बगरको तरबुजा खेतीले लाखौं आम्दानी
सिरहा : कर्जन्हा नगरपालिका ६ बेतहाका श्याम महतो गाउँछेउकै कमला खोलाको बगरमा यसवर्ष पनि तरबुजा खेती लगाएका छन्। उनी यतिबेला बिहानैदेखि बगरमा जाने र तरबुजा टिपेर व्यापारीलाई बेच्ने काममा व्यस्त हुन्छन्। चार बिघा जग्गामा लगाएको तरबुजाले उनी वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्छन्।
महतोले चैतको अन्तिम सातादेखि तरबुजा बेच्न सुरु गरेका छन्। जेठ महिनासम्म उनले ७ लाख रुपैयाँको तरबुजा बिक्री हुने अनुमान गरेका छन्। त्यही बगरमा उनले पहिले उखु र गहुँ खेती गर्थे। विगतमा त्यो खेतीबाट आम्दानी नदेखेपछि उनी दुई वर्ष कुवेत गए। विदेशमा कडा परि श्रम गर्दा पनि कमाई राम्रो नभएपछि बगरको तरबुजा खेतीमा फर्केको उनले सुनाए। विदेशभन्दा यही खेतीमा बढी आम्दानी हुने गरेको उनको भनाइ छ।
छिमेकी विनोद महतोले पनि दुई बिघामा तरबुजा लगाएका छन्। उनले पनि पहिले विदेश जान राहदानी बनाए। साथीभाइले विदेशमा गर्ने मेहनत गाउँमै गरे त्यत्ति कमाइ हुने सुझाव दिएपछि खेतीमै लागेको उनले बताए। ‘विदेश जान तरखरमा थिएँ’, उनले भने, ‘विदेशमा गर्ने परि श्रम देशमै गर्दा त्यति कमाइ हुनेरहेछ।’ ७/८ वर्षदेखि तरबुजा बेचेर लाखौं आम्दानी गरिरहेको उनले सुनाए।
श्याम, विनोद, ब्रह्मदेव राय र विहारी महतोजस्तै सोही गाउँका ७५ घरधुरीभन्दा बढी किसानले कमलाको बगरमा तरबुजा खेती लगाएका छन्। उनीहरूलाई खेतीका लागि बिउ नगरपालिकाले उपलब्ध गराएका थिए। व्यापारी खेतमा तरबुजा लिन आउने गरेको विहारीले सुनाए। ‘अहिले भर्खर तरबुजा टिप्न सुरु भएको छ, ७० देखि एक लाखसम्मको बेचिसकेका छौं’, उनले भने, ‘मौसमले साथ दिए ६/७ लाख रुपैयाँको बिक्री गर्छौं।’ चार महिनाको तरबुजाको आम्दानीले वर्षभरि गुजारा गर्न पुग्ने उनले सुनाए। दुई वर्षदेखि नगरपालिकाले बिउ उपलब्ध गराउँदा खेती गर्न किसानलाई लागतमा सहुलियत पुगेको विनोदले बताए।
‘नगरपालिकाले बिउ त दिन्छ तर त्यतिले हामीलाई पुग्दैन, प्राविधिक सहयोग भए खेती गर्न मद्दत पुग्छ’, विनोदले भने, ‘हामीले लगाएको बालीमा विभिन्न किसिमका रोग लाग्छन् तर हामीसँग कुनै उपाय हुँदैन बचाउने। प्राविधिक सहयोग गरिदिए किसानलाई राहत पुग्छ।’ तरबुजा बाहेक बगरमा अन्य तरकारी बाली पनि लगाउने गरेको उनले बताए। यही खेतीको आम्दानीले छोराछोरीको पढाइ र सम्पत्ति आर्जन गरेको विनोदले सुनाए।
नगरपालिकाबाट यस वर्ष ३ लाख ५० हजार रुपैयाँको तरबुजाको बिउ किसानलाई वितरण गरेको मेयर गंगा पासमानले जानकारी दिए। किसानको मागअनुसार सहयोग गर्ने उनले बताए। सिराहाको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बन्दीपुरदेखि दक्षिणी सीमाना सिरहा नगरपालिकासम्मका कमला छेउका गाउँवासीले बगरमा तरबुजा खेती लगाउने गरेका छन्। कमला खोलामा आएको बाढीले खेतीयोग्य जमिन बालुवा पुरेर बगरमा परिणत भएका थिए।
त्यही बगर अहिले किसानलाई आम्दानीको स्रोत बनेको छ। बगरमा सिराहाका बेताहा, भोक्राहा, चिकना, सारश्वर, बेल्हा, बसपिटालगायत दर्जनौं गाउँका किसान तरबुजा खेती गर्दै आएका छन्। गर्मी मौसममा तरबुजाको बिक्री बढी हुने गर्छन्।