केपीएल सिजन-२: सात विकेटले मध्यपश्चिम विजयी
सुर्खेतः सुर्खेतमा जारी केपीएल सिजन-२ को चौथो दिन भएको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लब कोहलपुर ७ विकेटले विजयी भएको छ। आइतबार बिहान भएको पहिलो खेलमा झाँपाको लालीगुँरास क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो।
खेलमा टस जितेर ब्याटिंग गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर एकसय ११ रन बनाएको थियो। एकसय १२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले ३ विकेट गुमाएर १६ दशमलब एक ओभरमा पुरा गर्यो।
मध्यपश्चिमको जितमा बलिङ्गमा आकाश विष्ट र अजय साहनीले तीन-तीन विकेट लिए। यस्तै ब्याटिङ्गमा सैलेन्द्र यादवले अविजित ५३ रन तथा विशाल गुप्ताले अविजित ४५ बनाए। सैलेन्द्रले ३५ बलमा ९ चौका र एक छक्का तथा विशालले ४३ बलमा ५ चौका प्रहार गरे।
यसअघि लालीगुराँसको लागि ब्याटिङ्गमा प्रकाश पटेलले सर्वाधिक ३० तथा धनुश थापाले १८ रन बनाएका थिए। खेलको प्लेयर अफ द म्याच ३ विकेट लिएका आकास बिस्ट घोषित भए। समूह 'ए' मा रहेको मध्यपश्चिमको पहिलो जित हो। लालीगुराँसले भने तीनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ। समूहको शीर्ष स्थानमा रहेको कर्णाली-११ ले २ खेल खेल्दा २ वटैमा जित हाँसिल गरेको छ भने त्रिभुवन आर्मीले एक खेल जितेको छ।