अर्थतन्त्र बलियो बनाउन सहज कनेक्टिभिटी पहिलो सर्त हो

अर्थतन्त्र बलियो बनाउन सहज कनेक्टिभिटी पहिलो सर्त हो

विश्व राजनीति चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र अमेरिकाको इन्डो–प्यासिफिक क्षेत्रअन्तर्गतको रणनीतिवरिपरि घुमेको छ । नेपालले दुई वर्षअघि बीआरआईको सदस्य र केही महिनाअघि ‘इन्डो –प्यासिफिक क्षेत्र’ मा सहकार्य बढाउने सहमति गरेको छ । यही पृष्ठभूमिमा गणतन्त्र स्थापनाको दशकपछि नेपाललाई पहिलोपटक बेइजिङले राष्ट्रपतिलाई स्वागत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणको एउटा पाटो सम्पन्न भएको छ भने दुईपक्षीय उच्चस्तरीय वार्ता आज हुँदै छ । भ्रमण टोलीमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बीआरआई सम्मेलन, नेपाल सम्बन्ध, रेलबारे चिनियाँ अन्तरराष्ट्रिय रेडियोमा नेपाली भाषाविज्ञको रूपमा कार्यरत अजय अलौकिकले अन्नपूर्ण पोस्ट्का लागि गरेको कुराकानी :

 बीआरआई सम्मेलनबाट हामीलाई कस्तो आश्वासन प्राप्त भएको छ ?

मुलुक गणतन्त्रमा प्रवेश गरेपछि राष्ट्रप्रमुखबाट भएको चीनको पहिलो राजकीय भ्रमण हो । यो भ्रमणको ठूलो महत्व छ । दुईपक्षीय वार्ता र सहमतिको अतिरिक्त अर्को पाटो पनि छ । दोस्रो बीआरआई फोरममा भएको सहभागिता त्यही पाटोमा पर्छ । योजना र खाकासहितको घोषणापत्र सार्वजनिक भएका छन् । नेपालले नै प्रस्ताव गरेको रेल सञ्जाल र बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल बीआरआई परियोजनाको एक कार्यक्रमका रूपमा सूचीकृत भएको छ ।

यसबाट हामी उत्साहित छौं । बीआरआई सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । नेपालको तर्फबाट सम्मेलनमा सहभागी भई आफ्ना कुरा राख्न पाउँदा हामी खुसी छौं । यो दुईपक्षीय भ्रमण उपयोगी हुने आशा छ ।२. संयुक्त विज्ञप्तिमा नेपालको एजेन्डा पनि परेको भन्नाले सबैको सहमति हो कि नेपाल र चीनको मात्र ?

सबै ३७ मुलुकका राष्ट्र एवं सरकार प्रमुख÷प्रतिनिधि, राष्ट्रसंघका महासचिव, अन्तरराष्ट्रिय मुद्राकोषका महानिर्देशकसहितले जारी गरेको संयुक्त वक्तव्यमा नेपालको उक्त परियोजना पनि परेको हो । त्यो दुई देशको मात्र नभई सबैको चासोमा रहन्छ । जुन वक्तव्यले बीआरआईको भावना, मर्म र अगाडिको बाटोबारे प्रस्ट रेखांकन गरेको छ । यसमा हामी खुसी हुनुपर्छ ।

 त्यसो भए नेपालको तर्फबाट बीआरआईमा अन्य नयाँ कार्ययोजना पनि अघि बढेका छन् कि ?

सोमबार बिहान दुई राष्ट्रपतिबीच दुईपक्षीय वार्ता हुनेछ । दुवै नेताले शदीयौंदेखि रहँदै आएको घनिष्ट र समस्यारहित सम्बन्धलाई थप उचाइमा पुर्‍याउन विभिन्न उपायको खोजी गर्नु हुनेछ । दुईपक्षीय बैठकमा खासगरी आर्थिक साझेदारीलाई उचाइमा पुर्‍याउनेमा हामी विश्वस्त छौं । हामीले बीआरआईअन्तर्गत बढाउन चाहेका विभिन्न परियोजना छलफलको चरणमा राख्ने छौं । कतिपय कूटनीतिक च्यानलमार्फत राखिसकेका पनि छौं । ती सबैमा छलफल हुनेछ ।

