निगमले पायो जापान उडान अनुमति
काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले झन्डै एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको छ।
यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने भएको छ। लामो समयको प्रक्रिया पूरा गरेर बिहीबार निगमको जहाजको भाडादर स्वीकृति पाएको हो। यही प्रक्रिया पूरा गरेर निगमले जापान उडान गर्ने प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए।
अब यो वायुसेवाले असार १९ देखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गर्नेछ। निगमले लामो संघर्सपछि पाएको यो उडानबारे जानकारी दिन औपचारिक कार्यक्रम नै आयोजना गर्ने प्रवक्ता लामाले बताए।
निगमले जापानबाट पाएको यो अनुमतिपछि अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा नियमति उडान गर्ने भएको छ। निगमले काठमाडाैं-जापान एकतर्फी न्युनतम ४५ हजार र दुईतर्फी ८० हजार रुपैयाँमा उडान गर्ने निगमका सहप्रवक्ता नवराज काेइरालाले जानकारी दिए ।
निगमले गत असार १० गते र साउन १४ गते भित्र्याएको दुईवटा २७४ सिट क्षमताको वाइडबी विमानलाई अब भने लामो दूरीको गन्तव्यमा पालैपाले उडान गर्नेछ। निगमले जापानको अर्को गन्तव्य नारितामा पनि उडान अनुमतिको प्रयास जारी राखेको छ।
यो विमानस्थमा पनि उडान अनुमति पाएको अवस्थामा जापानका दुई ठूला सहरमा निगमले उडान गर्ने जानकारी पनि लामाले दिए। लामाका अनुसार निगमले जापान उडान गर्दा हाल उडान गरिरहेको कुनै पनि गन्तव्यको उडान संख्या घटाउनु पर्दैन।
यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने भएको छ।
निगमले यही मे १ देखि दिल्लीमा सातामा ३ वटा उडान थप गरेर दैनिक दुईवटा बनाउँदै छ। हाल उडान गरिहेका अन्य गन्तव्यमा पनि उडान कटौती गर्नु पर्दैन।
जापानमा वाइबडी मात्रै जाने र यसले अहिले पूर्णक्षमतामा उड्न नपाएकाले यसैको क्षमतलाई उपयोग गरिने जानकारी पनि लामाले दिए। यो विमानस्थलमा उडान गर्दा निगमको वाइडबडीले दैनिक १५ घण्टा उडान गर्नेछ।
वायुसेवा निगमले ओसाकामा जाने अनुमति पाएसँगै १२ वर्षपछि फेरि जापान जाने भएको छ। त्यतिबेला सातामा दुईवटा उडान गरिरहेको निगमले जहाजको संख्या कम भएकै कारण १३ वर्ष नियमित गरेको उडान गरेर बन्द गरेको थियो।
निगमले सन् १९९४ को डिसेम्बर ३० देखि सन् २००७ को अप्रिल १२ सम्म नियमित गरेको उक्त उडान वाइडबी जहाजमार्फत सातामा तीनवटा उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको वायुसेवा निगमले जानकारी दिएको छ।
औसतमा साढे सात घण्टाको यस्तो उडानका लागि निमगले काठमाडौं विमानस्थलबाट जाने र ओसाकाबाट फर्कन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन पटकको स्लट तयार छ।
जापान उडानपछि नेपाल भित्रिने पर्यटकको संख्यासमेत उल्लेख्य रूपमा बढ्ने उल्लेख छ। सन् २०१८ मा जापानबाट नेपालमा २९ हजार ७ सय २९ जना पर्यटक नेपाल भित्रिएका छन्। नेपाल आउन जापानिज पर्यटकको वृद्धिदार वार्षिक ९ प्रतिशतले बढिरहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ।
निगमले चीनको ग्वान्जाओमा पनि उडान अनुमति मागिरहेको छ। निगमले तय गरेको कोरिया उडानमा भने कोरियाले नेपालको हवाई उड्डयनको सेफ्टि अडिट गर्नुपर्ने भनेकाले कुनै प्रगति नभएको उल्लेख छ। निगमले अन्तर्राष्ट्रिय उडानका निम्ति लामो गन्तव्यमा जाने गरी ल्याउको वाइडबडी उडान गन्तव्य नपाउँदा हाल न्यारोबडीका छोटो गन्तव्यमा नै सीमित छ।