कम्युनिस्ट सरकारको भविष्य

कम्युनिस्ट सरकारको भविष्य

नेतृत्वपंक्ति नै स्वार्थ समूहको बन्दी भएको छ भने देश र पार्टीका लागि त्योभन्दा ठूलो दुर्भाग्य अरू के होला ?


वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको सत्तरीऔं स्थापना दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले एमाले र माओवादीबीच एकीकरणपश्चात् बनेको नेकपा अजेय शक्ति भएको दाबी गरेपछि कम्युनिस्टको भविष्यको बारेमा बहस प्रारम्भ भएको छ । केन्द्रमा दुईतिहाइको सरकार, सातमध्ये ६ वटा प्रादेशिक सरकार र ७०५ भन्दा बढी स्थानीय सरकार बनाउन सफल भएपछि नेपाली राजनीतिका प्रयोगवादी कमरेडहरू ओली र दाहालजस्ता वाचल नेताहरूले उक्त दाबी गर्नु अस्वाभाविक भएन । सम्भवतः चीन, उत्तर कोरिया, क्युबा र भियतनामजस्ता कम्युनिस्ट देशपछि नेकपा निर्वाचनको मतपरिणामका आधारमा सबैभन्दा शक्तिशाली पार्टी होला । सन् १९९० पछि सुरु भएको लोकतान्त्रिक लहरपछि लोकतान्त्रिक प्रणालीमार्फत दुईतिहाइको सरकार गठन गर्न सफल पार्टी पनि सम्भवतः नेकपा नै होला ।

तर विश्वव्यापीरूपमा कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक भइरहेको घडीमा नेपालमा कसरी लोकप्रिय पार्टीको रूपमा स्थापित हुन सफल भयो ?        उदार लोकतन्त्रको पराजय हो कि कम्युनिस्टको विजय ?        निर्वाचनमा कांग्रेसको पराजय हो कि एमाले र माओवादीको दिग्विजय हो ?        भन्ने बहस भइरहेको छ । तर राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलन, नेकपाको सिद्धान्त, सरकारको कार्यशैली र नेताहरूको जीवनशैलीका आधारमा विश्लेषण गर्दा कम्युनिस्टको वर्तमान गौरवमय भए पनि भविष्य अनिश्चित भएको निष्कर्षमा पुगिन्छ । कम्युनिस्ट विस्तारका कारण ००३ सालमा स्थापित भएको कम्युनिस्ट पार्टी निरन्तररूपमा विस्तारित भएको देखिन्छ ।

नेपालका कम्युनिस्ट पार्टीहरूले ०१६ सालमा ७.२, ०४८ मा ३८.४, ०५१ मा ३५, ०५६ मा ४१, ०६४ मा ५५.५, ०७० मा ४७ र ०७४ सालमा ४७.६ प्रतिशत मत हासिल गरेका छन् । कांग्रेसले दुईतिहाइ हासिल गरेको ०१५ को निर्वाचनमा राष्ट्रवादी गोर्खा परिषद् (१७५) र संयुक्त प्रजातन्त्र पार्टी (९.९५) दोस्रो र तेस्रो शक्ति थिए । तर, कम्युनिस्ट पार्टी केवल ७.२५ मत हाँसिल गरी चौथो शक्ति भएको थियो । तर ०४८ को आमनिर्वाचनमा ३१.२५ मत वृद्धि गरी ३८.४५ मत हासिल गर्न सफल भएका थिए भने एमाले प्रमुख प्रतिपक्षी पार्टी बन्न सफल भएको थियो ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन असफल मात्रै होइन, पूर्वसोभियत संघ र पूर्वीयुरोपबाट कम्युनिस्ट शासन पतन भइरहेको प्रतिकूल घडीमा नेपालमा कम्युनिस्टको विकास र विस्तारको कारण के हो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । पहिलो र प्रमुख कारण हो– नेपालजस्तो गरिब र अल्पविकसित देशको वर्गीय र जातीय संरचना । आर्थिक समानता, सामाजिक न्याय र जाति प्रथा उन्मूलनको नाराले निम्न वर्ग र जातिलाई आकर्षित नगर्ने प्रश्नै भएन । त्यसैले वर्ग तथा जातीय संरचनाको दृष्टिले कम्युनिस्टहरूलाई अहिले पनि अनुकूल देखिन्छ ।

