको थापाले बताए। उनका अनुसार सिम्रिकसँग योसहित हेलिकप्टरको संख्या पाँच पुगेको छ। एउटा पाँच सिट र बाँकी चारवटै ६ सिट क्षमताको भएको उनले बताए।
नयाँ हेलिकप्टरसँगै सिम्रिकसँग अहिले पाँच हेलिकप्टर छन्।
हेलिकप्टरलाई मलेसिया, थाइल्यान्ड, म्यान्मार, बंगलादेश हुँदै चार दिन लगाएर काठमाडौं ल्याइपुर्याएको सिम्रिकका क्याप्टेन आनन्द थापाले बताए। यो हेलिकप्टर फ्रान्समा निर्माण भएको हो। यसलाई कम्पनीबाटै क्याप्टेन थापाको नेतृत्वमा क्याप्टेन बिमल शर्मा र इन्जिनियर प्रचन्ड मल्लको टोलीले ल्याएको जानकारी सिम्रिकले दिएको छ।
सिम्रिकले यसअघि गत अक्टोबरमा मात्रै यही प्रकारको नयाँ हेलिकप्टर भित्र्याएको थियो। यो हेलिकप्टर २३ हजार फिटसम्म उडान गर्न सक्ने, निरन्तर साढे चार घण्टा उड्न सक्ने क्षमताको छ। २२ सय ५० केजी बोक्न सक्ने र खोज तथा उद्धार, यात्रु सेवा तथा पर्यटकीय र कार्गो सेवामा यो हेलिकप्टर प्रयोग हुने पनि एयरले जानकारी दिएको छ। सन् २००१ मा स्थापना भएको यस कम्पनीले हेलिकप्टर सेवामा पुर्याएको योगदान नेपाली हवाई उद्योगमै उल्लेखनीय छ।
यस वायुसेवा कम्पनीमा हाल करिब एक सय कर्मचारी र आठ क्याप्टेन कार्यरत छन्। पाइलट उत्पादनमा आफैं क्रियाशील भएर कम्पनीले तीन जनालाई क्यानडामा पाइलट अध्ययनका लागि निम्ति पठाएको छ।
तीन जनाको जनशक्ति छिट्टै तयार हुने र सिम्रिककै हेलिकप्टर उडानमा प्रयोग हुने जानकारी पनि थापाले दिए। उनका अनुसार पछिल्लो समय वायुसेवाले दक्ष जनशक्ति उत्पादनमा गरेको यो प्रयास समग्र हवाई उड्डयन क्षेत्रकै निम्ति महत्वपूर्ण भएको सिम्रिकका महाप्रबन्धक थापाको भनाइ छ।