ताँजे गाउँमा होमस्टे

ताँजे गाउँमा होमस्टे

बेंसीसहर : रोजगारीका लागि बिदेसिने युवाको संख्या दिनानुदिन बढ्दो छ। गाउँघर युवाविहीन बन्दै गइरहेका बेला लमजुङको दुर्गम दोर्दी गाउँपालिका–६ ताँजे गाउँका युवा भने होमस्टे चलाएर आयआर्जनमा लागेका छन्।

वैदेशिक रोजगारी र बसाइसराइ रोक्न युवाले होमस्टे सुरु गरेका हुन्। ५५ घरधुरी रहेको ताँजेमा तीन घरमा होमस्टे सुरु गरिएको छ। गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सुरु गरिएपछि बिदेसिएका युवा गाउँ फर्किन थालेका छन्। होमस्टे सञ्चालनमा स्थानीय आमा समूहले युवालाई साथ दिएको ताँजे होमस्टे व्यवस्थापनका अध्यक्ष एवं होमस्टेका अभियन्ता टकलाल घलेले बताए।

गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले ग्रामीण पर्यटनका दृष्टिले आफ्नो प्रदेशका सयौं गाउँवस्ती प्रचुर सम्भावनाले भरिएको र ती गाउँमा आवश्यक विकास गर्दै पर्यटकीय गाउँ बनाउने बताए। ‘हाम्रा सयौं गाउँवस्तीबाट हिमाल, पहाड र उपत्यकाका मनोरम दृश्य देख्न सकिन्छ’, उनले भने, ‘होमस्टेलाई निरन्तरता दिन युवा सक्रिय हुनुपर्छ।’ संविधानसभा सदस्य जमीन्द्रमान घलेले गाउँलाई समृद्धिसँग जोड्न आवश्यक रहेको बताए। होमस्टे प्रवद्र्धन गर्न स्थानीय तह पनि सक्रिय हुनुपर्ने उनले बताए।

हिमचुलीको काखमा रहेको मनोरम पर्यटकीय गाउँ ताँजेमा उत्पादन हुने अर्गानिक खानेकुराले यहाँसम्म पुग्ने पर्यटकलाई आकर्षित गर्छ। स्थानीय मेखमाया घलेका अनुसार गाउँमा आउने पाहुनाले आर्गानिक कालो भट्मास, गाउँमै उत्पादित तरकारी, लोकल कुखुरा, लोकल मार्सी चामलको भात र कोदोको परिकार खान पाउँछन्। पर्यटकलाई स्थानीय फूलमाला, दहीटीका, नाचगानले स्वागत र विदाइ गर्ने गरिएको होमस्टे सञ्चालक मेखकुमारी घलेले बताइन्।

गाउँ छाडेर सहर वा विदेश भासिएकालाई पनि गाउँ फर्काउने अभियानमा दोर्दी गाउँपालिका लागेको छ।

पर्यटकका अलवा आफ्नै गाउँ छाडेर सहर वा विदेश भासिएकालाई पनि गाउँ फर्काउने अभियानमा दोर्दी गाउँपालिका लागेको छ। गाउँपालिकाले होमस्टेका साथै युवा लक्षित कार्यक्रम सञ्चालन गरेपछि स्थानीय युवा हौसिन थालेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए।

प्रोमु झरना, स्थानीय कला संस्कृति, भेषभुषा र अर्गानिक उत्पादन देखाएर २० लाख पर्यटक भिœयाउने सरकारी लक्ष्यमा साथ दिने ताँजेबासीको योजना छ। न्यानो आतिथ्यताका माध्यमबाट गाउँको परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटक आकर्षित हुने सुपर दोर्दी आयोजनाका निर्देशक अर्जुन गौतम बताउँछन्। होमस्टे अभियानमा साथ दिँदै आएको जलविद्युत् आयोजनाले स्थानीय आमा समूहकोे भवन निर्माण गरिदिएको छ।

जिप वा बसमा सदरमुकाम बेसीसहरबाट उदिपुर, नौथर, हिले, कीर्तिपुर, सिमी हुँदै २ घण्टामा ताँजे गाउँ पुगिन्छ। गाउँ हुँदै हिमचुली हिमाल, मेमेपोखरी, गोरखा र लमजुङको सिमानामा रहेको दूधपोखरी पुग्ने पदमार्ग छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.