हुम्लाको 'फ्लू' प्रभावित क्षेत्रमा चिकित्सक टोली पुग्यो
सुर्खेत : मौसमी फ्लूका कारण ९ जनाको मृत्यु भएको हुम्लाको दुर्गम क्षेत्र ताँजाकोटमा उपचारका लागि प्रदेश अस्पतालका चिकित्सकको टोली पुगेको छ । सदरमुकामबाट जान सम्भव नभएपछि चिकित्सकको टोलीलाई आइतबार बिहान हेलिकप्टरमार्फत पुर्याइएको हो ।
पहिलो फ्लाइटमा डा. टेकराज भट्टराईको टोली संक्रमण स्थलमा पुगेर स्वास्थ्य शिविर सुरु गरिसकेको छ भने केही बेरमा नै अर्को फ्लाइटमा डा.केएन पौडेलको टोली जाने प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । चिकित्सकसँगै औषधी पनि पुगेपछि ताँजाकोट–२ मा रहेको महिला स्वास्थ्यचौकीमा शिविर सुरु गरिएको स्वास्थ्य चौकीका अहेब मोतीलाल जैसीले जानकारी दिए ।
बाँकी चिकित्सकको टोली आउँदासम्म टाढाबाट आएका बिरामीलाई समयमै जाँच गर्न उपचार सुरु गरिएको उनले बताए । उनकाअनुसार अहिलेसम्म वडा नम्बर २ का मात्रै ६० जना गम्भीर र सामान्य प्रकृतिका बिरामीहरु शिविरमा उपस्थित भइसकेका छन् । ‘आज हामी २ नम्बरमा नै उपचार गर्नेछौं, तर १ नम्बरमा पनि धेरै सिरियस भएको भन्ने खबर पाएका छौं’ उनले भने, ‘हिडेर तीन घण्टा लाग्ने भएकाले भोली बिहानै १ नम्बरमा शिविरका लागि जानेछौं ।’