मन्थलीमा बसको ढोकाबाट खस्दा एकको मृत्यु
रामेछाप : मन्थली नगरपालिका वडा नं. २ लिपेखोलामा बसबाट खस्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आइतबार दोलखाबाट रामेछापको सदरमुकामतर्फ आउँदै गरेको बा.३ ख ३२६१ नम्बरको अरनिको यातायातको बसको ढोकाबाट खस्दा मन्थली वडा नं. २ टेकनपुरकी २२ वर्षीय सुमित्रा कार्कीको ज्यान गएको हो ।
ढोकाबाट खसेकी कार्कीलाई गाडी गुड्ने क्रममा ठक्कर दिएको थियो । घटनास्थलमा गम्भीर घाइते भएकी उनलाई मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धुलिखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी १६ वर्षीय मनिषा कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए।