रनेको खुसी

रनेको खुसी

आस्तिका र रने घरभित्रै खाटमा बसेर खेलिरहेका थिए। उनीहरू बसिरहेको खाट लर्‍याङलर्‍याङ हल्लियो। कसले हल्लायो भनेर आस्तिका खाटबाट भुइँमा ओर्लिन्। भुइँ पनि हल्लियो। त्यसपछि उनीहरू दौडेर आँगनमा पुगे। आँगन पनि हल्लियो। आँगनबाट फराल्दै तीन कान्लामुनि घरखेतमा गए। हजुरआमालाई च्याप्प समाते। आत्तिँदै आइपुगेका आस्तिका र रनेलाई हजुरआमाले च्याप्प समातेर काखमा बसाउनुभयो। स्याँस्याँ गर्दै आस्तिकाले भनिन्, ‘हजुरआमा, हामी बसेको खाट केलेकेले हल्लायो।’ डराएको स्वरमा रनेले भने, ‘हजुरआमा, आँगन पनि हल्लियो नि।’

सिंगै धरती कम्पन भएपछि हजुरआमाका नौनाडी गले। उहाँ उभिएकै ठाउँमा थचक्क बस्नुभयो। रनेले हाम्रो खाट भूतले हल्लाएको हो भनेर दोहोर्‍याएर सोधेपछि हजुरआमाले भन्नुभयो, ‘भूतले होइन बाबु, भूकम्पले हल्लाएको हो।’ आस्तिकाले सोधिन्, ‘हजुरआमा, भूकम्पले सबैतिर हल्लाउँछ ? ’ हजुरआमाले भन्नुभयो, ‘हल्लाउँछ नि। घर हल्लाउँछ। रूख हल्लाउँछ। वारिपारि डाँडाकाँडातिर हेर त, कहाँकहाँ हल्लायो ? ’

रनेले सोधे, ‘हजुरआमा, पारि भीरमा पहिरो गयो त ? रूख पनि लड्यो हेर्नुस् त ? त्यहाँ पनि भूकम्प गएको हो ? ’ हजुरआमाले भन्नुभयो, ‘हो बाबु हो।’ रनेले सोधे, ‘हजुरआमा, कहाँकहाँ गयो भूकम्प ? ’ हजुरआमाले भन्नुभयो, ‘यति ठूलो भूकम्प वारिपारि मात्रै होइन, गोरखा, नुवाकोट, चौतारा, काठमाडौं, बनेपा, रसुवा सबैतिर पुग्यो नि।’

गाउँबाट मानिसहरू चौरमा जम्मा भए। आस्तिकाले सोधिन्, ‘हजुरआमा, पर चौरमा कत्ति मानिसहरू जम्मा भएका, किन ? ’ हजुरआमाले भन्नुभयो, ‘भूकम्प आएपछि मानिसहरू घरभित्र बस्नु हुँदैन। रूख र घर नभएको ठाउँमा जानुपर्छ।’ रनेले सोधे, ‘भूकम्प आएको बेलामा घर र रूख वरिपरि किन बस्नु हुँदैन ? ’ ‘घर लडेर पुर्छ, रूखले थिच्छ। खुला चौरमा गयो भने सुरक्षित रहन सकिन्छ नि’, हजुरआमाले भन्नुभयो।

दोस्रोपटक भूकम्प आयो। आस्तिकाले भनिन्, ‘हजुरआमा, फेरि भूकम्प आयो।’ रनेले सोधे, ‘हजुरआमा, अब आइरहन्छ भूकम्प ? ’ नातिनातिना नआत्तियून् भनेर सान्त्वना दिँदै हजुरआमाले भन्नुभयो, ‘तीनचार पटकसम्म अलिअलि आउँछ त्यसपछि आउँदैन।’ रनेले भने, हजुरआमा, पल्लाघरे काकाको घर लड्यो, हेर्नुस् त ? ’ आस्तिकाले भनिन्, ‘हजुरआमा, हाम्रो घरको गाह्रो पनि चरक्क चिरिएछ त ? ’ रनेले भने, ‘हजुरआमा, हाम्रो घरको पालीका चारपाँचवटा ढुंगा पनि खसेछ ? ’ हजुरआमाले भन्नुभयो, ‘भूकम्पले हल्लाएपछि खसेको हो नि बाबु।’

रनेले भने, ‘दिदी, फेरि भूकम्प आयो भने हाम्रो घर लड्छ। खाटमा मेरो झोला छ, झोलामा किताब छ, बरु अहिल्यै भित्र गएर ल्याइदिनुस् न।’ आस्तिकाले भनिन्, ‘भूकम्प आइरहेको बेलामा घरभित्र जानु हुँदैन। छानाको ढुंगा खसेर लाग्छ नि।’ रनेले भने, ‘घर लड्यो भने मेरो नयाँ किताब र झोला पुरिँदैन त ? ’

रने हप्ता दिनअगाडि आस्तिका दिदी पढ्ने स्कुलमा कक्षा १ मा भर्ना भएका थिए। रनेलाई उसको बुबाले एउटा झोला, तीनवटा किताब, तीनवटा कापी र एउटा सिसाकलम पनि किनिदिनुभएको थियो। रने नयाँ झोला, नयाँ किताबकापी पाएर खुसी भएका थिए। उनी झोला बोकेर दिदीसँगै स्कुल जान्थे। बिहान उठेदेखि बेलुकासम्म झोला बोकिरहन्थे। रनेको झोला बोक्ने रहर देखेर सबै छक्क पर्थे।

दिदीले झोला ल्याइदिनुभएन भनेर रने रिसाए। उनी अलिपर गएर भुइँमा ठुस्स परेर बसे अनि गनगन गर्न थाले, ‘मलाई त्यही झोला चाहिन्छ। त्यही किताब चाहिन्छ। मेरो झोला ल्याइदिनुभएन भने म भोलिदेखि स्कुलै जान्न।’

रनेकी आमा पल्लाघरे काकीको मेला जानुभएको थियो। उहाँ छोराछोरी कतै गए कि घरमै छन् भनेर हतारहतार आइपुग्नुभयो। छोरालाई देख्नेबित्तिकै सोध्नुभयो, ‘रने घोसेमुन्टो लगाइरहेको छ, के भयो ? ’ हजुरआमाले भन्नुभयो, ‘आस्तिकाले घरभित्रबाट झोला नल्याइदिएको भनेर रिसाएको हो।’

दाउरा खोज्न बनपाखा गएका रनेका बुबा पनि आइपुग्नुभयो। उहाँले पनि छोरो ठुस्स परेर बस्नुको कारण थाहा पाउनुभयो। रनेले रुन्चे स्वरमा बुबालाई मेरो नयाँ झोला र किताब ल्याइदिनुस् भने।

केही समयपछि परकम्प आउन रोकियो। रनेका बुबा डराइडराई घरभित्र जानुभयो। छिनभरमै रनेको झोला ल्याउनुभयो। आफ्नो झोला र किताब देख्नासाथ रने औधि खुसी भए। बाबाले दिनासाथ आफ्नो झोला च्याप्प समाते। आस्तिका पनि खुसी भइन्। भूकम्पबाट सबैजना बच्न सकेकोमा रनेका बुबा, आमा र हजुरआमा पनि खुसी हुनुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.