मह जोडीको कमर्सियल कमेडी
विसं २०७५ मा ब्लकबस्टर बनेका फिल्महरू कमेडी शैलीका थिए। २०७६ पनि कमेडी फिल्म ‘दाल भात तरकारी’बाट सुरु हुँदै छ। ट्रेलरमा कलाकारको प्रस्तुति हेर्दा फिल्मले दर्शकलाई हँसाउने सजिलै अनुमान गर्न सकिन्छ। तर कलाकार हरिवंश आचार्य यसलाई कमेडी फिल्म भन्न चाहँदैनन्। जोकोहीले हास्य चलचित्र बनाइरहँदा के ‘किङ अफ कमेडी’ महजोडी आफैं कमेडीबाट अघाएको हो ?
पछिल्ला केही वर्षमा नेपाली चलचित्र उद्योगलाई कमेडी फिल्मले धानेको छ। छक्कापञ्जा, शत्रुगते जस्ता फिल्म व्यावसायिक रूपमा सफल भए। उद्योगले नेपली फिल्म हेर्ने मनग्गे दर्शक पायो। बजारले अरू कुनै विकल्प नछोडे पनि कलाकारहरू सकिनसकी दर्शक हँसाउँदै छन्।
हँसाएरै दर्शक हलसम्म तान्न सक्ने भएपछि चलचित्रकर्मी जस्तोसुकै कथालाई पनि जबर्जस्ती कमेडी बनाउन उद्यत देखिन्छन्। चाहे त्यो प्रेम कथानक चलचित्र होस् या मौलिक चलचित्र। कमेडीले फिल्ममा व्यावसायिक रूप लिँदा दिग्गज हास्यकलाकारसमेत यही लाइनमा सामेल छन्। यसको पछिल्लो उदाहरण हो, महजोडी।
नेपालमा हास्यव्यंग्यलाई व्यावसायिक रूप दिने जोडीका रूपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लिइन्छ। प्रहसन, नाटक र टेलिसिरियलमा हास्यव्यंग्य गर्दै आएको मह जोडी हाल लगातार कमर्सियल चलचित्र बनाउनतर्फ किन लागेको छ त ?
समयसँगै देशको सामाजिक, आर्थिक र राजनीतिक परिवेश बदलिएको छ। यो बदलाव मह जोडीमा पनि देखिन्छ। समयसँगै बहँदा महजोडीको फिल्मी कमेडीलाई दर्शकले ‘यमलोक’ र ‘विज्ञापन’मा गरेको कमेडी जसरी नै गर्विलो महसुस गर्न सक्लान् ? दालभात तरकारीमा दर्शकले मह जोडीलाई कुन रूपमा हेर्ने छ ? यिनै प्रश्नसँग जोडिएर सपना महर्जनले कलाकार हरिवंश आर्चायसँग गरेको कुराकानी ः
दालभात तरकारी कमेडी फिल्म हो ?
कलाकारको हाउभाउ र अभिनयले दर्शकलाई कमेडी प्रतीत हुन सक्छ। तर यो कमेडी फिल्म होइन। यो पारिवारिक फिल्म हो। यसलाई कमेडी भन्नै मिल्दैन।
दर्शकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
शत्रु गतेभन्दा राम्रो हुनुपर्ने प्रतिक्रिया आएका छन्। विषयवस्तु अझै राम्रो हुनुपर्ने बताउँछन्। फिल्म हेर्दा हिन्दी सिनेमाजस्तो नहोस् पनि भनेका छन्। मह जोडीले बनाएको फिल्म राम्रो हुने दर्शकमा विश्वास देखेको छु। जे होस्, दर्शकले हाम्रो फिल्म मन पराइदिनुभएको छ। दालभात तरकारीलाई पनि माया गर्नुहुने विश्वास छ।
पछिल्लो समय मह जोडी कमर्सियल फिल्मतर्फ बढी आकर्षित भएको हो ?
हामीले वर्षौंअगाडि बनाएका टेलिसिरियलहरू आज पनि व्यावसायिक रूपमा सफल छन्। एक हिसाबले त्यो कमर्सियल नै थियो। फेरि फिल्म मेकिङको छुट्टै फर्मुला छ। यसमा गीतसंगीतलाई पनि जोड्नु पर्छ। यसले अलि बढी कमर्सियल देखाएको हुन सक्छ। हामीले कुनै फेस्टिवलमा भाग लिने भए प्रयोगवादी फिल्म नै बनाउँथ्यौं। तर दाल भात तरकारी कमर्सियल फिल्मकै रूपमा बनाइएको हो।
मह जोडीले कमर्सियल फिल्ममा कमसल कमेडी गर्नु कत्तिको उचित होला ?
मेरो विचारमा कमर्सियल फिल्म पनि हामीले गर्नुपर्छ। भारतका दिलीप कुमार, अनिता भवञ्चन जस्ता दिग्गज कलाकारको आफ्नै प्रतिष्ठा छ तर पनि उनीहरू कमर्सियल फिल्म खेल्छन्। हामीले कमर्सियल फिल्म बनाइरहँदा हलमा आउने दर्शक त्यही मेन्टालिटी लिएर आउने गर्छन्। कमर्सियल फिल्म गर्दैमा मह जोडीले कम इज्जतको काम ग¥यो भन्ने म सोच्दिनँ। त्यसरी सोच्नु पनि हुँदैन। बरु चलचित्र चलेन भनेचाहिँ इज्जत घट्छ।
पछिल्लो समय मह जोडी कमर्सियल विज्ञापनमा पनि त्यत्तिकै देखिन्छ नि ?
नेपाली विज्ञापनमा नेपाली अनुहार नै देखिनु पर्छ भन्ने हाम्रो मान्यता हो। त्यसमाथि मह जोडीलाई दर्शकले मन पराउने भएकाले पनि देखिन जरुरी छ। गलत चिजको विज्ञापन गर्नु हुन्न। नराम्रो र गुणस्तरहीन वस्तुको विज्ञापन गर्नु हुँदैन। पहिलेपहिले हामी सामाजिक सचेतनाका विज्ञापनहरू खेल्थ्यौं। अहिले कमर्सियल विज्ञापन गरे पनि गुणस्तरहीन सामानको गरेका छैनौं।
वैदेशिक रोजगारी र बिदेसिने मोह दाल भात तरकारीमा पनि छ। यो विषय अब चलचित्रका लागि पुरानो भएन र ?
जसरी प्रेमकथा कहिल्यै पुरानो हुँदैन, त्यसरी वैदेशिक रोजगारीको कथा पनि पुरानो हुन सक्दैन। तर फिल्मको प्रस्तुतीकरण फरक हुनुपर्छ। फेरि देशको जल्दोबल्दो समस्या नै यही हो। यसैमा फिल्म बनाउँदा उचित हुने सम्झेर बनाएका हौं।