सोभियत संघको विघटनलाई कम्युनिस्ट अन्त्य भएको घोषण गर्दै ‘दी एन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ पुस्तकका लेखक एवं उदारवादी लोकतन्त्रका प्रवक्ता फ्रान्सिस फुकुयामाले समेत नेपालजस्तो गरिब देश कम्युनिस्टहरूका लागि उर्वरभूमि भएको सन् २०१२ को फरेन अफेयर्स जर्नलमा प्रकाशित आलेखमा उल्लेख गरेका छन् ।

दुईतिहाइले पार्टीको अनन्तकालीन भविष्य बिमा गर्ने भए कम्युनिस्ट साम्राज्य पतन भई सोभियत संघ विघटन हुने थिएन । त्यसैले दुईतिहाइ नै पार्टीको ‘सुन्दर’ भविष्यको प्रमाणपत्र होइन।

दोस्रो, मदन भण्डारीजस्ता दूरदर्शी नेताले नेपाली कम्युनिस्ट आन्दोलनलाई राष्ट्रवादीकरण र लोकतन्त्रीकरण गरे । ०४९ सालको नेकपा मालेको पाँचौं महाधिवेशनबाट जनताको बहुदलीय जनवाद मार्गनिर्देशक सिद्धान्त पारित तथा ०४८ को निर्वाचनबाट प्रमुख प्रतिपक्षी दल भएपछि नेपालका कम्युनिस्टको सफलताले अन्तर्राष्ट्रिय चर्चा र महŒव पाएको थियो । त्यसैले अमेरिकाबाट प्रकाशित साप्ताहिक म्यागेजिन ‘न्युजविक’ (मे २७, १९९१) ले नेपालमा माक्र्स अझै जीवित छन् भनी भण्डारीको अन्तर्वार्ता उच्च प्राथमिकताका साथ प्रकाशित गरेको थियो ।

तेस्रो– ०४८ को निर्वाचनबाट कांग्रेस सत्तासीन भएपछि प्रतिपक्षी कम्युनिस्टहरूले राजनीतिक मुद्दाका साथै वर्गीय, जातीय, महिला, दलित, मानव अधिकार, सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेपछि जनस्तरसम्म संगठन विस्तार भयो । चौथो– पपुलिस्ट नारा र युवा कार्यकर्तामा आधारित यति प्रभावकारी र गतिशील संगठन प्रणाली थियो कि अन्य पार्टीहरूले संगठन विस्तारमा प्रतिस्पर्धा नै गर्न सकेनन् । पाँचौं– विवाद, गुट, फुट र आरोप÷प्रत्यारोपबाट अभिशप्त आन्दोलनलाई एकीकृत गर्न नेकपाका अध्यक्षद्वय ओली र दाहालले निर्णायक भूमिका निर्वाह गरेपछि निर्वाचनमार्फत शक्तिशाली पार्टीका रूपमा स्थापित हुन सफल भएको छ ।

