व्यवसायीलाई अर्को ‘गौचन काण्ड’ को धम्की

व्यवसायीलाई अर्को ‘गौचन काण्ड’ को धम्की

काठमाडौं : निर्माण व्यवसायीलाई रकम माग्दै फोनमा लगातार धम्की आउन थालेपछि उनीहरू त्रसित छन्। अर्को ‘गौचन काण्ड’ मच्चिने भन्दै उनीहरूलाई गत फागुन देखि नदेखिने नम्बरबाट धम्की आएको हो।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीको ज्यानै लिने धम्की आएको जानकारी प्रधानमन्त्रीदेखि गृहमन्त्री र प्रहरी आईजीसम्मलाई गराइसकेको बताए। व्यवसायीलाई फोनमा ५० लाखदेखि एक करोड रुपैयाँसम्म चन्दा मागिएको जानकारी उनले दिए। उनले भने, ‘हाम्रा २२ जना साथीलाई इन्टरनेट कलमार्फत् अननोन नम्बरबाट फोन गरी रकम मागिरहेका छन्। नदिए पूर्वअध्यक्ष शरद गौचनकै हालतमा पुर्‍याइदिने धम्की दिइरहेका छन्।’

लगातार धम्की आएपछि प्रधानमन्त्रीसम्म ध्यानाकर्षण गराउँदा पनि धम्कीका फोन आउन नछाडेको सिंहले गुनासो गरे। उनले भने, ‘एकातिर धम्की आइरहेको छ, अर्कोतिर सरकारले व्यवसायीलाई नै तर्साउँदै आएको छ। कसरी व्यवसाय गर्ने ? ’ ठेक्कापट्टाको काममा त्रुटि पाइए कारवाही गर्ने चेतावनी पटकपटक व्यवसायीलाई सरकारले दिँदै आएको उनले बताए। उनले भने, ‘हामीलाई धम्क्याउनेलाई कारवाही गर्न सरकारले तदारुकता देखाउनुपर्‍यो। अहिले पनि ठेक्कापट्टाको हिस्सा सरकारी कर्मचारीले माग्न छाडेका छैनन्। त्यसको पनि छानबिन हुनुपर्छ।’

धम्की आएको विषयमा केही दिनभित्रै सार्वजनिक गर्ने तयारी महासंघले गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले गौचनको नाम लिएर व्यवसायीलाई धम्की आउन थालेपछि यस प्रकरणमा पक्राउ परेका अपराधीबारे गोप्य अनुसन्धान थालेको छ। अनुसन्धानका क्रममा गौचन हत्याकै मुख्य योजनाकार भनिएका हाल जेलमा रहेका समिरमानसिंह बस्न्यातमाथि निगरानी बढाइएको महाशाखाका एक अधिकृतले बताए। उनका अनुसार अनुसन्धान गर्दा केही व्यवसायीलाई बस्न्यात आफैंले फोन गरेर व्यवसायको सेयर चाहियो भनेर धम्क्याएको रहस्य खुल्यो। व्यवसायीको मौखिक उजुरीका आधारमा महाशाखाले अनुसन्धान थालेको हो।

समिरले जेल भित्र कैदीले पाउने ल्यान्डलाइन फोन दुरूपयोग गरेको गुनासो प्रहरीमा पुगेको थियो। उनले जेलका चौकीदारलाई प्रभावमा पारी लामो समय फोनमा गफिने गरेको महाशाखाका एक अधिकृतले बताए। महासंघका अध्यक्ष सिंहले सुरक्षाका कारण धम्की खेप्ने व्यवसायीको नाम सार्वजनिक नगर्ने बताए। उनका अनुसार दैनिक २ वटासम्म धम्की आउँछन्।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले व्यवसायीलाई आएको धम्कीबारे अनुसन्धान भइरहेको बताए। उनले व्यवसायीले आफूलाई आएको धम्कीबारे तत्काल प्रहरीमा जानकारी गराए आवश्यक अनुसन्धान गरेर कानुनी दायरामा ल्याउने र केहीलाई ल्याइसकेको बताए। उनले भने, ‘प्रहरी चुप लागेर बसेको छैन। अनुसन्धान गरिरहेको छ। जुनसुकै आवरणमा धम्की दिए पनि उनीहरूलाई कारवाहीको दायरामा ल्याउँछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.