सहयोग र लगानीको चरणबारे छलफल जारी छ । खासगरी चिनियाँ नेतृत्वले पटक–पटक नेपालको विकासमा साथ दिने धारणा व्यक्त गरेकाबाट पनि हामी उत्साहित छैां । सन् २०१६ मा सहमति भएको यातायात पारवहनसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । उत्तरी नाका हुँदै समुद्रसम्म पुग्ने सहज वातावरण यसले दिनेछ । यसले नेपाललाई एकपक्षीय परनिर्भरताबाट बाहिर ल्याउने छ । सम्पदा नियन्त्रण, गुणस्तर कायम, सूचना आदानप्रदान, चोरी निकासी नियन्त्रण, सीमा भन्सार व्यवस्थितजस्ता विषयमा छलफल हुनेछ ।

बीआरआईलाई तपाईंले कसरी विश्लेषण गर्नुभएको छ ?

बीआरआई सबैको साझा सहकार्यबाट सबैले उस्तै प्रकारको समृद्धि हासिल गर्ने योजना हो । चीनले आफ्नो कूटनीतिको एक अंगका रूपमा यसलाई अघि बढाएको छ । सायद यही भएरै १२९ मुलुक यसमा आबद्ध भइसकेका छन् । एसियाली मात्र होइन, युरोपेली, अफ्रिकी, ल्याटिन अमेरिकी मुलुक, प्रशान्त महासागर आसपासका मुलुक पनि सहभागी भए । यसको कार्यान्वयनले बजार र मानव सभ्यतालाई जोड्छ ।

उत्पादनको पहुँच र सहकार्यको नयाँ स्वरूप अघि बढ्छ । समुद्र जोडिएका मुलुकले भन्दा २० प्रतिशतभन्दा बढी मूल्य हामी स्वतः तिरिरहेका छौं । अर्थतन्त्र बलियो बनाउन सहज कनेक्टिभिटी पहिलो सर्त हो ।

हाम्रो अर्को छिमेकी भारत नै यसमा आबद्ध नहुँदा हामीलाई कुनै व्यवधान त हुँदैन नि ?       

यस्तो विषयले हामीलाई कुनै व्यवधान पर्दैन । ढिलोचाँडो एसिया र युरोपका अन्य मुलुक यसमा सहभागी हुनेछन् । आपसमा सहकार्य गरेर समान विकास अघि बढाउने विषयमा नआउने कुरै छैन ।

दिगो विकास हासिल गर्ने विषयमा हुने सहकार्य हाम्रो हितमा छ । मुलुकलाई हित हुने गरी आफ्नो एजेन्डासहित जाने हुनाले यस्ता योजना जसले ल्याए पनि हामी जानेछौं । सबैले आफ्नो मुलुक र जनताको भविष्य हेरेर काम गर्छ ।

 प्रोटोकलबाट पहुँच बढ्ने त भयो तर त्यसका लागि बाहै्र महिना चल्ने सडक आवश्यक हुन्छ । न चीनतर्फका सडक १२ महिना चल्छन् न त नेपालतर्फका सडक नै व्यवस्थित छन् । यो चुनौतीलाई कसरी हेर्नुभएको छ ?

नाकासम्मको सडक स्तरोन्नति गर्ने र सबल बनाउने प्राथमिकता र प्रतिबद्धता दुवैको छ । उताका सडक राम्रै छन् । हामी पनि आफ्नो तर्फबाट तीव्र गतिमा सडक निर्माण गरिरहेका छौं । कालीगण्डकी र कर्णाली करिडोर बनिरहेको छ ।

काठमाडौं–रसुवागढी बाटोको काम अघि बढेको छ । केही भाग राम्रा भइसकेका छन् । किमाथांका नाका भनौं या हिल्सा दुवैतर्फ काम अघि बढेका छन् । कैयन् नाकाबाट विशेष आर्थिक क्षेत्रसहितको प्याकेजमा कतिपय काम हुने तयारी छ । ती विषयले आज हुने वार्तामा स्थान पाउनेछ ।

लगानीको ढाँचा÷प्रकारका बारेमा पनि केही छलफल भयो ?