सैद्धान्तिक अन्योल र विचलन

स्थापनाकालदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक विवाद, विचलन र अन्योल थियो । ०१७ पछि संस्थापक नेता पुष्पलाल        श्रेष्ठ र मनमोहन अधिकारीजस्ता निष्ठावान नेताहरूको संगठन कमजोर थियो भने नेकपाका महासचिव केशरजंग रायमाझीले दरबारसँग आत्मसमर्पण गरिसकेका थिए । ०३६ को जनमत संग्रह बहिष्कार गरी प्रकारान्तरले निरंकुश राजतन्त्रलाई सहयोग गरेपछि कम्युनिस्टहरूको लोकतन्त्रप्रतिको प्रतिबद्धताप्रति गम्भीर प्रश्नचिह्न खडा भएको थियो । तर, ०४६ को जनआन्दोलनमा कांग्रेससँग सहकार्य गरी बहुदलीय प्रजातन्त्र स्थापना भएपछि कम्युनिस्टहरूको ०३६ को कलंक मेटिएको थियो । पाँचौं महाधिवेशनबाट जनताको बहुदलीय जनवाद पारित गरेपछि नेकपा माले औपचारिकरूपमा प्रजातान्त्रिक प्रणालीमा प्रवेश गरेको थियो ।

०४८ सालपछि कम्युनिस्टका प्रमुख दुई धार देखिए– संसदीय प्रणालीको उपयोग गर्ने एमाले र ‘जनवादी युद्धबाट नौलो जनवाद स्थापना गर्ने’ माओवादी । एमालेको संसदीय प्रणाली र माओवादीको दशक लामो सशस्त्र द्वन्द्वका क्रममा सैद्धान्तिक र नीतिगत दृष्टिले गम्भीर विचलन र अन्यालको शृंखला प्रारम्भ भएको थियो । एमाले र माओवादीको एकीकरणपछि बनेको नेकपामा गम्भीर सैद्धान्तिक अन्योल र विचलनको शृंखला कायमै छ । नेकपाको मार्गनिर्देशक सिद्धान्त के हो ?        एमालेको जनताको बहुदलीय जनवाद हो कि माओवादीको एक्काईसौं शताब्दीको जनवाद ?        माक्र्सवाद हो कि लेनिनवाद ?   माओवाद हो कि सी जिनपिङवाद ?   सर्वहारा वर्गको अधिनायकत्वको दलाल पुँजीवादको संरक्षण ?        अर्थनीतिको दृष्टिले उदारवादी अर्थनीति हो कि संरक्षणवादी ?        निजीकरण हो कि राष्ट्रियकरण ?        पार्टीका कुनै पनि दस्ताबेजहरूमा स्पष्ट छैन । त्यसैले नेकपाप्रति अनन्त सैद्धान्तिक प्रश्नहरू छन् । तर नेतृत्वपंक्तिसँग स्पष्ट र मूर्त उत्तर छैन ।

नेकपा र सरकारको दृष्टिकोण र परिणाम यति अन्तरविरोधपूर्ण छन् कि तुलनात्मकरूपमा विश्लेषण गरी प्रस्तुत गर्दा स्वयं प्रस्तुतकर्तालाई नै लज्जाबोध हुन्छ । नेकपाले बुर्जुवा र पुँजीवादी भनी आरोप लगाउने कांग्रेस शिक्षा र स्वास्थ्यजस्ता जनताका आधारभूत पक्ष राज्यको दायित्व भएको स्वीकार गर्दै सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका पक्षमा वकालत गरेको छ । तर, हिजोसम्म शिक्षा र स्वास्थ्यको निजीकरण अन्त्य गरी राष्ट्रियकरण गर्नुपर्छ भनी नारा लगाउने ‘कम्युनिस्ट’ पार्टीको सरकार आज शिक्षा र स्वास्थ्यको निजीकरण मात्रै होइन, मेडिकल माफियाको पक्षधर भएको छ । हिजोसम्म भूमिहीन र सुकुम्वासीको पार्टी भएको दाबी गर्ने कम्युनिस्ट पार्टीका महासचिव आज बालुवाटारको सार्वजनिक जग्गा भूमाफियाले कब्जा गर्ने दलाली प्रकरणमा विवादमा आउनुजस्तो लज्जास्पद अरू के हुन सक्छ ?  नेकपा भूमिहीन र सर्वहारा वर्गको पार्टी हो कि भूमिपति र सम्भ्रान्तहरूको ?      

