'आमा दिदी बहिनी हो'

'आमा दिदी बहिनी हो'

आमा तिम्रो माया कञ्चन पानी जस्तो

आमा तिम्रो मुटु मायाको खानी जस्तो।

अशोक राईको शब्दमा रहेको उक्त गीतको अन्तरा गुनगुनाउँदै जब जनगायक जेबी टुहुरेले माइक उठाए तब प्रज्ञा प्रतिष्ठान कमलादीको माहोल तात्यो। टुहुरेका गीत सुन्न बसेका पारखीहरू मन्त्रमुग्ध बनेका थिए। भर्खर पानी परेर हिलाम्मे भएको सडक पार गर्दै सयौंैंको संख्यामा संगीत पारखीहरू कमलादी पुगेका थिए। अवसर थियो, ‘जेबी टुहुरेको निरन्तरता २०७६’ कार्यक्रम।

७५ वर्षे उमेरमा पनि उनको जोस, जाँगर र सांगीतिक सक्रियता देख्दा जो कोही नतमस्तक बन्थ्यो। सन्ध्याकालीन समयमा उनले करिब दुई घण्टा संगीत पारखीलाई भरपूर मनोरञ्जन दिए। जेबी टुहुरे गीतमात्रै गाउँदैनन्, उनी गीतको माध्यमबाट सामाजिक सन्देश प्रवाह पनि गर्छन्। उनका गीतहरूले गाउँठाउँको चेतना बोल्छ। नागरिक स्वतन्त्रता, जनअधिकार, महिला मुक्तिको पक्षमा करिब डेढ सय गीतमा स्वर दिएका छन् उनले। सामाजिक र राजनीतिक अभियन्ताको रूपमा सक्रिय उनले लामो समयदेखि जागरणमूलक र जनवादी गीत गाउँदै आएका छन्।

२००१ सालमा धरानमा जन्मिएका टुहुरे २०२४ सालदेखि नै न्याय, समानता, स्वतन्त्रता र परिवर्तनका पक्षमा गीतहरू गाउँदै हिँडेका छन्। जीवनभर जनता जगाउने गीत गाएरै बिताएका टुहुरे ७५ वर्षको उमेरसम्म उस्तै सक्रिय र क्रियाशील छन्।

कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टुहुरेलाई शुभकामना व्यक्त गरेका थिए। उनले जनयुद्ध सफल बनाउन टुहुरेलगायतका कलाकारले सांगीतिक फिल्डबाट सहयोग गरेको स्मरण गरे। गीतका शब्दबाटैे जनताको चेतना जगाउने र समाजलाई अग्रगामी परिवर्तनको बाटोमा हिँडाउन सांगीतिक क्षेत्रको महŒवपूर्ण योगदान रहेको बताए। यसका साथेै उनले ‘आफूले टुहुरेका गीत गाउँदै गाउँगाउँ हिँडेको स्मरण पनि गरे।

कोसीको पानी सलल, पानी चल्दैन रे, बसाइँ हिँड्नेको ताँतीले, नयाँ दिन आयो, आमा दिदी बहिनी होलगायत १४ वटा गीतमा उनले प्रस्तुति दिए। उनको स्वरमा बेग्लै मिठास छ। टुहुरेको स्वर, प्रस्तुतिमा विविधता र जोस हेर्दा ७५ वर्षे उमेरका हुन् भनेर विश्वास गर्न गाह्रो पर्छ। उमेरलाई च्यालेन्ज गर्दै उनी निरन्तर संगीतकर्ममै सक्रिय छन्।

नीलो कोट पाइन्टमा सजिएका टुहुरेको गीतमा दर्शक झुमिरहेका थिए। प्रज्ञा प्रतिष्ठानको हल खचाखच थियो। टुहुरेको स्वरमा स्वर मिलाउँदै सबैले गीत गुनगुनाउँदै आत्मीयता साटे। जब ढाकाको सारी चोलीमा चिटिक्क परेर अभिनेत्री दिया मास्के मञ्चमा उपस्थित भइन् तब दर्शकले ताली र हुटिङले स्वागत गरे। दियाले बेचिएकी चेलीको कथामा लेखिएको गीतमा दमदार नृत्य गरिन्। रंगकर्ममा जमेकी दियाको नाचमा नृत्यसँगै अभिनय पनि देख्न सकिन्थ्यो। उनी सँगैसँगै वाद्यवादक, गायकगायिकाहरू पनि जमेर नाचे।

आमा दिदी बहिनी हो, कति बस्छौ दासी भै

सुखको सधैं प्यासी बनेर...

आफ्नै पौरख खान्छनआफ्नै सीपमा बाँच्छनदुःख कष्ट सहेर

सृष्टि यिनले थाम्छन्

असल महान् व्यक्तिहरू यिनैले जन्माउँछन्

ज्ञानगुन बुद्धिहरू यिनैले सिकाउँछन् तर पनि अँध्यारोमा जीवन बिताउँछन्।

कार्यक्रमको बीचमा जब बहुचर्चित यो गीतको धुन बज्यो। दर्शक जुरुकजुरुक उठेका थिए। सबैले सँगसँगै गीत गाउँदै ताली पिटिरहेका थिए। यस्तो लाग्थ्यो ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भै’ बोलको गीत हरेकको जिब्रोमै झुन्डिएको छ। यो गीतले कार्यक्रमस्थलको रौनक बदल्यो। पूर्वप्रधानमन्त्री नैे मञ्चमा उक्लेर नाच्न थाले, दर्शकको भीड मञ्चतिर बढ्यो। टुहुरेको स्वरमा दर्शक नाचे। प्रज्ञा प्रतिष्ठानको मञ्च हुटिङ ताली र गीतले गुञ्जियो।

जेबी टुहुरे फाउन्डेसनको आयोजनामा कार्यक्रम आयोजना भएको थियो। कार्यक्रममा मधु गुरुङ, भूमिका श्रेष्ठ, पवित्रा घर्ती, पेम्बा लामा, गंगा राई, आकाश थापा, रूपक चौधरी, केशर कालिकोटे, कर्ण परियार, बिहानी विक, धनु ग्याङमीलगायतका कलाकारले टुहुरेलाई गायनमा सहयोग गरेका थिए। यस्तै वाद्यवादनमा भरत बुढाथोकी, सुधीर चौधरी, पोषण घर्तीलगायतका कलाकारले बेजोड प्रस्तुति दिएका थिए। ०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.