रंगिदै घलेगाउँ

रंगिदै घलेगाउँ

बेंसीसहर : सार्क राष्ट्रकै नमुना पर्यटकीय गाउँको रुपमा विख्यात लमजुङको घलेगाउँ पुग्दा मुग्ध नहुने को होला र ? लमजुङको क्होलासोथर गाउँपालिकामा पर्ने घलेगाउँ पुग्दा लमजुङ, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गणेश हिमाल आदि दर्जनौं हिमश्रृङ्खलाको चित्ताकर्षक दृश्य, गुरुङ संस्कृति र परम्परा अनि स्थानीय उत्पादनका आर्गानिक खानपानका साथै गाउँलेको न्यानो आथित्यले पर्यटकलाई लट्ठै पार्छ। 

करिब दुई दशकको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई दक्षिण एसियामै नमुना ग्रामीण पर्यटकीय गाउँका रुपमा प्रख्यात बनायो।अहिले घलेगाउँ स्मार्ट भिलेजको रुपमा अघि बढ्दैछ। पाँच दशक पुराना टिनका छाना फेरेर रङ्गिन छानाले सजाउन थालिएको छ।

सार्क भिलेजको रुपमा ख्याति कमाएको घलेगाउँ स्मार्ट भिलेजतर्फ उन्मुख भएपछि सवै घरमा एकैनासले रातो रंगको टीन राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए। क्व्होलोसोथर गाउँपालिका ३ मा पर्ने घलेगाउँलाई गण्डकी प्रदेश सरकारले स्मार्ट भिलेजको रुपमा अघि सारेको छ।

घलेकाअनुसार स्मार्ट भिलेज बनाउने योजना अनुरुप गाउँका  सबै घरमा एउटै रंगको छानो छाउन गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्षमा २९ लाख ४७ हजार रुपियाँ सहयोग गरेको छ।क्व्होलासोथर गाउँपालिकाले १५ लाख रुपैयाँ दिएको थियो। 

प्रदेश र गाउँपालिकाको बजेटबाट गाउँका १ सय २० घरमा रातो रंगको छानो राखिएको छ।'हामीले वर्षौंदेखिको पुरानो टीनको छानोलाई हटाएर नयाँ राखेका छौं।नयाँ पनि एउटै रंग रातो राखेका छौं, घलेले भने, 'अब केही घरमा मात्रै रातो रंगको छानो राख्न बाँकी छ। हामी एक महिनामा सबै काम सक्छौं।' 

पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घ घलेका अनुसार स्मार्ट भिलेज बनाउने अभियानअन्तर्गत आवश्यक पूर्वाधार निर्माणकार्य थपिँदै लगिएको छ।

गाउँका सिँढीहरु निर्माण तथा मर्मत भइरहेको छ। गाउँलाई सफासुग्घर गरी चिटिक्क बनाइएको छ। गाउँ तथा बाटो वरपर फूल रोप्न थालिएको छ। गाउँमा रहेको गुरुङ संग्रहालय, चियावारी, भेडीगोठलाई थप व्यवस्थित बनाउन थालिएको उनले बताए।

घर पालुवा जनावरलाई व्यवस्थापन गर्दै लगिएको छ। स्मार्ट भिलेज निर्माणका लागि सुरुमा एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको पर्यटन समितिका सचिव उमलबहादुर विकले बताए।

स्थानीय ६७ वर्षीय गजबहादुर गुरुङले पुरानो टीनको छानो हटाएर नयाँ रातो रंगको छानोले घर छाउँदा सुन्दर देखिएको बताए।'डाँडाबाट हेर्दा हाम्रो गाउँ पुरानो जस्तो देखिन्थ्यो। अहिले त सबै एउटै रंगको देखिएको छ। नयाँ रंगको देखिएको छ, उनले भने, 'पहिले उराठ लाग्दो देखिने गाउँ नयाँ छानोले चम्किएको छ, रमाइलो लागेको छ।'

७६ वर्षीया रणबहादुर गुरुङले रातो रङको छानाले गाउँ नै रमाइलो देखिएको बताए। समुद्री सतहदेखि करिब २ हजार १ सय मिटर उचाईको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित होमस्टे संचालनमा ल्याइएको थियो। पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा घलेगाउँ परेको छ।

घलेगाउँमा नमुना चिया वगान, प्राङ्गारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टे रहेको छ । नयाँ तयार पारिएको होमस्टेमा कम्बोट खालको शौचालय प्यान समेत राख्न थालिएको छ। हिमालको काखको घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका दर्जन हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

स्थानीय नदी एवं खोलाका माछा, भेडीगोठका भेडा, खसी, स्थानीय कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरैमा उत्पादित कोदाको मदिराको स्वादसंगै कुरिलो, निउरो, बडमले, सिस्नो जस्ता परिकारले पर्यटकलाई लोभ्याएको छ। घलेगाउँ लमजुङको बेंसीसहरदेखि २४ किलोमिटको दुरीमा पर्छ। अहिले कच्ची मोटरबाटो भएपनि ग्राभेल भएकाले २ घण्टामै बेंसीसहर पुग्न सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.