 योभन्दा ठूलो सैद्धान्तिक विचलनको प्रमाण र अन्तर्विरोधको पराकाष्ठा अरू के हुन सक्छ ?        यति मात्रै होइन, हिजो महिला मुक्तिको नारा लगाउने कम्युनिस्टहरू आज नागरिकतामा समेत महिलालाई विभेदकारी कानुन जारी गर्दैछन् । हिजो सामाजिक आन्दोलनको नेतृत्व गर्ने कम्युनिस्टहरू आज सामाजिक मुद्दा कमजोर बनाउने नीति र कानुन लागू गर्दैछन् । हिजो मानव अधिकारको वकालत गर्ने कम्युनिस्टहरू आज मानव अधिकारलाई संकुचित गर्ने कानुन संशोधन गर्दै छन् । जनताले मूल्यांकन हिजोका पार्टी दस्ताबेजका आधारमा गर्ने कि आज सरकारको कामका आधारमा ?       

पार्टी कमजोर, नेता शक्तिशाली

एकीकरण भएको एक वर्षपछि गणितीय भागबन्डाका आधारमा गुटबन्दीलाई संस्थागत गर्दै बल्ल अपूर्ण जिल्ला समिति घोषणा गरियो । अझै पोलिटब्युरो, निर्वाचन क्षेत्र र पालिकास्तरीय समिति गठन भइसकेका छैनन् । प्रदेश समिति गठन भए पनि क्रियाशील छैनन् भने ४४१ सदस्यीय केन्द्रीय समितिको बैठक निर्वाचन आयोगमा दर्ता गर्ने प्रयोजनका लागि हस्ताक्षर गर्नबाहेक हालसम्म बसेकै छैन । पार्टीका गुटाधिपतिहरूबीच भागबन्डा मिलेपछि समितिहरूको घोषणा त गरिएको छ । तर उक्त पद्धतिले गुटबन्दीलाई संस्थागत मात्रै गरेको छैन, भविष्यमा विभाजन रेखासमेत कोरेको छ । त्यसैले दुई पार्टीको एकीकरणभन्दा पनि दुई निजी व्यावसायिक प्रतिष्ठान मर्ज (सेयरका आधारमा अग्रिम स्वामित्व र हैसियत स्पष्ट पारी आपसमा गाभिने प्रक्रिया) जस्तो देखिन्छ ।

लेनिनवादी सिद्धान्तअनुरूप कार्यकर्तामा आधारित संगठन प्रणाली र जनवादी केन्द्रीयता कम्युनिस्ट पार्टीको आधारभूत प्रणाली हो । माओवादीको तुलनामा एमालेको पार्टी प्रणाली विधिसम्मत र संस्थागत थियो । तर एकीकरणपछि पार्टी प्रणाली, लेनिनवादी सिद्धान्त, विधिसम्मत र संस्थागत प्रक्रियाको अन्त्य भएको छ र ओली र दाहालको स्वार्थ, अभीष्ट र आदेशका आधारमा पार्टी सञ्चालित हुँदै आएको छ । नेकपा ओली र दाहालको प्रालि हो कि कार्यकर्ताको पार्टी ?        निजी व्यावसायिक प्रतिष्ठान त प्रबन्धपत्र, नियमावली र सेयरधनीबाट निर्वाचित सञ्चालक समितिको निर्णयका आधारमा सञ्चालित हुन्छ भने देशको शासन गर्ने पार्टी विधानअनुरूप सञ्चालित हुनु पर्दैन ?       

अहिले कम्युनिस्ट पार्टीले सरकार सञ्चालन होइन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बीजेपी सञ्चालन गरेजस्तो प्रक्रियाबाट नेकपा सञ्चालित छ । यदि विद्यमान प्रवृत्ति कायमै रह्यो भने नेकपा र पार्टी प्रणाली कमजोर हुनेछ । तर ओली र दाहाल थप शक्तिशाली र अनुत्तरदायी हुनेछन् र ‘हुकुम प्रमांगी’ शैलीबाट पार्टी सञ्चालन गरिरहने छन् । के कम्युनिस्ट पार्टीको लेनिनवादी सिद्धान्त र जनवादी केन्द्रीयता भनेको यही हो ?        जनवादी केन्द्रीयताको नाममा ओली र दाहाल पार्टीका ‘प्राधिकार’ हुन् ?        उक्त ‘प्राधिकार’ प्रवृत्तिले पार्टीलाई कहाँ पुर्‍याउला ?       