केही परियोजना अनुदान, केही सहुलियत ऋण र केही परियोजना चीनको प्रत्यक्ष लगानीमा बनाउन सकिने हाम्रो धारणा हो । यस अलावा नेपालसमेत सदस्य रहेको एसियाली पूर्वाधार विकास बैंकमार्फत सहुलियत ऋण लिएर काम अघि बढाउने सोच हाम्रो छ । कसरी कुन रूपमा बनाउने भन्ने विषयमा अहिले छलफल भइरहेको छ । कतिपय संयुक्त आयोजनाका बारेमा पनि छलफल चलिरहेको छ ।

चिनियाँ पक्षले रेललगायतका पूर्वाधार अनुदानमा बनाउन सकिँदैन भनेको हल्ला बाहिर आइरहेको छ नि ?       

त्यो हल्ला नै हो । त्यसमा सत्यता छैन । रेलको विषयमा पूर्व सम्भाव्यता अध्ययन सकिएको छ । यसको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने चरणमा छौं । यसको मोडलबारे छलफल भइरहेको छ । नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने परियोजना पूरा होस् भन्ने तवरले गर्ने काम भइरहेकै छ ।

रेल नेपालको आर्थिक विकासमा महत्वपूर्ण ठहर हुने भनिएको अवस्थामा यसको विषयमा छलफल हुनुलाई नकारात्मक रूपमा लिन मिल्दैन । सडक, हवाई र रेल सबैबाट हामीजसो भूपेरिवेष्ठित मुलुक जोडिनु राम्रो हो । सरकार यसमा दृढ छ ।

 काठमाडौंबाट बेइजिङसम्म चिनियाँ रेलबाट आउने तपाईंको रहर अब पूरा हुने भयो ?

हो, हामीले चिनियाँ रेलभन्दा पनि नेपाली रेलले हिमालको मनोरम दृश्यपान गर्दै अद्वितीय आनन्दका साथ आउजाउ गर्न पाऔं भन्ने चाहना राखेको थिएँ । पाँच हजार मिटरको उचाइबाट रेल कुद्ने हुनाले त्यो सबैका लागि मनोरम लाग्ने नै छ । यसमा नयाँ प्रविधि उपयोगका साथै ठूलो आर्थिक खर्च लाग्छ । नेपालनिम्ति लगानी ठूलो भए पनि आर्थिक क्षेत्रमा यसले कायापलट गर्नेछ । त्यो रेलयात्रा हरेक मानवका लागि जीवनको सपनाजस्तो हुनेछ ।

नेपालका लागि यो उच्च प्राथमिकताको परियोजनाअनुरूप अघि बढ्नुपर्छ । जस्तोसुकै मूल्यमा पनि नेपालले बनाउने गरी कार्यक्रम अघि बढ्छ, जसले हाम्रो एकतर्फी निर्भरता घटाउनेछ ।

 तातोपानी नाका खोल्ने विषयमा थप केही काम अघि बढेको छ ?       

चिनियाँ पक्षले तातोपानी नाका खोल्ने जानकारी गराइसकेको छ । हामीले मितेरी पुलसम्म पुगेर त्यो नाकाको अध्ययन पनि गर्‍यौं । सडक तीव्ररूपमा अघि बढेको छ । मैत्रीपुलको निर्माण पनि अन्तिम चरणमा छ । त्यो नाका सुचारु हुनेछ । अन्य नाकाको पनि स्तरोन्नति भइरहेको छ । सडक निर्माण कार्यले पनि प्राथमिकता पाएको छ । भूगोल नै जटिल हुनाले समस्या छन्, तर प्रविधिले चिर्दै हामी अघि बढेका छौं ।

 पटकपटक चीन भ्रमण गर्नुभएको छ, के फरक पाउनुभयो ?

हरेकपटक चीन आउँदा केही न केही नयाँ पाउँछु । चिनियाँ जनताको माया र सद्भाव भने उस्तै छ । तर, विकासमा चीनले निकै फट्को मारेको देख्छु । सामान्य बस्ती केही समयपछि पुग्दा ठूला सहर भइसकेका हुन्छन् ।

गएको ७० वर्षमा चीन गरिबीको रेखाबाट माथि उठेको छ । ८० करोड जनतालाई गरिबीबाट उकासेर विश्व मानवतालाई नै सहयोग गरेको छ । सहकार्यको हातेमालो अहिलेको आवश्यकता हो । चीन विश्वको विकसित मुलुकको सूचीमा सूचीकृत हुँदै विश्वमा उच्च स्थान हासिल गर्ने लक्ष्य लिएको छ । यसको लागि शुभकामना !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.