केन्द्रीय समितिलगायत वैधानिक निकायहरूमा गहन र नीतिगत छलफल हुँदैनन् । गुटहरूबीच स्वार्थ र भागबन्डा मिलेपछि मात्रै केवल औपचारिकताका लागि गुटका निर्णयहरू अनुमोदन गर्ने उद्देश्यले मात्रै वैधानिक निकायका बैठक बस्छन् । अपवादबाहेक पार्टीमा सैद्धान्तिक तथा नीतिगत बहस छैन । नेकपामा स्वार्थ समूहहरू हाबी छन् र नेतृत्वपंक्ति सोही स्वार्थ समूहको बन्दी भएको छ । नेतृत्व पंक्ति नै स्वार्थ समूहको बन्दी भएको छ भने देश र पार्टीका लागि त्योभन्दा ठूलो दुर्भाग्य अरू के होला ?       वास्तवमा नेकपाले न माक्र्सवादलाई पार्टीको मार्गनिर्देशक सिद्धान्तको रूपमा अंगीकार गरेको छ, न लेनिनवादी सिद्धान्तअनुरूप पार्टी सञ्चालित छ भने नेकपा कसरी कम्युनिस्ट पार्टी भयो ?        त्यसैले निर्वाचनमा भोटको खेती गर्न कम्युनिस्टको नारा लगाए पनि नेकपा वास्तविक कम्युनिस्टभन्दा पनि कम्युनिस्ट ट्रेडमार्क भएको राष्ट्रवादी तथा दक्षिणपन्थी रुझान भएको पार्टी हो । पार्टीका नेता र कार्यकर्ताको वर्ग उत्थान भएको छ । तर, पार्टी पतनउन्मुख भएको निष्कर्ष आग्रहपूर्ण र कठोर लाग्न सक्छ । वास्तविकता यही नै हो ।

निष्कर्ष

नेकपाको भविष्य सरकारको कार्यसम्पादनमा निर्भर रहनेछ । यो सरकारलाई ‘यदि’ ‘तर’, ‘यद्यपि’ भए पनि भन्ने छुट छैन । किनभने, जनताले निर्वाचनमार्फत लोकप्रिय जनादेश दिएका छन् । तर सरकारको एक वर्षको समीक्षा गर्दा सूचकांक निराशाजनक देखिएका छन् । त्यसैले ४७५ मतसहित दुईतिहाइको सरकार भएकाले वर्तमान कम्युनिस्टमय देखिए पनि नेकपाको भविष्य अनिश्चित देखिन्छ । दुईतिहाइले पार्टीको अनन्तकालीन भविष्य बिमा गर्ने भए कम्युनिस्ट साम्राज्य पतन भई सोभियत संघ विघटन हुने थिएन ।

त्यसैले दुईतिहाइ नै पार्टीको ‘सुन्दर’ भविष्यको प्रमाणपत्र होइन । अध्यक्षद्वय ओली र दाहालको सत्ता सुख, भोग र देह शान्तिको गति जति तीव्र हुनेछ, पार्टी त्यति नै गतिमा ह्रासोन्मुख हुनेछ । ओली जनता, पार्टीको सिद्धान्त तथा घोषणापत्र र समृद्धिको आफ्नै गायत्री मन्त्रप्रति इमानदार भएको भए, अभूतपूर्व अवसर पाएका थिए । तर ओलीको दुईतिहाइको नशा र अहंकारले उक्त अवसर गुमाइरहेका छन् । सम्भवतः उक्त अवसर नेपालका कम्युनिस्टले कहिल्यै पाउने छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.